जसको अझै आएको छैन जवाफ

जसको अझै आएको छैन जवाफ

असोज २ देखि कार्यकाल सकिएको प्रतिनिधिसभामा केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक अड्किँदा देशमा विभिन्न किसिमका समस्या उत्पन्न हुने संकेत देखिँदै छन् । त्यसमध्ये एउटा हो, संसदको कार्यकालसम्बन्धी विवाद ।

त्यसो त नयाँ संसदको निर्वाचनका निम्ति आइतबार मनोनयन पत्र दर्ताको काम भइसकेको छ । मंसिर ४ को चुनावपछि पुरानो संसद स्वतः समाप्त भएको बुझ्ने व्यवहारिक विषय एकातिर छ । तर, कानुनी व्याख्याले त्यसो भन्दैन । यसमा विभिन्न तर्क आएका छन्, जो अझै सुल्झिएका छैनन् । जस्तो– अघिल्लो संसदमा समानुपातिकतर्फका सांसदले ०७४ फागुन २१ गते शपथ लिएका थिए । त्यही मितिलाई बहालीको आधार मान्ने हो भने प्रतिनिधिसभाको आयु फागुन तेस्रो सातासम्म हुनसक्छ ।

तर, अर्को संसदको निर्वाचन मिति घोषणा गरी मनोनयन पत्र दर्ताको अघिल्लो रात पुरानो सदनको अवधी समाप्त हुन्छ भन्ने तर्कलाई आधार मान्ने हो भने समानुपातिक प्रणालीतर्फको बन्दसूची पेश गर्ने दिन असोजको २ र ३ बाट त्यो संसदको कार्यकाल समाप्त भएको मान्नुपर्ने हुन्छ । संसदमा अड्किएको विधेयकले पनि मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन हुने र अघिल्लो रात (मंसिर ३) मा पुरानो प्रतिनिधिसभा तथा प्रदेशसभाको अवधी स्वतः समाप्त हुने व्याख्या गरेको थियो ।

योमात्रै हैन, प्रतिनिधिसभामा उत्पत्ति भएर राष्ट्रियसभाबाट पारित भइसकेपछि पनि प्रमाणिकरणमा अड्किएर थुप्रै विधेयक फासफुस भएका छन् । कतिपय विधेयक प्रतिनिधिसभाबाट पारित भए पनि राष्ट्रियसभामा छलफल नटुंगिदा स्वतः निस्कृय भए । अब ती विधेयकलाई नयाँ संसद आएपछि फेरि शून्य प्रक्रियाबाट अगाडि बढाउनुपर्ने अवस्था छ ।

तर, राष्ट्रियसभामै उत्पत्ति भएका विधेयकहरू कायमै छन् । अध्यक्षले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सुनाएअनुसार, १०–११ वटा त्यस्ता विधेयक छन् । त्यसमध्ये एक–दुईवटा प्रतिनिधिसभाबाट पारित पनि भएका हुन् । त्यहाँबाट पारित हुन्छ भने पठाउने, नभए नपठाउने भन्ने नीति थियो । तर, प्रतिनिधिसभा अनुमानित समयभन्दा अगाडि नै कार्यकाल समाप्तिमा गएपछि सबै विधेयक राष्ट्रियसभामै अड्किन पुगेका हुन् ।

कार्यकाल समाप्त भएका सांसद, समितिका सभापतिहरूले असोज १ गतेयताको कुनै सुविधा पाएका छैनन् । सभामुख अग्निप्रसाद सापकोटाले कार्यकालको विवाद आइसकेपछि सरकारी निवास छाडिसके । संसद विघटन भएको भए मनोनयनको अघिल्लो दिनसम्म उनको पद कायम रहन्थ्यो । तर, अहिले विघटन भएको होइन, संसदको कार्यकाल नै समाप्त भएसरहको स्थिति हो ।

संसद सचिवालयको वातावरण अहिले सुनसान छ । अग्निले कानुनी व्याख्याको झमेलामा बस्नुभन्दा सुविधा छाड्नु उचित मानेपछि अब उनी संसद सचिवालय जाँदैनन् । यसै पनि महासचिव भरतमणि गौतम सभामुखसँग भन्दा राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिनासँग बढी मिल्थे । उनी एमालेकै जोडबलमा महासचिव बनेका हुन् । अग्निले असोज २ पछि बोलाएको बैठकमा पनि गएनन् ।

टिप्पणीहरू