निर्वाचन अधिकृतमाथि एमालेको नून खाएको आरोप

निर्वाचन अधिकृतमाथि एमालेको नून खाएको आरोप

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको राजीनामा मागिएको छ । सो क्षेत्रका निर्वाचन अधिकृतले एमालेबाहेक सत्ता गठबन्धनलगायतका उम्मेदवारको मनोनयन रद्द गरेको भन्दै नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले राजीनामा मागेका हुन् ।

निर्वाचन कार्यालयबाट गरिएको उम्मेदवारी खारेजीको निर्णयप्रति नेपाल तरुण दल,वाइसिएल नेपाल, युवा संघ नेपाल तथा कमल भुसाल पक्षधरलगायत युवाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । निर्वाचन कार्यालय, रुपन्देही क्षेत्र नम्बर २ लाई बुझाइएको ध्यानाकर्षणमा निर्वाचन अधिकृतले अनेक प्रपञ्च रचेकाले निजलाई तत्काल निश्कासन गरेर पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गर्न चेतावनीसहित अनुरोध गरिएको छ ।

“रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको एमाले मुख्यालयमा राखिएको विवरण…
नामः उदवीर नेपाली
ठेगानाः पिपलटारी ८, पर्वत
सदस्यता नंः ञ–१६६९५७
सदस्यता प्राप्त मितिः २०६३।०९।२४”

पत्रमा भनिएको छ, ‘हाम्रो ज्ञापनपत्रलाई बेवास्ता गरी निर्वाचन कार्यतालिका अगाडि बढाएमा भोलिदेखि हामी अनिश्चितकालीन रुपन्देही क्षेत्र नम्बर २ बन्दको समेत घोषणा गर्न चाहन्छौं । यसबीचमा हुने सम्पूर्ण भौतिक तथा अन्य क्षतिको जिम्मेवार स्वयम् निर्वाचन आयोग हुनेछ ।’

यसरी चेतावनी दिनेहरुमा नेपाल तरुण दलका सुजन पुन,अखिल क्रान्तिकारीका गगन रेग्मी,युवा संघ नेपालका समन गुरुङ्ग र धनसिंह खाम्चा,कमल भुसाल समर्थक प्रदीप पन्त र तरुण दलका सुनिल गुरुङ छन् ।

टिप्पणीहरू