दियो बत्तिका हावा न्यायाधीश
– जगदीशराज बराल
‘आत्म दिपो भव (आफ्नो प्रकाश आफैं बन) !’ – भगवान बुद्ध
(१) दियोको बत्ति !
दियोको बत्तिको काम बल्ने हो, प्रकाश छर्ने हो, उज्यालो बाँड्ने हो
कर्तव्य र व्यवहारको इमान्दारिता नै यही हो
यही नै बत्तिको मूल्य, मान्यता, सिद्धान्त र निष्ठा हो
दियोमा बस्न थालेका छन् ।
दियोभित्र मैनमा डुबाएपछि
आफुलाई मैन होइन दियोको बत्ति नै ठान्छन् ।
बलिरहेको मैनबत्ति होओस् वा दियो भित्रको मैनमा भएको बत्ति
तेलमैं चुर्लुम्म डुबेको तामा–माटो–पित्तलकै दियो बत्ति भए पनि
फरक पर्छ र ? बली नै हाल्छ सल्काएपछि
उज्यालो हुन्छ–उसको सामथ्र्य अनुसार
अँध्यारोलाई उज्यालो पार्ने भाषा हुन्छ
जीवनदेखि थाकेर बाँचेकालाई बाँच्न हौसला दिने खासा हुन्छ
दबेका र दबाइएकाहरुलाई केही हुन्छ भन्ने आशा हुन्छ
बाटो बिराएकाहरुलाई सही बाटोमा डोर्याउने पासा (साथी) हुन्छ ।
कठै ! अब हावाले नै गर्न थालेछ
बत्ति कति बल्ने नबल्ने निर्णय ।
हावा : बत्तिको आयु तय गर्ने यमराज
डारबिनले भनेकै थिए–त्यही बाँच्छ जो हावा अनुकुल हुन्छ
‘सरभाईबल अफ फिटेष्टः समयानुसार चल–सोच बदल है–वातावरण अनुकूल’
तिहारमा होओस् वा छठमा बालिने दियोले ।
कति समय बल्ने कसरी प्रकाश छर्ने
धिपधिप कति बेला गर्ने भन्ने पनि अब हावाले नै
भक्ति र लम्पसार मिसिल हेरेर फैसला गर्छ ।
हावा ! हामीले उहिले सुनेका थियौं
यो फागुनदेखि जेठसम्म पश्चिमबाट बग्छ–अनि प्रायः पूर्वबाटै
खै, अचेल त अलि अलि उत्तरबाट त्यो पनि ढंग नुपुर्याई
बाँकी सबै मौसम दक्षिणबाटै पश्चिममा हावा समेत मिसिएर
हैट ! पिताजीको पूर्वको निवासमा बलेका दियोहरु हुन् वा
बालकोट, खुमलटारका बत्ति हुन वा महाराजगञ्ज, बूढानीलकण्ठका
दियाका बत्तिहरु नै हुन् के अर्थ हावाको लागि ?
सिंहदरबारका तेल घसेजस्ता चिल्ला दियाहरु त पल्टाइदिन्छ
पल्टिएको दियाका बत्तिका धुवाँहरु फेरि बल्न पाइन्छ कि भन्ने
आशामा हावाकै दिशामा हावासँगै प्रवाहित हुन्छन् ।
(२) ‘म पनि यस घरको सम्पति हुँ
पूजा कोठामा, घरको छतमा, प्रवेशद्वारमा मात्र होइन
खोला, नदी पोखरीको छेउमा पनि
इमान्दार भएर, मूल्य मान्यता र सिद्धान्तनिष्ठको पथमा
बल्न र बली नै रहन खोज्छु ।
घिउ गाई भैंसीकै होओस् वा होओस् वनस्पतिको
पाम तेल हाल्नुस कि, जीएम, तोरी वा बासनाको
आवरणमा मिसावटी जुनसुकै तेल जे हाले पनि बलिरहन्छु
यही मैले नैतिकताको कर्तव्यपरायण सपथ खाएको थिएँ ।
दियोको यो दाबी गुनासो स्वभाविक हो
अब त दियोको दाबी गुनासोको सुनुवाई
हावाले गर्छ त्यस्तो हावा जो स्वयं प्रदुषित छ
वहने शान्त हुने बौलाउने सबै लहडवाद रहरवाद हुन्छ उसको
कहाँ मान्दछ र प्रकृतिको विधि विधान उसले अचेल ?
...र, दियोहरु
जसले हावासँग दलाली गर्छ, लम्पसार पर्छन्
फुरुङ्ग पर्दै हावासँग दायाँबाँया र अघिपछि गर्दै
तेललाई पनि अब सोच बदल्न मोटिभेसनल स्पिच दिन्छन्
प्रदुषित हावाकै राज चलाउन स्वच्छता पक्षधरसँग कुस्ति खेल्छन्
अनि एकोहोरो बलिरहने अन्धभक्त जस्ता विद्युतीय दियोहरु जस्तै
हो तीनै दियोहरु मात्र बलिरहन सक्छन् ।
बिचरा इमान्दार दियोहरु त हावाको सानो झोंक्कामा
बलाईको जलाईको मज्जा लिन नपाउँदै
अल्पायुमै धुवाँमा लिप्त हुन पुग्छन् ।
उफ ! यसपालि तिहार छठमा मात्र होइन भोज भतेरको चुनावमा पनि
बत्तिहरु सयकडा दश मात्र बले,अरु धिपधिप गर्दै थिए ।
मरेपछि धुवाँसँग एक छिन बस्ने त हो बसे
जिवित रहेनन् स्वयं ज्यूँदो लाश भएका हावाको अगाडि
....र, हो ! यही पाठ सिक्दै पढ्दै अब त
इमान्दार सदाचार बलिरहेका दियाहरुले संघर्ष गर्ने बेला हो ।।
(खुला रुपमा भावना व्यक्त गर्दै स्वतन्त्र लेखनमा संलग्न लेखक नेपाल सरकारका पूर्व महानिर्देशक हुन् ।)
बिम्ब, छविचित्र सौजन्य : लेखकबाट संकलन मार्फत्
(१) नाङ्गलाको दियो लेखक स्वयंबाट वि.सं. २०७८ कात्तिक १८ गते लक्ष्मीपूजा
(२) जिल्ला सिराहा गाउँ सन्हैठामा छठ पर्व २०७९ मनाउन बाँसको ढक्कीमा पूजा सामाग्रीसहित दियो बालेको कार्तिक १३ गते बुद्धिजीवी प्राज्ञ, सचेत नेपाली नागरिक, लेखक रामरिझन यादवको फेशबुक वालबाट
(३) साथै, महानगरपालिकास्थित सुनसरी मोरङ्गको पश्चिम नहरमा छठ पर्व २०७९ मा छटघाटमा कात्तिक १३ गते सजाइएका प्रकाशका विद्युतीय हरियो बलिरहेका बत्ति जो पानीमा प्रतिविम्वितसँगै नहरको बालिएका दियोहरु बिराटनगरबासी मनोज ढकालको फेसबुक वालबाट
(४) महोत्तरीको मनराम गाउँको पोखरीमा छठ पर्व २०७९ मा केराको थम्बासँग कात्तिक १३ गते छठघाटमा सजाइएका, बलेका रातो पृष्ठभूमिका बत्तिहरु नेपाल सरकारका पूर्व सहसचिव इञ्जिनियर श्यामकिशोर सिंहको फेसबुक वालबाट )
(साहित्यको असाहित्यिक आयाम श्रृंखला–कविता)
टिप्पणीहरू