विश्व खाद्य कार्यक्रमले कुहिएको खाना खुवाएको इन्सेकको आरोप
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विश्व खाद्य कार्यक्रमले कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि ल्याएको चामल गुणस्तरहीन पाइएको भन्दै पूर्वपरीक्षणको माग गरेको छ ।
इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले आज विज्ञप्ति जारी गर्दै विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको गुणस्तर परीक्षण गर्न माग गरेका हुन् । ‘हामी विश्व खाद्य कार्यक्रमले नेपालमा आपूर्ति गर्ने सबै प्रकारका खाद्यान्नको परीक्षण अनिवार्य गरी नेपाली जनताको संवैधानिक हक सुनिश्चित गर्न माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, अखाद्य सामग्री बालबालिकालाई वितरण गर्न ल्याउन लागिएको घटनाको छानबिन गरी त्यस कार्यमा संलग्न दोषीहरुमाथि कानूनी कारबाही गर्न नेपाल सरकारसमक्ष माग गर्दछौँ ।’
५४ हजार किलो भिजेको, मक्किएको र गन्हाएको चामल नेपाल भित्र्याउन लागिएको दाबी गर्दै इन्सेकले यसलाई नेपाली जनताको स्वस्थ्यकर खाद्यान्नको हकबिरुद्ध र विशेषतः बालबालिकाको सर्वोत्तम हित प्रतिकूल गम्भिर हेलचेक्रयाँई भनेको छ ।
नेपालका दुर्गम क्षेत्रमा कामका लागि खाद्यान्न तथा दिवा खाजाजस्ता कार्यक्रमअन्तर्गत विश्व खाद्य कार्यक्रमले ४५ वर्ष अघिदेखि खाद्यान्न वितरण गर्दै आएको छ । तर, २०६६ जेठ, असार र साउन महिनामा जाजरकोटलगायत पहाडी जिल्लामा तीन सयभन्दा बढी नागरिकको झाडापखालका कारण मृत्यु भएपछि इन्सेकले स्थलगत अध्ययन गरेको थियो । सोही अध्ययनले गुणस्तरहीन खाद्यान्नका कारण झाडापखाला लागेको निष्कर्ष निकालेको हो ।
उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न नेपाल सरकार र संयुक्त राष्ट्र संघलाई गरिएको ध्यानाकर्षणको बेवास्ता भएको इन्सेकको आरोप छ ।
टिप्पणीहरू