चुनाव बिथोल्ने कारोबार ? हतियार,क्लब र डान्सबार
प्रहरी महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंहले मङ्सिर ४ को चुनावमा सम्भावित सुरक्षा चुनौतिको विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
आज काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै उनले कार्ययोजना बनाई प्रहरी परिचालन गर्न भनेका हुन् । सो क्रममा आइजीपी सिंहले निर्वाचनको संवेदनशीलता स्मरण गराएका थिए ।
‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ-आफ्नो इलाकाको सुरक्षा चुनौतिलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाउनु होला’, निर्देशन दिँदै उनले भने ।
सुरक्षा योजनाअनुसार सर्च अप्रेसन बढाई अपराधिक घटना रोकथाम तथा न्यूनीकरण गर्न गुण्डागर्दी,घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लबलगायतमा हुन सक्ने ग्याङफाइट पूर्णरूपमा नियन्त्रण गर्न निर्देशन दिँदै प्रहरी प्रमुख सिंहले काठमाडौं उपत्यकाको प्रहरी देशकै रोल मोडल बन्नुपर्ने बताए । आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सेवाग्राहीलाई समान व्यवहार गर्न पनि उनले निर्देशन दिएका थिए ।
गुण्डागर्दी,ग्याङ फाइट तथा विभिन्न अपराधिक गतिविधिप्रति कठोर भई कानूनी दायरामा ल्याउन प्रष्ट निर्देशन दिएका सिंहले संगठन र बिभागीय नीतिबमोजिम कानूनसम्मत ढङ्गबाट भएका कारवाहीको जिम्मेवारी आफूले लिने भएकाले निर्धक्क भएर फिल्डमा खटिन आग्रहसमेत गरेका छन् । तर,आर्थिक प्रलोभनमा परेर नाजायज कार्य गर्ने प्रहरी कर्मचारीप्रति आफू उदार नहुने बताएका उनले त्यस्तो देखिए कठोर कारवाही गर्ने चेतावनी पनि दिए ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकले निर्वाचनलाई सफल बनाउन उपत्यका निर्वाचन सेल र जिल्ला निर्वाचन सेलले काम गरिरहेको जानकारी गराएका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ उपरीक्षक तथा सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । त्यसक्रममा आइजीपी सिंहले त्यहाँ निर्मित परिचालन कक्ष र सिसिटिभी मनिटरिङ कक्षको अवलोकनसमेत गरेका थिए ।
टिप्पणीहरू