यसकारण निकालियो विप्लवको गृह जिल्लामा सुरक्षा चुनौतीको निश्कर्ष

यसकारण निकालियो विप्लवको गृह जिल्लामा सुरक्षा चुनौतीको निश्कर्ष

नेत्र विक्रम चन्द ‘विप्लव’ को गृह जिल्ला कपिलवस्तुमा सुरक्षा चुनौती देखिएको छ । भोलिको निर्वाचन बिथोल्न विभिन्न प्रयास भइरहेकाले सरकार र सुरक्षा निकायले उक्त निश्कर्ष निकालेको बुझिएको छ ।

कपिलवस्तुमा विप्लव मात्र नभइ अन्य शक्तिसमेत निर्वाचनविरुद्ध रहेकाले थप सुरक्षा चुनौती देखिएको हो । निर्वाचन आचारसंहिता लागेपछि पनि जिल्लामा गाडीमा आगजनी गर्ने, बिस्फोटक पदार्थ राख्ने तथा निर्वाचनविरुद्ध राँके जुलुस निकाल्ने कार्य भएको छ ।

गत कात्तिक २१ गते राति नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले कपिलवस्तुमा तीन वटा सवारीसाधनमा आगो लगाएको थियो । नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विक्रान्तसिंह साहले निर्वाचन बहिष्कारको उद्देश्यले सवारीसाधनमा आगजनी गरेको बताएका थिए ।

मोर्चाले चन्द्रौटा–कृष्णनगर सडकअन्तर्गत जवाभारी र बहादुरगञ्ज क्षेत्रमा दुई वटा ट्रक र एउटा मोटरसाइकलमा आगजनी गरेको थियो । ट्रक जलाएको ठाउँ नजिकै मोर्चाको पर्चा समेत भेटिएको बताइन्छ । 

कात्तिक २९ गते कृष्णनगर नगरपालिका–५ पुरुषोत्तमपुर गाउँ नजिकै शंकास्पद वस्तु फेला परेको थियो । स्थानीय बासिन्दाले उक्त शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । निर्वाचन बिथोल्नका लागि कसैले बिस्फोटक पदार्थ राखेको हुन सक्ने सुरक्षा निकायको बुझाइ छ ।

बहादुरगञ्जस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको थियो । कात्तिक २७ गते  निर्वाचन खारेज गर्नुपर्ने मागसहित नेपाल कम्युनिष्ट पार्टीद्वारा  मसाल जुलुस प्रदर्शन गरियो र विजयनगरमा मसाल जुलुस निकालिएको थियो ।

हिजो नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) कपिलवस्तुले जीतपुरमा निर्वाचनविरुद्ध मसाल जुलुस निकालेको हो ।

यी क्रियाकलापपछि सुरक्षा निकायले जिल्लाको सुरक्षा संवेदनशीलतालाई थप मजबुत बनाएको दाबी गरेको छ । २३५ मतदानस्थलमा ४७३ मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा स्थितिलाई हेरेर २८ मतदानस्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील सूचीमा राखिएको छ । मोबाइल बेस, रिजर्भ फोर्सलगायतको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मीन घलेले जानकारी दिएका छन् ।

निर्वाचनमा १५ सयभन्दा बढी प्रहरी र दुई हजार ५ सय म्यादी प्रहरी परिचालन गरिएको छ । डीएसपी घलेले निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

टिप्पणीहरू