मामला जेरी र शंकरको हमला अनलाइनर र युट्युबरको

मामला जेरी र शंकरको हमला अनलाइनर र युट्युबरको

-दीपक खनाल

तिहारअघि लोकगायक, गायिका बबिता बानियाँ जेरी र उहाँको श्रीमान् शंकर क्षेत्रीको दाम्पत्य जीवनमा खटपट भएको विषय एकाएक बाहिर आयो । शंकर क्षेत्रीले काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको पत्र दर्ता गराएसँगै उहाँहरुको वैवाहिक सम्बन्धमा दरार आएको विषय सार्वजनिक भएको हो । जेरीका अनुसार श्रीमान्को बढी इच्छामा सम्बन्ध विच्छेदको निवेदन दर्ता भएको हो । आपसमा असमझदारी बढ्दै गएपछि झगडा गरेरै अघि बढिरहनुभन्दा सल्लाहमा नै छुट्टिनु उपर्युक्त हुने भएकाले कानुनको सहारामा पुगेको उहाँहरुको भनाइ छ । यो आलेख तयार पार्दासम्म उहाँहरुको सम्बन्ध विच्छेदका बारेमा थप तथ्य आएको छैन । उहाँहरुले अदालतसम्म पुग्नुपर्नाको वास्तविक कारण खोल्नुभएको छैन । कानुनी रुपमै आआफ्नो बाटो लागेका दिन सम्बन्ध विच्छेद गर्नपर्नाको वास्तविक कारण खोल्ने दुवैजनाको मनसाय छ ।

जेरी र शकरको सम्बन्धमा उत्पन्न विग्रहलाई केही अनलाइन मिडिया, युट्युब च्यानल, अनलाइन टिभीहरुले सर्वप्रथम बाहिर ल्याए । त्यसलगत्तै यसलाई मसला बनाएर पस्किरहन केही अनलाइन मिडिया, युट्युबर, अनलाइन टिभी, कतिपय व्यक्तिहरु पनि अझै सक्रिय छन् । केही अनलाइन मिडिया, धेरैजसो युट्युब च्यानल, अनलाइन टिभी र व्यक्तिले यो विषयलाई एकदमै गलत रुपमा प्रस्तुत गरे र अझै पनि गलत रुपमा सार्वजनिक गरिरहेका छन् । एक किसिमले भन्दा भ्रम छरे र अझै छरिरहेका छन् । चर्र्चित हुने र भ्युअर्स बढाउने नाममा झूट, भ्रम र अफवाहलाई नै सञ्चारकर्म ठान्ने केही अनलाइन मिडिया, धेरैजसो युट्युब, अनलाइन टिभी र व्यक्तिले त जेरी र शंकरबिच डिभोर्स नै भइसकेको भनी स्वघोषणा नै गरिदिए । यसको परीक्षण र पुष्टि नगरी, सत्य तथ्य नजाँची धेरैले त्यसैलाई जस्ताको तस्तै सम्प्रेषण गरे, गरिरहेका छन् । धेरैले त जेरी र शंकरले बोलेका वास्तविक भनाइलाई तोडमोड गरेर आफ्नै शैलीमा मनगढन्त सामग्री बनाएर प्रवाह गरे, गरिरहेका छन् । खासगरी जेरी र शंकरसँग प्रत्यक्ष सम्बन्ध, सम्पर्क, पहुँच नभएका अनलाइन मिडिया, युट्युब च्यानल, अनलाइन टिभी र यस्तो भ्रममा रमाउने व्यक्तिले गलत सूचना सम्प्रेषण गरे र गरिरहेका छन् ।

उत्तरआधुनिकताको प्रभाव, उपभोक्तावादी सोच र पूँजीवादी व्यवहार, शैलीका कारण आज समाजका विभिन्न सम्बन्धहरु भत्कँदै गएका छन् । सामाजिक समाज हिजोजस्तो बलियो छैन आज । घरमा नै अनमेल, द्धन्द्ध, झैगडा, वैमनस्यता बढेको छ । यस्तो विग्रह श्रीमान् श्रीमतीमा समेत सरेको छ । चाहे श्रीमान् वैदेशिक रोजगारीमा गएको बाहना होस् या एकअर्कामा माया नभएको, मिल्न नसकेको आदि कारण देखाई श्रीमान् श्रीमतीबिच सम्बन्ध विच्छेद हुने क्रम बढेको तथ्यबाट नै देखिन्छ । भन्न त श्रीमान् श्रीमतीको झगडालाई परालको आगो भनिन्छ । यो जतिबेला पनि मिलनमा परिणत हुन सक्छ । कतिपय श्रीमान् श्रीमतीमा लागु हुन्छ पनि । तर पनि अधिकांश अवस्थामा श्रीमान् श्रीमतीको झगडाको सुरुवात बेडबाट सुरु हुन्छ भन्ने भनाइ छ । त्यसैले झगडाको कारण उनीहरुलाई मात्रै थाहा हुन्छ । उनीहरुबिच वैमनस्यता बढ्दै गएपछि र त्यसले हिंसाकै रुप लिन सक्ने सम्भावना भइ दुवैले झगडा सार्वजनिक गरेर बताएपछि मात्र केही कारण खुल्न सक्छ । त्यसमा पनि एकले अर्कालाई आरोप लगाएर आफू जित्न वा आफैँ सही देखिन खोज्ने हुँदा सही कारण दुईजनाबाहेक अरु कसैलाई थाहा हुँदैन । सँगै बस्दा श्रीमान् श्रीमतीको सम्बन्धमा समस्या आउनु स्वाभाविक हो । समाजमा दिनहुँ यस्ता सयौँ घटना भइरहेका हुनसक्छन् । त्यही भएर त सम्बन्ध विच्छेदको अधिकार राखियो ।

सामाजिक महत्वकाँक्षाले यसरी सम्बन्धमा नै विभाजन आएको हुन सक्छ । गहिरो प्रेममा डुबेकाहरुबिच पनि विवाहपछि किन विछोड हुन्छ भन्ने मूल कारण यसका अनुभवी र विषयविज्ञलाई मात्रै थाहा होला । तर हाम्रो विश्लेषणमा प्रेम एउटा कुरा हो । विवाह अर्काे कुरा हो । प्रेम र विवाहको मुड एउटै हुँदैन । प्रेममा जति उत्साह, उमगं हुन्छ, विवाहपछि विस्तारै घट्दै जान्छ । प्रेममा छँदा त्यो जोडीले संसार बिर्सन्छ । प्रेमप्रेमीको विचार हैन भाव चल्छ । विचारमय (बायाँ) दिमाग होइन, भावमय (दायाँ) दिमाग चल्छ । त्यसैले उनीहरु सँगसँगै मर्न पनि तयार हुन्छन् तर विवाहपछि सन्तान उत्पादनसँगै आफूहरु र परिवारलाई व्यवस्थापन गर्न नसक्दा डिभोर्स मात्र होइन एकले अर्कालाई मार्न पनि पछि हट्दैनन् । किनकि वैवाहिक जीवन व्यवहारमा जोडिन्छ । हाम्रो जस्तो समाजमा सामाजिक जिम्मेवारी र पारिवारिक सम्बन्धको व्यवस्थापन गर्न श्रीमतीलाई भन्दा श्रीमान्लाई गाह्रो हुन्छ । एकातिर प्रेमीले प्रेममा फस्दा प्रेमिकासँग गरेको अन्धप्रतिवद्धता पूरा गर्न सक्दैन भने अर्काेतिर परिवार र श्रीमती (प्रेमिका)लाई मिलाउन नसकेपछि ऊ अन्तरद्धन्द्धमा फस्छ । परिवारसँग व्यावहारिक रुपमा हेलमेल नगर्ने र श्रीमान्को दुःख नबुझ्ने, डिमान्ड मात्र गर्ने श्रीमती भइदिइन् भने श्रीमान् दोहोरो तनावमा पर्दछ । अर्काेतिर श्रीमान् श्रीमतीबिच विश्वास र समझदारी नभएपछि, प्रेम घट्दै गएपछि सम्बन्ध बिग्रन्छ ।

सामाजिक परिवेश, महत्वाकाँक्षा, लोकप्रियता आदिका कारण जेरी र शंकरको वैवाहिक सम्बन्धमा पनि यस्तै भएको हुनसक्छ । तर यस्ता विषयलाई हाम्रा सबैजसो समाचार माध्यम र पत्रकारले यसरी उठाएको पाइदैँन । तिललाई पहाड बनाएर आँसु, भ्रम बाँडेर यसैको व्यापार गरिरहेको देखिन्छ । यस्तो घटना किन भइरहेको छ भनेर अध्ययन, अनुसन्धान, विश्लेषण नगरी सतही रुपमा छताछुल्ल पारेको देखिन्छ । यसै गर्न पाउनुलाई ठुलो बहादुरी ठानेको पाइन्छ । केही आलाकाँचा समाचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले त झन् वास्तविक कारण नै थाहा नभइ अनुमानको भरमा यस्ता विषय बाहिर ल्याइदिन्छन् । अनावश्यक विषयलाई के के न खोजी सामग्री ठानेर हतार हतारमा प्रवाह गर्नुलाई जनता र राष्ट्को सेवा गरेको भन्ठान्छन् । लाग्छ, धेरै अनलाइन मिडिया, युट्युब च्यानल, अनलाइन टिभी र कतिपय सामाजिक प्रयोगकर्ताहरु यस्तै अफवाह फैलाउनका लागि जन्मेका हुन् ।

वैयक्तिक गोपनीयताको हकविपरीत घरायसी विषय र लोग्ने, स्वास्नीका सम्बन्धलाई सामग्री बनाएर दिनु कुनै पत्रकारिता होइन । यस्ता विषयमा सञ्चारकर्म गर्न पनि आवश्यक छैन । लोकचर्चा भएका कारण समाचारको मूल्य हुने भएकाले यस्ता व्यक्तिका व्यक्तिगत मामला पनि समाचार बन्न सक्लान्, तर सार्वजनिक व्यक्ति भन्दैमा जेरी र शंकरहरुका घरायसी विषय छताछुल्ल पार्न पर्छ भन्ने छैन । किनकि उनीहरुलाई पनि स्वतन्त्र भएर गोपनीयतापूर्वक हिड्ने, बाँच्ने अधिकार छ । हाम्रो कानुनको कडा पालना नहुँदा केही अनलाइन मिडिया र फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालले यस्ता विषयलाई उदांगो पारेर समाजलाई नै जबजसर््त दुई पक्षमा विभाजन गरिदिएका छन् । जेरी र शंकरको मामलामा मात्र हैन, पल, सन्दीपको प्रसंगमा पनि वास्तविक विषय पुष्टि भएर बाहिर नआउँदै समाज दुई खेमामा छुट्टिन बाध्य भएको छ । जसका कारण समाजमा फितला कुरामा मात्र अनावश्यक बहस हुन्छ । सुशासन, विकास, समृद्धि, राष्टिय एकता भन्दा झिनामसिना विषयमा बरालिएको छ समाज । यसमा घ्यू थप्ने काम यस्तै सञ्जाल र धेरैजसो युट्युबरबाट भएको छ । यति हुँदाहुँदै पनि आजको नेपाली समाजले मूलप्रवाहका समाचार माध्यम र पत्रकारलाई भन्दा युट्युबलाई नै वास्तविक समाचार माध्यम र युट्युबरलाई खाँटी पत्रकार भनेर चिन्ने गरेको छ । अन्य समाचार माध्यमका भन्दा यस्ता सञ्जालका विषय बढी छिट्टै भाइरल हुने गरेका छन् । गैर जिम्मेवार युट्युबहरुले सामाजिक द्धन्द्ध निम्त्याउन खोजेको धेरै नै भइसक्यो तैपनि यसतर्फ राज्य, सरकार हुनुपर्ने जति गम्भीर भएको देखिएको छ्रैन । यस्तै आफूलाई सही समाचार माध्यम र पत्रकार बनाएर समाजमा चिनाउन नसक्नुमा यी समाचार माध्यम र पत्रकारका आचरण, अभ्यास र व्यवहार अनि सरोकारवाला निकाय, व्यक्तिका काम गराइमा पनि कमजोरीहरु छन् । यसमा सबैले मःम भन्दा राम्रो हुन्छ ।

हो, आज समाजमा उदाएका सबै युट्युबहरु नराम्रा छैनन् । उनीहरुको कर्म पत्रकारिताको मूल्य, मान्यता र अभ्याससँग मिल्दोजुल्दो छ, छैन भन्ने बहस फरक हो । अर्काे पाटो हो । तैपनि तिनले कतिपय अवस्थामा परोपकारी सञ्चारकर्म गरेर राज्य, सरकार र राज्यसंयन्त्रमा बस्नेलाई समेत सूचना दिन र केही सोच्न गम्भीर बनाउन दबाब दिएको देखिन्छ । यद्यपि कतिपयको उद्देश्य पवित्र नै भएको पाइए पनि धेरैजसोको कर्म मानिसमा भ्रम छर्ने नै देखिन्छ । कतिपय सामान्य व्यक्ति र चर्चामा आएका सञ्चारकर्मीले समेत व्यक्तिगत आइडी खोलेर सामान्य विषयलाई अनावश्यक रुपमा प्रचार गर्ने गरेको पाइन्छ । यस्तो अवस्थामा यसको छिनोफानो कसरी लगाउने भन्ने विषयमा राज्यका सम्बन्धित निकाय र सरोकारवालाहरु स्पष्ट हुनुपर्ने हो । वर्तमान कानुनमा कुनै प्रावधान नभए पनि प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताभित्र रहेर पत्रकारिता कर्म गर्न इच्छुक युट्युब, अनलाइन टिभीलाई पत्रकार आचारसंहिताको कसीमा राखेर हेर्ने भनेर प्रस्ट पारिसकेको छ । प्रहरी प्रशासनसँग प्रत्यक्ष कुराकानी पनि भएको छ । यस्तो अवस्थामा प्रहरी प्रशासन अलमलमा पर्न नपर्ने हो । हो सबै सामाजिक सञ्जालको एक एक अनुसन्धान गर्ने कार्य सहज छैन तैपनि प्रहरी प्रशासन समाजमा अफवाह फैलाउने सामाजिक प्रयोगकर्ता (व्यक्ति वा संस्था ), युट्युब च्यानल, अनलाइन टिभीलाई तत्काल कारबाही गर्न हुनुपर्ने जति अग्रसर भएको पाइदैँन । जसले गर्दा यस्तो नियत राखेकाहरुको मनोबल बढेर भ्रम कर्ममा रमाइरहेको छ । समाजको ठुलो तप्का यस्ताकै विश्वासमा पछि लागिरहेको छ ।

आजको अवस्थामा चाहे पनि नचाहे पनि युट्युब सञ्चार साधनका रुपमा जबर्जस्त स्थापित भइसक्यो । हरेक व्यक्ति, संस्था,, संगठनले यसको प्रयोग गर्न थालिसके । त्यसैले राज्यले यसलाई निषेध गरेर जान सक्ने अवस्था छैन । हुनत सिद्धान्ततः सामाजिक सञ्जालबाट पत्रकारिता हुनै सक्दैन र यसको उद्देश्य, प्रकृति पत्रकारिता गर्ने पनि होइन, लिंक सेयर गर्ने मात्र हो तापनि पत्रकारिता कर्म गर्ने शैलीमा आफूलाई उभ्याएका र पत्रकार आचारसंहिताको घेरामा बाँधिने प्रतिवद्धता जनाएकालाई प्रेस काउन्सिलले हेर्न सक्ने हुँदा राज्यले अध्ययन, अनुसन्धान गरी अन्यलाई व्यवस्थित गर्नुको विकल्प छैन । साथै, पत्रकारिताको कसीमा रहेर चल्न चाहनेलाई अनुगमन, कारबाही गर्ने जिम्मा प्रेस काउन्सिल नेपाललाई कानुनी रुपमा नै दिइनुपर्दछ । कानुनको स्पष्ट व्यवस्था नहुञ्जेलसम्म सरकारको निर्णयबाट काउन्सिललाई यस्तो अधिकार प्रदान गरिनुपर्दछ ।

टिप्पणीहरू