प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा पूर्वसभामुखका छोरा

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा पूर्वसभामुखका छोरा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । यसअघि चीनका लागि नेपाली राजदूतमा चर्चा गरिएका सापकोटालाई प्रधानमन्त्री प्रचण्डले आफ्नो परराष्ट्र सल्लाहकार बनाउनुभएको हो ।

नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा जानकार सापकोटा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाका छोरा हुन् । त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गर्दै आएका उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् ।

सन् २०१८ मा चीनको बेइजिङ स्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयवाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी हासिल गरेका सापकोटासँग विश्वका विभिन्न विश्वविद्यालयमा सिनियर स्कलर तथा रिर्सच फेलोका रुपमा पनि काम गरेको अनुभव रहेको छ । उनी चिनियाँ भाषामा राम्रो दख्खल समेत राख्दछन् ।

त्यस्तै, प्रधानमन्त्रीले प्रशासन जनसम्पर्क विज्ञमा माओवादी नेता रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली र बुद्धि जिसीलाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल यसअघि नै नियुक्त भइसकेका छन् भने प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल छन् । 

त्यस्तै, प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सूर्यकिरण शर्मा, स्वकीय सहसचिवमा गोकर्ण प्रकाश भट्ट र आईटी विज्ञमा प्रकाश रायमाझी कार्यरत छन् ।

टिप्पणीहरू