म्यानमार : राजनीतिज्ञपछि पत्रकारको निम्ति डरलाग्दो मुलुक
म्यानमार पत्रकारका निम्ति विश्वकै सबैभन्दा खतरनाक मुलुक साबित भएको छ । झण्डै दुई वर्षअघि सेनाले सत्ता कब्जा गरेपछि त्यहाँका पत्रकारमाथि चुनौती थपिएको छ ।
सैन्य सरकारले आफ्नो दण्डसंहितामा नयाँ प्रावधान थप्दै गएको छ । पछिल्लो पटक ‘डर पैदा गर्ने’ र ‘झुठा समाचार’ प्रकाशितलाई अपराध भएको मानिने उल्लेख छ । यो संहिता लागू भएपछि पत्रकारहरु थप तनावमा परेको बताइन्छ ।
यसबीच मुलुकका धेरै वटा सञ्चारमाध्यमको इजाजत पत्र रद्ध गरिएको छ । सयौं पत्रकार मुलुक छाडेर पलायन भएका छन् ।
म्यानमारमा पछिल्लो समय स्वतन्त्र प्रेसको अन्तिम अवशेषमध्येको एक साहित्यिक पत्रिका ‘ओवे’ देखिन्छ । यसका २२ वर्षे सम्पादक भन्छन्, ‘कलमले बन्दुकसँग लड्न त्यति सजिलो छैन्, तर मैले यो गर्नैपर्छ ।’ सेनाले पक्राउ पूर्जी जारी गरेदेखि उनी मुलुकभित्रै भूमिगत छन् ।
त्यसबाहेक अन्य धेरै युवा पत्रकारहरु पनि भूमिगत भएको बताइन्छ । उनीहरु अधिकांश २० देखि ३० वर्षका छन् । ‘जब म रिपोर्टिङको निम्ति बाहिर जान्छु, मलाई गिरफ्तार हुने डर लाग्छ ।’ एक किशोर रिपोर्टरले भने । उनले सैनिक ‘कू’ पछि अध्ययन छाडेको बताए ।
‘कू’ पछि त्यहाँ डेढ सय बढी पत्रकार पक्राउ परेका छन् । तीन पत्रकारको ज्यान गएको छ । एक जनाको यातना खप्न नसकेर मृत्यु भएको बताइन्छ ।
अहिले म्यानमारको जेलमा औपचारिक रुपमा ५७ जना पत्रकार रहेको तथ्याङ्का दिइएको छ ।
स्रोतः न्यूयोर्क टाइम्स
टिप्पणीहरू