बृध्द दम्पतिको हत्याले पुरै गाउँ शोकमग्न

बृध्द दम्पतिको हत्याले पुरै गाउँ शोकमग्न जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ आहालेका ७४ वर्षीय विष्णुबहादुरआलेमगर र ६७ वर्षीय निरमाया आलेमगर बस्दै आएको घर । यही घरमा उनीहरुको हत्या भएको थियो । तस्बीर : शंकर श्रेष्ठ

घरमा सुतिरहेकै अवस्थामा बृध्द दम्पतिको हत्याका कारण धादिङको आहालेगाउँ शोकमग्न बनेको छ । गाउँमा सन्नाटा छाएको छ । 

त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया निरमाया हिजो बिहान हत्या गरिएको अवस्थामा भेटिएका थिए । बिष्णुबहादुरलाई घर बाहिरको खाटमा सुतिरहेको बेला निधारमा धारिलो हतियार प्रहार गरेर एकै झट्कामा प्राण लिएको देखिन्छ । निरमायालाई भने घरभित्रै लछारपछार गर्दै कुटेर हत्या गरेको घटनास्थलको दृश्यले देखाउँछ । 

घटनास्थल पुगेर फर्किएका जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्री भन्छन्, ‘हत्या नै भएको हो भन्ने आधारहरु छन्, बोझिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । के कारणले हत्या गरियो भन्ने कुराको अनुसन्धान गरिरहेका छौं ।’

यी दम्पतिका एक छोरा र एक छोरी छन् । छोरा,बुहारी काठमाण्डौमा डेण्टल क्लिनिक चलाएर बस्छन् । छोरी ज्वाईंको पनि आफ्नै फेन्सी व्यवसाय छ । शुक्रबार साँझ छोरा कुमारले फोन गरेर स्वास्थ्य चेकजाँचका लागि आमा,बुवालाई काठमाण्डौ बोलाएका थिए । 

तर दम्पतिले अहिले कुनै समस्या नभएकाले केही दिनमा काठमाडौं जाने बताएका थिए । तर,शुक्रवार साँझको फोन वार्तालाप नै उनीहरुबीच अन्तिम कुराकानी बन्यो । ‘शुक्रबार साँझ साढे ७ बजेतिर कुरा गरेको थिएँ । शनिवार विश्वकप हेर्न लागेकाले कुरा गर्ने मेसो मिलेन । आइतबार साँझ गर्दा फोन उठेन,केही बेरमा आमाको मोबाइल अफ भयो’, विष्णुबहादुर र निरमायाका छोरा कुमारले भने, ‘हत्यारा पत्ता लगाएर कानूनअनुसार कारबाही गरियोस् ।’

शनिबार राति नै हत्या भएको आशंका

छोरा कुमारसँगको कुराकानीअनुसार सँधैजसो आमा,बुबाको छोरासँग फोनमा कुराकानी हुन्थ्यो । विशेषगरी सञ्चो बिसञ्चोको कुरा हुन्थ्यो । पटक पटक काठमाडौंमा बस्न छोरा कुमारले आग्रह गरेका थिए । तर,दम्पतिले आफूहरु गाउँमै बस्ने भन्दै झुप्रो घर छाड्न मानेनन्  ।

शुक्रवारको कुराकानीपछि शनिवार छोरा कुमारले फोन नै गरेनन् । आइतबार साँझ गर्दा पहिलो पटक फोन उठेन । केही बेरपछि फोन अफ भन्यो । कुनै कारण फोन अफ भयो होला भन्ने सोच्दै छोरा कुमारले त्यत्ति खोजीनीति गरेनन् । एक्कासी सोमबार बिहान टेलिफोनमार्फत घटना सुनेपछि छोरा कुमारको परिवार दिउँसै घर पुगेका हुन् । 
 
अस्ति यी दम्पतिलाई छिमेकीहरुले पनि कसैले ख्याल राखेनन् । घर बाहिरसमेत देखिएनन् । सँधैजसो गोठालो जाने,घाँस काट्न जानेहरुसँग पनि आइतबार ती दम्पत्तिको भेट नभएको गाउँलेहरु बताउँछन् । आइतबार नभेटेका छिमेकीले सोमबार बिहान घाँस काट्न जाने बेला बोलाउन घर पुग्दा मात्रै दम्पतिलाई मृत अवस्थामा फेला पारेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान, छोरासँग फोनमा भएको कुराकानी र छिमेकीहरुसँगको कुराकानीअनुसार शव सोमबार बिहान भेटिए पनि घटना शनिवार राति नै भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

विष्णुबहादुरले हुलाक कार्यालयको जागिरबाट पेन्सन बुझिरहेका थिए । भूकम्पपछि जस्ता र काठको फल्याकले बारेको घरमा नै विष्णुबहादुरको दम्पतिले दैनिकी चलाइरहेका थिए । छिमेकीहरुका अनुसार विष्णुबहादुर सँधैजसो घर बाहिर पिँढीमा रहेको खाटमा नै सुत्थे । 

घटना भएको रात पनि उनी त्यही खाटमा मृत अवस्थामा भेटिएका हुन् । गाउँकै सोझा र भलाद्मी मानिने मगर दम्पतिको हत्याले अहिले गाउँ नै शोकमा डुबेको छ । 

आज परिवारले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जाहेरी दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान टोलीले तालिमप्राप्त कुकुरको प्रयोगका साथ अनुसन्धान थालेको छ । घटनालगत्तै गाउँ पुगेको जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षक रमेश थापासहितको टोली अहिले पनि घटनास्थलमै बसेर घटनाको सुक्ष्म अध्ययन गरिरहेको छ ।

हिजो राति सदरमुकाम धादिङबेसी ल्याइएका दम्पत्तिको शव आज दिउँसो पोष्टमार्टमको लागि काठमाडौं लगिएको छ । बृध्द दम्पति मात्रै बस्दै आएको घर यतिबेला सुनसान छ । उनीहरुले पालेको बाख्रा,खसीबोका र भैँसी गोठमै बाँधिएका छन् । सँधैजसो घरमा काम गरिरहने,घर वरपर देखिइरहने दम्पतिको विभत्स हत्याले छिमेकीहरु पनि मानसिक रुपमा त्रस्त छन् ।

 

टिप्पणीहरू