रविन्द्र मिश्रको नेतृत्वमा राप्रपाले पशुपतिको फोहोर उठायो
राजासहित हिन्दुराष्ट्रको पक्षमा वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई गरेको छ । महाशिवरात्री मेलाको भोलिपल्ट सो पार्टीको काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ले उपाध्यक्ष रविन्द्र मिश्रको नेतृत्वमा फोहोर उठाएको हो ।
मिश्रले सामाजिक सञ्जालमार्फत पशुपति परिसर सफा गरेको जानकारी दिएका छन् । उनले स्टाटस् लेख्दै पशुपतिको अवस्थाले आफ्नो मन काटिएको पनि बताए । ‘राप्रपा काठमाडौं क्षेत्र नम्बर १ ले पशुपति परिसरमा सफाइ कार्यक्रम राखेको थियो । त्यहाँ पुग्दा मनै काटियो’, मिश्रले फोटो शेयर गर्दै लेखेका छन्, ‘जात्राको भोलिपल्ट अलिअलि फोहोर जहाँ पनि हुन्छ । यी फोटोमा देखिएकोस्तरको फोहोर लज्जाजनक थियो ।’
छिमेकी भारतसहित अन्य मुलुकको उदाहरण दिँदै उनले आस्थाको केन्द्रमा यति विघ्न फोहोर गरेर ‘धर्म’ गर्न नसुहाउने पनि बताएका छन् । पशुपति क्षेत्र विकास कोषलाई अर्को पटकदेखि महाशिवरात्रीभन्दा पहिले नै फोहोर व्यवस्थापनको विषयमा अध्ययन गर्न मिश्रको आग्रह छ।
टिप्पणीहरू