रवि लामिछानेलाई शीतल निवासको बोलावट

रवि लामिछानेलाई शीतल निवासको बोलावट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति विद्या भण्डारीलाई भेटेका छन् । 

आज साँझ पौने ७ बजे शीतल निवास पुगेका उनी १५ मीनेट भेटवार्ता गरेर फर्किएको बताइएको छ । नयाँ राष्ट्रपतिबारे राजनीतिक वृत्तमा अनेक चर्चा चलिरहेका बेला एमाले अध्यक्ष केपी ओलीसँग निकट रहेका भनिएका लामिछाने शीतल निवास जानुलाई अर्थपूर्ण मानिएको छ ।

संसद्को चौथो शक्ति रास्वपा सत्तारुढ गठबन्धनमा रहेपनि सरकारमा सहभागी भएको छैन । गृहसहित तीन मन्त्रालय लिएर सरकारमा गएको सो पार्टीले सभापति लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैधानिक ठहर गरेसँगै सरकार छाडेको हो । 

सर्वोच्चको फैसलापछि गृहमन्त्रीबाट बाहिरिन बाध्य भएका लामिछाने पुनः सोही जिम्मेवारीमा फर्कने प्रयासमा थिए । उनलाई एमाले अध्यक्ष ओलीको पनि साथ थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लामिछानेलाई मन्त्री बनाउन तयार नभएपछि सरकारलाई दिएको समर्थन यथावत राखी रास्वपाले अन्य मन्त्रीलाई पनि फिर्ता गरेको हो ।

राष्ट्रपति निर्वाचनमा रास्वपाले आफूलाई एमालेको उम्मेदवारको पक्षमा उभ्याउने संकेत गरिसकेको छ ।

टिप्पणीहरू