डाक्टरकी श्रीमतीलाई न्याय दिलाउन मधेशी आयोग तात्यो

डाक्टरकी श्रीमतीलाई न्याय दिलाउन मधेशी आयोग तात्यो

मधेशी आयोगले घरेलु हिंसा पीडित नेहा चौधरीमाथि भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

औरही–१, महोत्तरी निवासी नेहाको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन माग गर्दै आयोगले नेपाल प्रहरी, प्रधान कार्यालयलाई पत्राचार गरेको जनाएको छ ।

कार्यालयलाई पत्र लेख्दै आयोगले भनेको छ, ‘सो घटनामा के कसो भएको हो ? छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारबाहीको प्रक्रिया अगाडि बढाउनु ।’

त्यस्तै, घटनाबारे आयोगलाई पनि जानकारी गराउन भनिएको छ । आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले तराई–मधेशमा अझै पनि दाइजोका कारण घरेलु हिंसा यथावत् रहेको स्वीकारेका छन् ।

दाइजोसँग सम्बन्धित थुप्रै उजुरी आयोगमा परेको उल्लेख गर्दै उनले उक्त समस्याप्रति आयोग गम्भीर रहेको बताए ।

उनले भने, ‘सोचमा परिवर्तन र चेतनाको स्तरवृद्धि नभएसम्म यस्ता समस्याहरुले समाजमा कैयौं चेलीबेटीहरु यातनाको शिकार बन्ने कुरा डरलाग्दो छ ।’

झण्डै आठ महिनाअघि रामगोपालपुर घर भएका ३१ वर्षीय डाक्टर पंकज चौधरीसंँग विवाह गरेकी नेहाले त्यसयता निरन्तर घरेलु हिंसा भोगिरहेकी खबर बाहिरिएको छ ।

दाइजोको निहुँमा श्रीमान र उनका परिवारका सदस्यले शारीरिक र मानसिक यातना दिन थालेपछि उनले आयोग गुहारेकी हुन् । उक्त घटनाले सामाजिक सञ्जाललाई तताएको छ । नेहामाथि भएको अत्याचारको विरोधमा चर्को आवाज उठेको छ ।

टिप्पणीहरू