विदेशतिर पैसा ओसार्न खोज्ने यी वरिष्ठहरू

विदेशतिर पैसा ओसार्न खोज्ने यी वरिष्ठहरू

नेपाल राष्ट्र बैंकले नेपाल बसेर विदेशमा लगानी गर्न नपाइने प्रचलित काुननबारे फेरि गत साता डलर अर्बपतिदेखि नेपाली अर्बपतिहरूलाई सम्झाएको छ । बिचौलिया दिपक भट्टको शंकास्पद कारोबारबारे खबर बाहिरिएलगत्तै आएको उक्त सूचनाले विदेश गएर छोराछोरीको विवाहमा करोडौं खर्चने, हुण्डी कारोबारबाट डलर विदेशमै राख्ने र बाहिर कमाएको रकममध्ये सुको यता नल्याउनेलाई झस्काएको हुनुपर्छ ।

विनोद चौधरीलाई देश जतिसुकै दुखे पनि अहिलेसम्म विदेशमा गरिएको लगानीको कौडी यहाँ ल्याएका छैनन् । बरु उल्टै मिलेसम्म यताको रकम उता लैजाने धन्दा जारी छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले झापाकी युवतीसँग छोराको विवाह दुबईमा गराए । दुवै नेपाली अभिभावकले उतै जम्मा पारेको हुण्डी रकमबाट विवाहमा दशौं करोड खर्च भयो । त्यसअघि एनएमबी बैंकका अध्यक्ष तथा व्यवसायी पवन गोल्यानले पनि छोराको विवाह करोडौं खर्चेर उतै सकाएका थिए । डलर अर्बपति विनोद चौधरीले त छोराहरूको विवाहमा जन्तीलाई विमान चढाएर भारत पुर्‍याएकै हुन् ।

बेलाबखत नेताले झैँ समृद्ध मुलुक बनाउने भाषण गर्दै आएका यीलगायत मारवाडी समुदायका व्यवसायीहरू र पछिल्लो पटक दीपक भट्टसमेत विदेशतिर घरजग्गामा लगानी गर्ने योजनामा हिँडेको सूचना पाएपछि केन्द्रीय बैंकले पहिलो चरणमा जनाउ दिने उद्देश्यसहित गत साता सूचना प्रकाशित गरेको बताइन्छ । ‘भट्टको शंकास्पद कारोबार बाहिर आएको, चौधरी पहिलेदेखि विदेशमा लगानी गरेर विवादमा आएको सन्दर्भमा गत साता प्रकाशित सूचना संयोग मात्रै हो । तर, उनीहरूलगायत अरु पनि विदेशी मुद्रा विदेश लाने योजनामा लागेको थप जानकारी आएपछि रोक्ने कोशिस गरेका छौं,’ राष्ट्र बैंक स्रोतले बतायो ।

स्रोतका अनुसार आगामी भ्यालेन्टाइन्स डेको अवसर पारेर संयुक्त अरब इमिरेट्सको दुबईमा घरजग्गा तथा सम्पत्ति प्रदर्शनी हुँदैछ । युएईले विदेशी लगानी भिœयाउन दुबईमा इन्टरनेशनल प्रोपर्टी शोको नाममा फेबु्रअरी १२ देखि १४ तारिखसम्म इन्टरनेशनल रियल इस्टेट एक्जिबिसन गर्दैछ । त्यसका लागि विशेषगरी दक्षिण एशियाका धनी व्यवसायीलाई आकर्षण गर्न अहिले विभिन्न मुलुकका महँगा होटलमा कार्यक्रम भइरहेको छ । सोही क्रममा काठमाडौंको होटल सोल्टीमा पनि दुबईमा गरिने लगानी र किन्न सकिने सम्पत्तिबारे जानकारी गराउन आउँदो शनिवार र आइतवार कार्यक्रम राखिएपछि व्यवसायीहरू त्यसमा संलग्न भएको तथ्य खुलेको हो ।

काठमाडौं नेपाल दुबई प्रोपर्टी शोको नाममा गरिएको विज्ञापनमा आज लगानी गरेर भविष्य सुरक्षित तुल्याउन आग्रह गरिएको छ । सम्पर्कको निम्ति भारतीय टेलिफोन नम्बर ९१ ९७१११ ०१८३३ र सोही नम्बरको ह्वाट्सएप दिइएको छ । दुबईमा लगानी गर्नेलाई त्यहाँको गोल्डेन भीसा प्राप्त गर्ने सुनौलो अवसर आयो पनि भनिएको छ । काठमाडौंमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा क–कसको संलग्नता छ भन्नेबारे बुझ्न राष्ट्र बैंकले गरेको प्रयासलाई होटल सोल्टीले औपचारिक रूपमा साथ दिएको छैन । तर अनौपचारिक रूपमा यो कार्यक्रम आयोजना गर्न र दुबईमा लगानीको निम्ति भएको प्रयासमा विनोद चौधरी, शेखर गोल्छा, पवन गोल्यान, दीपक भट्टहरूको अप्रत्यक्ष सहयोग रहेको जानकारी केन्द्रीय बैंकले फुत्काएपछि गत साता विदेशमा लगानी गर्न नपाइने सूचना जारी गरिएको होटल सोल्टीको मार्केटिङ स्रोतले पनि पुष्टि गरेको छ ।

विदेशमा कमाएको भनिएको लगानी उतै रोक्ने, छोराछोरीको विवाह उतै गर्ने र घरजग्गा पनि उतै किन्ने मनशायले व्यापारी र व्यवसायीहरूको गतिविधि बढ्दै गएपछि नेपाल राष्ट्र बैंक यस्ता गैरकानुनी कार्यलाई हतोत्साही गराउन कम्मर कसेर लागेको प्रवक्ता गुणाकर भट्ट बताउँछन् । कतिपयले बिचौलिया दीपक भट्ट र जगदम्बा स्टिल कम्पनीबीच भएको अरबौं रूपैयाँको गैरकानुनी ट्रान्सफरलाई पनि दुबईको रियल इस्टेट एक्जिबिसनसँग जोडेर हेरेका छन् ।

चौधरीको विदेशमा रहेका व्यापारिक कम्पनीले मुलुक नभिœयाएको कमाइ, गोल्छा र गोल्यानका छोरा–बुहारीको उतैको आउजाउ र बसाईलाई पनि त्यहाँको सम्पत्ति खरिदसँग जोडेर हेरिएको छ । उनीहरूको उक्साहटमा अरु सोझा व्यवसायीलाई जोगाउन केन्द्रीय बैंकले आफ्नो भूमिका निर्वाह गरेको बताइएको छ । स्मरण रहोस्, केन्द्रीय बैंकको इजाजतमा सञ्चालित एनएमबी बैंकका अध्यक्ष गोल्यानले विदेशी मुद्राको कारोबारसम्बन्धी विद्यमान कानुन उल्लंघन हुने गरी विदेशमा छोराको विवाहमा लाखौं विदेशी मुद्रा खर्च गरेको सम्बन्धमा बालुवाटारमा बोलाएर उनको झाँको झारिएको थियो ।


 

टिप्पणीहरू