गणतन्त्रका विभिन्न गन्थन

गणतन्त्रका विभिन्न गन्थन

 – मनोजकुमार कर्ण 

फागुन १० गतेको ‘जनआस्था’ मा ‘ओली अवतारका अनेकन आयाम’ शीर्षकको लेख पढेर एक जना अग्रज प्राध्यापकले नेपालका राजनीतिक दल, नेताका पदलोलुपता र नातावाद, देशमा व्याप्त गरिबी आदिले नैराश्यता उत्पन्न भई जिज्ञासा राख्नुभयो– ‘राजतन्त्र जाँँदा नेपाली जनताले के पाए र फेरि राजतन्त्र, हुन तः यस्तो सम्भावना कम देखिन्छ, आउँदा नेपाली जनताले के गुमाउलान् र ! यसको समीक्षा छ र सर ?’ प्रश्नले एकछिन त के लेखूँ उत्तरमा त्यो पनि श्रद्धेयप्रति भयो तर उत्तर नै दिन सकिनँ भने गणतन्त्रप्रति आमप्राध्यापकसम्म राजतन्त्रवादी प्रेतहरूले वितृष्णा फैलाइसकेको बुझेर तलको कुरा बुझ्नलाई निवेदन गरेँ, जुन अलिकति मात्र भाषा सम्पादनमा यहाँ उल्लेख गरिएको छ ।

शदियौंदेखि हाम्रा पूर्वजहरू नेपालका राणा र राजसंस्थाबारे समीक्षै–समीक्षा गरिरहेका छन्, आदरणीय सर ! हामी प्राध्यापकबाहेक अरूले हजुरको प्रश्न गर्दा हुन्थ्यो । यस लेखमा त मैले राजसंस्था हुँदा–नहुँदाबारे लेखेको त छैन, स्थान कम भएर तर अन्य लेखमा पटकपटक लेखिसकेको छु । र पनि, तत्काल यी कुरामाथि हामी विचार गरौँ–

गणतन्त्रमा कोही सेना, प्रहरीका उच्चपदस्थ अधिकारीले नै अनैतिक काम वा नक्कली प्रमाणपत्र पदोन्नतिमा पेश गर्दा नियमबमोजिम सजायँ हुन्छ ।

१) हिजो राणा वा राजसंस्थामा जंगली जनावरको शिकार भई छाला आदि, मूर्ति, सुन तस्करी नेपालबाट विदेशमा हुँदा कति जनाले संलग्नहरूबारे थाहा पाउथे ? को दोषीले सजायँ पाउँथे ? दरबारिया संलग्नताबारे कसले बोल्न सक्थ्यो ? तर आज जो पनि अपराधीमाथि सूचना बाहिर आउँछ, मिडिया बोल्छ, मजस्ता भुइँस्तरको मान्छेले लेख्न पाउँछ ! पञ्चायतमा म मधेशीलाई ‘नेपाली बोल्न आउँछ ?’ भनेर पब्लिक प्लेसमा जिस्क्याइन्थ्यो भने भौगोलिक र रंगको आधारमा विभेदको त कुरै छाडौँ । कमलविनायक, भक्तपुरको सरस्वती विद्यामन्दिर (गृह) सरकारी विद्यालयमा अस्थायी पद हाईस्कूलको अंग्रेजी शिक्षक पदमा फाराम भर्न जाँदा मलाई शरीर मधेशीको देखेरै सहायक हेड मास्टरले ‘यहाँ विज्ञापन छ भनेर कसले भन्यो ? बाहिर बस्नु उत्ता !’ भनिएको हो, बिर्सन सक्दिनँ ! 

२) स्वयं ज्ञानेन्द्र शाह रणबहादुर शाहकी पत्नी तिरहुते बाहुनी त्रिपुरादेवी (दरबारमा बिहेपछि नाम कान्तिवती/कान्तिमतिमा बदलिएको) पट्टीको राजा गीर्वाणयुद्धको मधेशी रगत भएर पनि मधेशीमाथि दुव्र्यवहार र अवसर, नियुक्तिहरू आदिमा विभेद भइरह्यो, मधेशीबाहेक थारू, मुसलमान, दलित, महिला आदिमाथि पनि ! 

३) राजतन्त्रकै बेला राजा महेन्द्रले पञ्चायत टिकाउन चीनलाई पाकिस्तानले अक्साइचाइना (सीयाचेन) को भाग ‘भेटी चढाउँदा’ चीनले दशगजामा नेपालको ४ हेक्टर बढी जमिन कब्जा ग¥यो । क्षेत्रफल कम भए पनि आज त्यहाँ चीनले अत्याधुनिक मिसाइल भारततिर फर्काएर राखेको छ जसकारण रणनीतिक महत्वले चीनमाथि आक्रमण नै गर्नलाई भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा पहिला महेन्द्र राजाले नै उसलाई सैन्य राख्न दिएकामा अब उसले छाड्न मानिरहेछैन ! हाम्रो सगरमाथाको आधी भाग तिब्बती पठारबाट चीनलाई त्यो महेन्द्र शाह राजा देशद्रोहीले पञ्चायत टिकाउन चीनलाई दियो, जसको कथित संयुक्त मापन केपी ओली पछिल्लो सरकारको पालामा चीनले गरेर लालपुर्जा नै नेपालले आधी तिम्रो भनेर दिइसक्यो भने कोरोनाकालको नाजायज फाइदा उठाएर चीनले एकतर्फी हाम्रो सगरमाथालाई आफ्नो भनेर हुलाक टिकट नै जारी गरिसक्यो । 

४) आज अख्तियार, सम्पत्ति शुद्धिकरण, सतर्कता केन्द्र जनताबाट निर्देशित भई चल्छन् भने राष्ट्रपतिले पनि संसद् विघटन गर्न तत्कालीन प्रधानमन्त्री ओलीलाई सघाउँदा वा संसद्बाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्दा हामी लेख्न र औँला उठाउन सक्छौं तर राजसंस्थामा शायद मेरो लास बेपत्ता पारिन्थ्यो ! 

५) आज मिडिया हाउसमा केही लेखेबापत राति छापा मारिँदैन तर उसको गलत क्रियाकलापको आलोचना वा समालोचना हुन्छ । 

६) राजसंस्थामा नेपालको ढुकुटी विदेशमा एक व्यक्तिको नाममा लुकाइन्थ्यो भने आज उल्टै विदेशी बैंकले नै तिम्रा देशका फलानाका पैसा यहाँ छन् भनिदिन्छन् । यस्ता अनगिन्ती फाइदा छन् सर तैपनि आरक्षण, जनताको सरकार, जननिर्वाचित सरकारले नियुक्त गर्ने परम्परा छन्, पहिला टीके प्रथा, चौकीदारी प्रथा हुन्थ्यो, समानुपातिक समावेशी आदि छन् गणतन्त्रमा । 

७) बीपी कोइराला प्रधानमन्त्रीले सिन्धुपाल्चोकको सिंगो गाउँलाई माओ त्सेतुङले उनको चीन भ्रमणका बेला चीनको हो र चिनियाँ नक्सा देखाउँदा बीपीले यस्तो नक्सा हामी पनि बनाउन सक्छौँ तर युएनओको नक्सा हामी मानौँ भनेर भन्दा ‘पञ्चायत’ मै प्रम कीर्तिनिधि विष्टले ०३० सालतिर सिंहदरबारको आलमिडामा नक्सा रहेकै बाट आगो लगाएर नेपाली ‘राष्ट्रियता’ देखाउन सके तर आजको दिनमा यस्तो गर्न पाइँदैन सर ! पुनः जोड दिएँ कि हाम्रो सगरमाथा अब चीनको हो भनेर कोरोनाकालमा उसले एकतर्फी हुलाक टिकट जारी गरेको हो, जुन सगरमाथा तिब्बती पठारबाट आधी भनेर पञ्चायत टिकाउन राजा महेन्द्र शाहले चीनलाई दिएका थिए । सर, राजतन्त्र भएकै कारण राजा वीरेन्द्रको वंशनाश गराउन सम्भव भयो ! 

तर, गणतन्त्रका फाइदा र राजतन्त्रका बेफाइदा यतिमै सीमित भने छैनन् । माथि उल्लेख गरिएझैँ आज गणतन्त्रमा कोही सेना, प्रहरीका उच्चपदस्थ अधिकारीले नै अनैतिक काम वा नक्कली प्रमाणपत्र पदोन्नतिमा पेश गर्दा नियमबमोजिम सजायँ हुन्छ भने अख्तियार प्रमुख (दीप बस्न्यात) नै कोही ललिता निवास प्रकरणमा मुछिँदा सजायँ तोकिन्छ जबकि नेपालमा राजतन्त्र कालमा शक्तिमा बसेकाहरूमाथि प्रश्न उठाउनै पाइन्नथ्यो भने कारबाहीको त कुरै टाढा ! तर यी सबैका बाबजुद पनि गणतन्त्रमा र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणाको करिब सात वर्षपछि पनि जनताको गरिबी न्यूनीकरण भएको छैन, बजार भाउ अकासिएको छ, देशमा दारू बन्छ तर नुन उत्पादन हुँदैन, आज पनि देशका संस्थाहरूमा भनसुनकै आधारमा पनि जागिर पाइन्छ जबकि छिमेकी चीनमा जिसस क्राइस्ट जन्मिनु चार वर्षअघि लोकसेवा आयोगको परिक्षाको सुरुवात भइसकेको थियो । आज पनि देशमा पाठ्यपुस्तक समयमा पुग्दैन, खाद्यान्न सामग्री कर्णालीसम्म पुग्दैन, समयमा निर्माण सम्पन्न हुँदैन, चुनावमा टिकट स्थानीयदेखि प्रदेश–केन्द्रसम्मका बेचिन्छन् । गणतन्त्रमा दल र नेताप्रति जनताका गुनासा थुप्रै छन्, जसलाई क्यास गर्न प्रतिगामी शक्ति संसदमा एमालेको अगुवाइमा राप्रपा र रास्वपाहरू छन् । 

फागुन ७ गते प्रजातन्त्र दिवसको बहाना पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले ‘शुभकामना’ सन्देशमा दलहरूलाई जनताका गुनासालाई जोडेर दल र राजसंस्था मिलेर जान अनुरोध त के धम्क्याउन भ्याए, श्री ५ महाराजाकै सम्बोधन शैलीमा । लगत्तै, गणतन्त्रमा तेस्रो व्यक्ति राष्ट्रपतिको उम्मेदवारको खोजीमा एमाले अध्यक्ष केपी ओलीले झुक्याएर कांग्रेस–माओवादीबीच खेलेर अलग–अलग पारिदिएर एमालेसँग कथित् सत्ता अलायन्स बनाएर प्रतिगामी कदम चाल्नलाई एमालेकै प्रस्तावित मान्छे राष्ट्रपति हुनैपर्ने अन्तिम चाल चिनियाँ राजदूतसमेतलाई माधव नेपालनिवास कोटेश्वर र प्रधानमन्त्रीनिवास बालुवाटारमा परिचालन गरेर पनि नसक्दा ओलीले रिसले चुर भई फागुन ११ गते माओवादीले फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस मनाएका र पृथ्वीजयन्तीझैँ सरकारी बिदा पनि दिलाएकामा ‘केही व्यक्तिमा अझै युद्धको धङधङी देखिन्छ त्यसैले ‘हिंसा दिवस’ मनाउनेमा जनयुद्ध दिवस मनाएका छन् भनेर सत्ताबाट बाहिरिनुपरेको तीतो पोखे । र, यही ओलीको वास्तविक मुखुण्डो पनि उघारेको अनुहार हो, यदि ओलीको मान्छे राष्ट्रपति भएमा उनले कुनै पनि बेला गणतन्त्र, संघीयता, प्रदेश संरचना, आरक्षण, वर्तमान संविधानलाई फालेर राजतन्त्र ब्युँतेको घोषणा संसदबाटै ओलीहरूले गरिदिने हुन्, झलक त राप्रपाका रवीन्द्र मिश्रहरूले ज्ञानेन्द्र शाहलाई नै राष्ट्रप्रमुख दिने भनेर दिइसकेका हुन् । अतः अब अग्रगामी सोचका दलहरूले जनताका पक्षमा काम नगरेर खेलवाड, अटेरी गर्ने, भ्रष्टाचार, कुशासन आदि दिने छुट छैन भलै यो बेग्लै कुरा हो कि गणतन्त्रभन्दा बेग्लै तन्त्र दुनियाँमा छ भने त्यो फेरि गणतन्त्र नै हो, राजतन्त्र होइन ! 

(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर)
 

टिप्पणीहरू