पिथौरागढमा भारत–उज्बेकिस्तानको संयुक्त सैन्य अभ्यास

पिथौरागढमा भारत–उज्बेकिस्तानको संयुक्त सैन्य अभ्यास

भारत–उज्बेकिस्तानको संयुक्त सैन्य अभ्यास ‘दस्तलिक’ को चौथो संस्करण उत्तराखण्ड राज्यको पिथौरागढमा शुरु भएको छ । उक्त अभ्यास अस्तिदेखि थालिएको हो । दुई मुलुकका सेनाबीच सौहार्द र सद्भावपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण दिन लागिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

भारतीय रक्षा मन्त्रालयकाअनुसार दुई साता लामो अभ्यास संयुक्त राष्ट्र संघको जनादेशअन्तर्गत रहेर पहाडी र अर्ध शहरी परिदृश्यमा आतंकवाद विरोधी अभियानमा केन्द्रित हुनेछ । अभ्यासमा दुवै मुलुकबाट ४५–४५ सैनिकको सहभागिता छ । 

अभ्यासको क्रममा सैनिकहरुले क्षेत्रीय प्रशिक्षणको बारेमा छलफल गर्नेछन् । आधुनिक उपकरण र प्रविधिको प्रयोग तथा त्यसबाट हुने सम्भावित खतराका बारेमा ज्ञान दिइने जनाइएको छ । 

यसअघि सन् २०१९ मा उज्बेकिस्तानले पहिलो पटक ‘दस्तलिक’ अभ्यासको आयोजना गरेको थियो ।

टिप्पणीहरू