राष्ट्रपतिलाई भोट हाल्न जाँदा ‘आईडी कार्ड’ अनिवार्य

राष्ट्रपतिलाई भोट हाल्न जाँदा ‘आईडी कार्ड’ अनिवार्य

निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न जाँदा परिचय पत्र साथमा लैजान आग्रह गरेको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न जाँदा परिचय पत्र नबिर्सन मतदातालाई सम्झाएका हुन् । आयोगका अनुसार मतदान गर्न जाँदा मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, सम्बन्धित् संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र,  निर्वाचन अधिकृतबाट सम्बन्धित् सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये कुनै एउटा लिएर जानुपर्नेछ । 

‘निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा, नेपाली नागरिकताको प्रमाण पत्र वा, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ’, प्रवक्ता पौडेलले भने । 

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुदैँछ । निर्वाचन आयोगको अन्तिम मतदाता नामावलीअनुसार संघीय संसद र प्रदेश सभाका ८८१ सांसदले मतदान गर्न पाउने छन् । जसमा संघीय ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश छ । त्यस्तै, उपराष्ट्रपतिको निर्वाचन भने आगामी चैत्र ३ गतेका लागि तोकिएको छ ।

टिप्पणीहरू