दलबलसहित मनोनयनका लागि हिँडेका उम्मेदवारले वीचैमा कित्ता फेरेपछि दुबै गठबन्धनमा भाँडभैलो

दलबलसहित मनोनयनका लागि हिँडेका उम्मेदवारले वीचैमा कित्ता फेरेपछि दुबै गठबन्धनमा भाँडभैलो

टिकटका लागि चुनावको मुखमा पार्टी फेर्ने प्रवृत्ति नेपाली राजनीतिको विशेषताजस्तै भैसकेको छ । वर्षौँसम्म पसिना बगाएर बनाएको पार्टी छोडेर रातारात अर्को खेमामा पुगी टिकट हत्याउने सिलसिला यसपटक पनि उस्तै रह्यो ।

आफ्नो टिकट सुरक्षित गर्न ‘इधर उधर’ गर्नेहरु यसचोटी सबैभन्दा बढी मधेस प्रदेशमा देखिए । त्यसमध्ये अधिकांश मधेस केन्द्रित दल जसपा र लोसपा परित्याग गरी कांग्रेस र एमालेमा प्रवेश गरेर हाताहाती टिकट पाए । तर, यसपटक रमाइलो कुरा चैं पार्टीले टिकट दिँदादिँदै पनि अर्को पार्टीमा प्रवेश गरेर उम्मेदवारी मनोनयन गरेको पनि पाइयो ।

कपिलवस्तुमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिन हिँडेका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गरेका हुन् । एमाले-जसपा गठबन्धनबाट प्रदेशसभाका उम्मेदवार सहसराम यादव मनोनयन दर्ता गराउन दलबलसहित निर्वाचन अधिकृतको कार्यालयतर्फ हिँडेका थिए । तर,बीच बाटोबाटै कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेपछि उक्त क्षेत्रमा जसपाले उम्मेदवारी नै दिन पाएन ।

दुई पार्टीबीच भएको सहमतिअनुसार जिल्लाको तीन प्रतिनिधिसभा र ४ प्रदेशसभा एमालेले लिएर दुई प्रदेशसभा जसपालाई छुट्याईएको थियो । सोहीमुताविक हिजो बिहान दुवै दल मिलेरै मनोनयन दर्ता गर्ने तयारी थियो ।

तर,छाता चिन्हबाट उम्मेदवार बन्ने ‘कन्फर्म’ भैकन मनोनयनका लागि हिँडेका यादव कांग्रेसको उम्मेदवार बनेपछि दुबै गठबन्धनमा रडाको मच्चियो । सहमति तोडेर जसपाका उम्मेदवार काँग्रेसमा छिरेपछि गठबन्धन तोड्दै त्यहाँ एमालेले उम्मेदवारी दर्ता गराएको छ । त्यसको ‘काउन्टर’ मा एमालेले पाएको अर्को क्षेत्रमा जसपाले उम्मेदवार खडा गरेको छ ।

यता,यादवको कांग्रेस प्रवेश र त्यस क्षेत्रको उम्मेदवारीले सत्ता गठबन्धनमा भाँडभैलो भएको छ । सो क्षेत्र गठबन्धनमा एकीकृत समाजवादीले पाएको थियो । तर,गठबन्धनको मर्मविपरित जसपाबाट आएका यादवलाई कांग्रेसले उम्मेदवार बनाएपछि एकीकृत समाजवादीले अलग्गै उम्मेदवारी दिएको छ ।

टिप्पणीहरू