सेनाको काण्ड प्रहरीतिर सल्किँदै
सेनामा जन्ममितिको लफडाले मान्छेहरूको जागिर मात्र गएन, पूर्वदुईतारे जर्नेल प्रेम शाही अहिलेसम्म सैनिक हिरासतमै राखिएका छन् । प्रहरीमा भने भटाभट राजीनामा दिएर मामिला सल्टाउने लहर शुरु भएको छ ।
सेनाबाट प्रहरीतिर सरेको जन्ममितिको रोगले फेरि अर्का डिआइजी श्यामलाल ज्ञवालीलाई घेरा हालेको छ । अर्का डिआइजी भीमप्रसाद ढकाल पनि यही काण्डमा मुछिएका थिए । तर, भोजपुरे ढकाललाई संखुवासभाका अख्तियारका मान्छेहरूले त्यहीँबाट चोख्याएर पठाए । यसअघि त्यस्तै उजुरी अख्तियारमा परेपछि चैत ११ गते आइजिपी भएर संगठन हाँक्ने भनिएका डिआइजी अशोक सिंहले राजीनामा दिएर घर जानुप¥यो । ज्ञवाली भने आफ्नो जन्ममितिलाई शैक्षिक प्रमाणपत्रका आधारमा सही भएको दाबी गर्दै आजसम्म जागिरमै छन् । अचम्म के छ भने, २८ वर्ष जागिर खाइसकेको प्रहरी निरीक्षक आधारभूत तालिमको यो ९९औँ टोलीका अधिकृतले एकपछि अर्को गर्दै संगठन प्रमुख हुने मुखमा पुगेपछि जन्ममितिको सास्ती झेल्नुपरेको छ ।
हाल प्रदेश प्रहरी प्रमुखका रूपमा विराटनगरमा कार्यरत ज्ञवालीले ०४१ साल चैत २ गते प्युठानस्थित जिल्ला प्रशासनबाट लिएको नागरिकतामा १७ वर्ष उल्लेख छ । उजुरकर्ताको दाबीअनुसार उनले सोही जन्ममितिको नागरिकता पेश गरी ०४९ सालमै प्रहरी निरीक्षकका लागि आवेदन दिएका थिए । तर, लिखित परीक्षामा अनुत्तीर्ण भए । फेरि प्रहरी निरीक्षक भर्नाका निम्ति अर्को सूचना जारी भयो, ०५० सालमा । आवेदनको अन्तिम मिति पुस ९ लाई तोकिएको थियो । त्यसबेलासम्म प्युठानबाट जारी भएको नागरिकताका आधारमा श्याम एक वर्ष ढिलो भइसकेका थिए । त्यसैले परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरबाट एसएलसी परीक्षाको चारित्रिक प्रमाणपत्रमा जन्ममितिलाई ०२४ बाट ०२५ बनाए । नागरिकताअनुसार उनको जन्ममिति ०२४ चैत २ हुन्छ । उनले कृषि विकास बैंकको जागिर छाडेर प्रहरी सेवा रोजेका हुन् । त्यसबेलाको प्रहरी नियमावलीमा भनिएको थियो, ‘नोकरीमा प्रवेश गरेको बेलामा निजले पेश गरेको शैक्षिक संस्थाको प्रमाणपत्रमा किटिएको जन्ममिति वा वर्षबाट हुन आउने उमेर र त्यस्तो अभिलेख नभएमा निजले नोकरीमा प्रवेश गरेको बेलामा सिटरोलमा लेखिएको जन्ममिति वा वर्षबाट हुन आउने उमेर...।’
प्रहरी नियमावलीमा संशोधन भएपछि दरखास्तको अन्तिम दिनसम्म इन्स्पेक्टरका लागि २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । अख्तियारको दाबी छ, श्यामले प्रहरी निरीक्षकका लागि दोस्रोपटक आवेदन गर्दा उनको उमेर १० दिनले बितिसकेको थियो । उनको हकमा अहिले उत्पन्न विवादलाई अर्को किसिमले व्याख्या गरिँदै छ । प्रहरी कर्मचारीको हकमा नियमावलीले भन्छ, ‘प्रहरी सेवामा रहेका कुनै पनि अधिकारीको प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा हुने... तर यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्ष मात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपखण्ड (ख) जन्ममिति कायम गरिनेछ ।’ यसअनुसार, श्यामको दाबी छ, परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको चारित्रिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति । उनले प्रहरी निरीक्षकको लिखित परीक्षा उत्तीर्ण गरेपछि ०५१ चैत ५ गते नियुक्ति पत्र बुझे । ०६३ भदौ ८ गते निरीक्षक अर्थात् इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भए । ०७१ फागुन १० गते डिएसपी, २०७५ फागुन ७ मा एसपी हुँदै अहिले डिआइजी भएका छन् ।
अर्का डिआइजी भीमप्रसाद ढकालको पनि यही प्रकारको विवाद अख्तियारबाटै मिलाएर पठाइएको छ । नागरिकतामा उनको पनि जन्ममितिको सट्टा जारी हुँदाको उमेर भनी १७ वर्ष, अर्थात् २०२४ सालकै छ । तर, पछाडिको पानामा संशोधन गरी २०२५ बनाइएको आधारमा प्रहरीको सिटरोलमा २०२५/०८/२८ उल्लेख छ । यसरी भीम पछाडिको संशोधनका नाममा जोगाइएका छन् । श्यामलाई जोगाउने पक्षमा अख्तियार छैन, प्रहरीभित्र पनि उनलाई राजीनामा गराउनुपर्ने स्वर चर्को छ । उनी स्वयं भने मुद्दामा गएर भए पनि न्याय खोज्ने पक्षमा छन् ।
यसरी भर्ना हुँदैका मितिमा छानबिन गर्नुपर्ने कुरा जागिर सकिने दुई वर्ष बाँकी हुँदा र संगठनको शीर्ष जिम्मेवारी बहन गर्ने मुखैमा हुन थालेपछि उनीहरूभन्दा मुनि दर्जामा पनि अहिले ‘जन्ममिति आतंक’ शुरु भएको छ । अहिलेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित सबै एआइजी र केही डिआइजी चैत १० गते रातको १२ बजेदेखि सेवा निवृत्त हुँदै छन् । र, ११ गते बहाली हुनुपर्ने आइजी र एआइजीको ब्याच हो, अहिले जन्ममितिमा मुछिएको । यो ब्याचको रमाइलो के छ भने एउटै सूचना, आवेदन मिति र परीक्षा दिएका इन्स्पेक्टरहरू उत्तीर्ण हुँदा तीनथरी मितिका छन् । त्यसमध्ये आइजीका बलियो दावेदार तर राजीनामा दिएपछि ठण्डाराम भएका अशोक सिंह, अहिले जन्ममिति विवादमा तानिएका श्यामलालहरू उक्त परीक्षाको पहिलो नतिजा प्रकाशित हुँदैमा उत्तीर्ण थिए भने अब आइजीका बलियो दावेदार मानिने दीपक थापाहरूले ०५२ भदौ १९ मा नियुक्ति पत्र पाएका थिए । किनभने, उनीहरू नतिजाको वैकल्पिक सूचीमा उत्तीर्ण भएका हुन् ।
राजीनामा दिइसकेका डिआइजी अशोक डिएसपी बढुवामा अरूभन्दा पछाडि पारिएका थिए । अरूले ०६३ भदौ ८ मा डिएसपी बढुवा पाउँदा अशोकले ०६४ साउन १ मा बढुवा पाए । त्यसैले अब २०५१ चैत ५ र २०५२ भदौ १९ मध्ये कुन टोलीले आइजीमा बाजी मार्ला ? प्रश्न उठ्न थालेको छ । त्यसमध्ये २०५२ का दीपक थापा सबभन्दा बलिया दावेदार हुन् । त्यसपछि वसन्तबहादुर कुँवर र टेकप्रसाद राई बलियो मानिन्छन् । यदि, जन्ममितिमा सफाइ पाए भने श्यामलाल ज्ञवाली पनि आइजीका बलिया दाबेदार हुन् । सन्दीप भण्डारी र भीम ढकाल एमालेमा पनि ओलीका खास हुनुका कारण अहिलेको सत्ता समीकरणले रुचाएको छैन । त्यसैले उनीहरू एआइजी हुने कुराको पनि टुंगो छैन । भीमका हकमा अख्तियार प्रमुख प्रेम राई नै लबिङ गर्न तम्सिने कारण उनीसम्म एआइजी होलान् भन्ने अनुमान छ । एआइजी हुनेहरूमा उमेशराज जोशी, रामदत्त जोशी, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदीप गिरी, जनक भट्टराई, दुर्गा सिंहहरूमध्येका छन् । त्यस्तै, डिआइजीका लागि विकासराज खनाल, लालमणि आचार्य, किरण राणा, यज्ञविनोद पोखरेल, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, भोलाबहादुर रावल, अनुरागकुमार द्विवेदी, चन्द्रकुवेर खापुङ, योगबहादुर पालहरू हुन् ।
टिप्पणीहरू