भारतीय प्रधानमन्त्री ५ वर्षमा पुगे ३६ देश, २ अर्ब ३९ करोड खर्च

भारतीय प्रधानमन्त्री ५ वर्षमा पुगे ३६ देश, २ अर्ब ३९ करोड खर्च

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो पाँच वर्षमा विश्वका ३६ वटा देशको भ्रमण गरेका छन् । उनले सबैभन्दा महँगो भ्रमण सन् २०१९ मा गरेका थिए । अमेरिकाको उक्त भ्रमणमा २३ करोड २७ लाख ९ हजार भारतीय रुपैयाँ खर्च भएको जनाइएको छ ।

इण्डिया न्युज नेटवर्कका अनुसार भारतीय प्रधानमन्त्रीको आधिकारिक विदेश यात्रामा भएको खर्चको विवरण हालै सार्वजनिक भएको छ । तीमध्ये उनी तीन वर्षअघि अमेरिका जाँदा २३ करोडभन्दा बढी खर्च भएको हो । पछिल्लो पाँच वर्षमा प्रधानमन्त्रीले विदेश यात्रामा दुई अर्ब ३९ करोड रुपैयाँ खर्च गरेका छन् ।

उता सिपीआइएम राज्यसभा सांसद इलामाराम करिमले मोदीको विदेश यात्रा खर्चमाथि प्रश्न उठाएका छन् । सोही क्रममा विदेश राज्यमन्त्री बी. मुरलिधरनले प्रधानमन्त्रीको विदेश यात्राको खर्च सार्वजनिक गरेका हुन् ।

जसअनुसार यो वर्षको प्रारम्भमा भएको युरोप भ्रमणमा दुई करोड १५ लाख ६१ हजार ३०४ रुपैयाँ र हालैको बाली भ्रमणको खर्च ३२ लाख ९ हजार ७६० रुपैयाँ थियो ।

सन् २०१९ को नोभेम्बरमा भएको ब्राजिल भ्रमणमा २० करोड १ लाख ६१ हजार रुपैयाँ र सोही महिनाको अर्जेन्टिना भ्रमणमा १५ करोड ५९ लाख ८३ हजार रुपैयाँ खर्च भएको जानकारी दिइएको छ ।

यता यो वर्षको सेप्टेम्बरमा भएको मोदीको जापान भ्रमण सबैभन्दा कम लागतमा सम्पन्न भएको थियो । त्यसबखत जम्मा २३ लाख ८६ हजार ५३६ रुपैयाँ खर्च भएको बताइएको छ । सेप्टेम्बरमा गरिएको उज्बेकिस्तान भ्रमणमा ३४ लाख ८५ हजार ६८१ रुपैयाँ र नोभेम्बरको इण्डोनेसिया भ्रमणमा ३२ लाख ९ हजार ७६० रुपैयाँ खर्च भएको छ ।

टिप्पणीहरू