केपी ओलीको गृह जिल्लाका चार जना एमाले नेताले पार्टी छाडे
नेकपा एमाले झापाका उपसचिव चन्द्रकला श्रेष्ठसहित चार जनाले पार्टी परित्याग गरेका छन् । आज झापाको भद्रपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
पछिल्ला दुई निर्वाचनमा झापा–३ राप्रपालाई दिएर एमाले नेतृत्वले पार्टीको अवस्था कमजोर बनाएको भन्दै उनीहरुले पार्टी छाड्न बाध्य भएको बताए । कार्यकर्ताको मूल्याङ्कन योग्यता र क्षमताका आधारमा नभई नेतृत्वको निकटताका आधारमा हुने र काखापाखा गर्ने प्रवृत्तिले पार्टीमा रहिरहन नसकेको उनीहरुको भनाइ छ ।
एमाले परित्याग गरेकी चन्द्रकला भद्रपुर नगरपालिकाकी पूर्वउपमेयर पनि हुन् । एमाले छाड्ने अरु तीन जनामा बाह्रदशीका प्रदेश कमिटी सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय कमिटी सदस्य सज्जाद आलम र बाह्रदशी गाउँपालिका कमिटी सदस्य हवालोदिन मियाँ हुन् ।
टिप्पणीहरू