म्यानमारमा नेपाली मरेको मर्यै
– सुधा अत्रि, म्यान्मार
म्यानमारमा मारिनेध्ये एक दर्जन ‘गोर्खाली’ अर्थात् नेपालीभाषी छन् । गोर्खालीसहित रैथानेहरू पनि सेनाको आतंक बाहिर छैनन् । सेनाविरुद्ध प्रदर्शन गर्दागर्दै समातिएका माण्डलेका विद्यार्थी नेता रमेश सुवेदी (लिन्पाइ सो) आजसम्म घर फर्किएका छैनन् । टमू नगरमा एकाबिहानै दूध पु¥याएर फर्किएका एक नेपालीभाषी दम्पत्ती किशन गौतम (४०) र हरिमाया गौतम (३०) सेनाको गोलीबाट मारिए ।
म्यान्मारको सत्तासीन सेनाले २६ सयभन्दा बढी निर्दोष सर्वसाधारणको ज्यान लिइसकेको छ । विद्यालयदेखि धार्मिकस्थलसम्म ‘नागरिक–हत्या’ भइरहेको छ । प्रजातन्त्रवादीलाई जेलमा थुनिएको छ । राजनेताहरूलाई सैन्य नजरबन्दमा राखिएको छ ।
आङ सान सुकीलाई अनेकौँ झुटा आरोप लगाउँदै ३३ वर्षको जेल सजायँ सुनाइएको छ । उनको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिइएको छैन । युवाहरू गाउँ–घरमा भेटिँदैनन्, उनीहरू दशकौँदेखि राज्यविरुद्ध लागिपरेका स्थापित जातीय सशस्त्र समूहमा सामेल छन् । म्यान्मार सामाजिक र आर्थिक हिसाबले खस्किँदै छ । रंगुन, माण्डलेजस्ता व्यापारिक हबहरू संकटको डिलमा छन् । एउटा व्यक्तिको सनकले म्यान्मारको आम–जीवन बिथोलिएको छ । थाइल्याण्ड वा भारतमा शरण लिनुपर्ने बाध्यता छ । तानाशाहको आँखा हुँदैन । मन पनि हुँदैन । न भावना हुन्छ, न संवेदना नै हुन्छ । म्यान्मार, म्यान–मारजस्तै छ ।
टिप्पणीहरू