मन्त्री बन्ने,मन्त्री हटाइने-यिनको जीवनका रोचक गाथा
चिटिक्क परेको त्यो रातो घर । चारैतिर करेसाबारी । घरअघिको दुबेचौर । बगैँचामा लहरै बिछ्याएका काठे–मेच । न प्रहरी,न सहयोगी । वरिपरी खेलिरहेका तीन वटा कुकुर । रहर लाग्दा फलफूलका बिरूवा । घर्ती निवास जो छिर्छ,ऊ आफैँले गेट खोल्छ। अनि फर्किंदा पनि आफैँ बन्द गर्नुपर्ने हुन्छ ।
ललितपुरको सातदोबाटोनेरकै त्यही फराकिलो आँगनमा भेटिन्छन्,रोल्पाली ‘बा’ अर्थात् पूर्वमन्त्री बालाराम घर्तीमगर । पञ्चायतका ३० वर्ष मात्रै होइन,बहुदलका ८ वर्ष पनि राजा,शीर्ष पञ्चायती नेता र जनताको केन्द्रबिन्दूमै रहे,उनी। बालाराम सम्भवतः नेपालको सबैभन्दा धेरै अवधि सांसद हुने पात्रमध्येका हुन् ।
थाहै नपाई मन्त्री
२०३० साल चैत १८ गते सदरमुकाम लिबाङ जाँदै थिए,बालाराम। मिझिङबाट ६ घण्टा हिँडेर लिबाङ नजिकै पुगेका उनी प्युठानका खेमराज पण्डितसँग वामरुखनिर भेटिए। पण्डित लिबाङ स्कूलमा पढाउँथे ।
देख्नेबित्तिकै खेमराजले भने– बधाई छ तपाईंलाई।
बालाराम– के को बधाई दिनुभयो ?
उनी ट्वाँ परे। अत्तोपत्तो नै थिएन । एकाबिहानै रेडियोमार्फत मन्त्री नियुक्त भएको खेमराजले सुनेछन् । तर बालाराम भने बाटोमा हिँडिरहेका थिए । न उनीसँग फोन थियो,न रेडियो।
लिबाङ पुगेपछि भव्य स्वागत गरियो । सुरक्षाकर्मी अघिपछि लागे । अर्को दिन तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाललाई फोन गरे । उनीसँग सल्लाह मागे । तीन दिन लिबाङ बसेर काठमाडौँतिर लागे । काठमाडौंमा प्रधानमन्त्री रिजालले तोकिएकै समयमा तत्कालीन राजा बीरेन्द्रले शपथ ग्रहण गराएका थिए । त्यसपछि मन्त्री क्वार्टरमा बस्न थाले ।
सुत्दा–सुत्दै मन्त्री आयो, मन्त्री गयो
‘कहिले सुत्यासुत्यै जान्छ मन्त्री । कहिले सुत्यासुत्यै आउँछ,’ बालाराम भन्छन् ।
उनी मन्त्रीक्वाटरमै थिए। पद राज्यमन्त्री थियो । राति तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरीले पदबाट राजीनामा गरे । सरकार ढल्यो । स्वाभाविक रूपमा मन्त्रीहरू पनि घर जाने पक्कापक्की भयो । उज्यालो नहुँदै सुरक्षाकर्मी फर्किए ।
एकाबिहानै राज्यमन्त्री बालाराम बाहिर निस्के । दुई–तीनजना प्रहरीचाहिँ बाँकी नै रहेछन् । सलाम ठोक्दै जवानले भने, ‘मन्त्रीज्यू,डा. गिरीले राजीनामा गर्नुभयो । सेना फर्कियो । हामी मात्रै छम् ।’
बालाराम एकछिन ट्वाँ परे । उनका लागि पहिलो घटना थियो यो । मनमनै सोचे– हे..! मन्त्री न हो, गएपनि जाओस् । त्यो मन्त्री पद सुत्यासुत्यै गयो।
टिप्पणीहरू