राहदानी बनाउनेको पीडा : त्रिपुरेश्वरमा र जिल्लामा समेत उस्तै

राहदानी बनाउनेको पीडा : त्रिपुरेश्वरमा र जिल्लामा समेत उस्तै

 राहदानी लिनेको भीड राजधानीको त्रिपुरेश्वरमा मात्र नभई काठमाडौं उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयमा पनि उस्तै देखिन्छ । विदेशिनेको संख्या दिनहुँ बढेकाले राहदानी विभाग र सबैजसो जिल्ला प्रशासन कार्यालयमा भीड थेगिनसक्नु भएको बताइन्छ । 

राहदानी बनाउन झिसमिसेमै सर्वसाधारण राहदानी विभागको बाहिर पुग्ने गरेका छन् । यो अवस्था पछिल्लो समय जिल्ला प्रशासन कार्यालयहरुमा पनि देखिन थालेको छ । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयमा बिहान ६ बजेदेखि नै राहदानीका लागि स्थानीय लाइनमा बसेको पाइन्छ । त्यसरी भोक निन्द्र सबै त्यागेर त्यहाँ पुग्दा पनि बेलैमा राहदानी पाउने कुनै टुंगो नहुने उनीहरुको भनाइ छ । प्रशासन कार्यालय बाहिर सँधै तीनदेखि पाँच सयको भीड हुने गरेको त्यहाँ खटिएका सुरक्षाकर्मीहरु बताउँछन् । यद्यपि, प्रशासनले दैनिक एक सयभन्दा बढीलाई सेवा प्रवाह गर्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सेवासुविधा दिने भनेर केही समयअघि टाइम कार्ड लागूसमेत गरेको थियो । त्यसका लागि सिडिओ कार्यालयका कर्मचारीहरुले छिटोछरितो काम सम्पन्न गर्न सार्वजनिक बिदाको दिनमा समेत काम गरे । बिहानैदेखि सिफ्टमा काम थाले ।

प्रशासनले प्रदान गर्ने सेवामा धेरै सुधार भए पनि राहदानी वितरणमा खासै प्रभावकारी भूमिका निर्वाह हुननसकेको सेवाग्राहीहरुको गुनासो छ । राहदानी वितरणमा प्रशासन चुकेको उनीहरुको आरोप छ । घण्टौं लाइन बस्दा पनि टोकन पाउन नसकेको सेवाग्राही बताउँछन् । 

यता, एक पटक टोकन खोलेपछि पुनः सात दिन नखोल्ने भएकाले पनि अप्ठेरो परेको उनीहरुको भनाइ छ । राहदानी लिन लाइनमा बसिरहेका एक सेवाग्राहीले भने, ‘म बिहान ६ बजेदेखि टोकन कार्ड लिन लाइनमा बसिरहेको छु । तर, अहिलेसम्म टोकन कार्ड नै पाइएको छैन । सरकारले सरकारी कार्यालयमा भीडभाड देखे विभागीय कारबाही गर्ने भन्यो । त्यसबाट हामीमा पनि आशा जागेको थियो । अब त राहदानी बनाउन चर्को घाममा बस्न नपर्ने भयो भन्ने  लाग्यो । तर, अहिले पनि उही ताल छ । आज टोकन कार्ड पाइन्छ कि पाईंदैन, कुनै अत्तोपत्तो छैन ।’

भोकतिर्खा नभनी लाइनमा बसेका अर्का एक जनाले रन्थनिँदै भने, ‘कि त सरकारले हामीलाई देशमै रोजगारी दिनुपर्छ होइन भने राहदानीमा यस्तो ढिलासुस्ती गर्नुहुँदैन ।’ सरकारले जहिले पनि सरकारी सेवाको अवस्थामा परिवर्तन ल्याउने आश्वासन दिने तर कामचाँहि केही नगर्ने गरेको उनको आरोप छ । सरकारी कामकाजको शैली देखेर सेवाग्राहीहरु आजित भइसकेको उनको निश्कर्ष छ । 

प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले भने सर्वसाधारणको उक्त आरोपलाई नकारेका छन् । उनले प्रशासनले क्षमताभन्दा बढी काम गरेर सेवाग्राहीलाई थप सेवा प्रदान गरिरहेको दाबी गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘हामीले आफ्ना सेवाग्राहीलाई सहजता महशुस गराउनुका साथै छिटो छरितो र प्रभावकारी रुपमा सेवा प्रदान गर्न क्षमताभन्दा पनि बढी काम गरिरहेका छौँ । प्रशासनले दिनहुँ सयभन्दा बढी राहदानी वितरण गर्ने गरेको छ । सार्वजनिक बिदाको समयमा समेत खटिएका छन् । कतिपय सेवाहरु निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ । बिचौलियाको प्रभाव कम गर्न निवेदन लेख्न नआउने सेवाग्राहीको निवेदन प्रशासन आफैंले लेखिदिने गरेको छ ।’ 

सेवाग्राहीको अभिभावक बनेर काम गरिरहेको सन्दर्भ उल्लेख गर्दै उनले अहिलेको अवस्थामा प्रशासनको काममाथि प्रश्न उठाउन नमिल्ने उनको बुझाइ छ । विदेश जानेको संख्या बढेसँगै राहदानी लिनेको संख्या ह्वात्तै बढेको हो । मुलुकमा रोजगारीको अवसर नहुँदा विदेश जानेको संख्या बढ्नु स्वाभाविक हो । यसर्थ दिनहुँ हजारौं नेपाली विदेशिएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कार्यालयमा भीडभाड देखे सम्बन्धित कार्यालयका पदाधिकारीलाई कारबाही गर्ने निर्देशन दिनुभएको छ । तर, त्यो निर्देशन पनि निर्देशनमै सीमित भएको छ ।

टिप्पणीहरू