पार्टी बैठक छाडेर प्रधानमन्त्री भेट्न केपी ओली सिंहदरबारमा
नेकपा माओवादी केन्द्रको समर्थनमा आफ्नो पार्टीको तर्फबाट हुने उम्मेदवारलाई राष्ट्रपति जिताउन राजनीतिक भेटघाट तीव्र पार्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटघाट भर्खरै सकिएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकबाट सिंहदरवार पुग्नुभएका ओलीले प्रधानमन्त्री प्रचण्डलाई भावी राष्ट्रपतिबारे स्पष्ट हुन आग्रह गर्नुभएको बुझिएको छ ।
आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारको विषयले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादीबीच अविश्वास छ । नेपाली काँग्रेसले राष्ट्रपतिमा आकांक्षा देखाएको र प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा उम्मेदवार उठाउनुपर्ने प्रस्ताव गरेको विषयले एमाले सशंकित हुँदै आएको छ ।
यही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र ओलीबीच केही दिनयता भेटवार्ता बाक्लिएको छ । आजै सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तयारी छ । संयन्त्रको बैठकअघि प्रधानमन्त्री र प्रचण्डबीच छलफल भएको हो ।
आजै संयन्त्रको बैठकअघि नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नुभएको थियो । हिजो एउटा सार्वजनिक कार्यक्रमबाट जुनसुकै हालतमा एमालेका उम्मेदवारल़ाई राष्ट्रपति बन्न नदिने दावी गर्नुभएका थापाले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री भेट्नुभएको हो ।
टिप्पणीहरू