कांग्रेसमा बर्खास्तीको निम्ति पत्राचार
पार्टी सदस्य नै नरहेका व्यक्तिलाई भातृ संगठनको नेतृत्व दिएपछि नेपाली काँग्रेस दोलखामा लफडा परेको छ । साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई नेविसंघको जिल्ला अध्यक्ष बनाएको भन्दै जिल्ला कार्य समितिको असन्तुष्टि बाहिरिएपछि आन्तरिक लफडा छरपष्ट भएको हो ।
यसै विषयलाई लिएर हिजो पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै दोलखाका पार्टी सभापति बर्मा लामाले नेविसंघका केन्द्रीय अध्यक्ष डुजांङ शेर्पालाई बर्खास्त गर्न माग गरेका छन् । उनले नेविसंघ दोलखाको अध्यक्षमा सौगात थापालाई मनोनयन गर्न सर्वसम्मतले निर्णय गरी सिफारिस पठाइएकोमा अध्यक्ष शेर्पाले मनोमानी पार्टीको साधारण सदस्यसमेत नरहेको व्यक्तिलाई जिल्ला अध्यक्ष तोकेर मनोमानी गरेको बताएका छन् ।
देउवालाई सम्बोधन गरी लेखिएको पत्रमा भनिएको छ, ‘पार्टीको जिल्ला तहले गरेको सर्वसम्मत निर्णय र सिफारिस लत्याई व्यक्तिगत स्वार्थ र काठमाडौँतिरको निकटाको आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने नेविसंघका अध्यक्ष दुजांङ शेर्पालाई तत्काल बर्खास्त गर्न माग गर्दछौँ ।’
साथै, पार्टी बैठकको सर्वसम्मतले गरेको सो निर्णय तथा दोलखाली आम विद्यार्थीहरुको भेलाले चयन गरेको नेतृत्व र समितिलाई आधिकारिकता प्रदान गर्न समितिले आग्रह गरेको हो ।
टिप्पणीहरू