पीडित महिलाको संख्या बढेको बढ्यै

पीडित महिलाको संख्या बढेको बढ्यै

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२२ मा कुल पाँच हजार ७ सय ४३ जना महिला तथा बालिका विभिन्न घटनामा पीडित भएको तथ्यांक ल्याएको छ । 

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एक प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले ४ हजार ३ सय ३९ महिला र १ हजार ४ सय ४ बालिका गरी कुल ५ हजार ७ सय ४३ जना विभिन्न घटनामा पीडित भएको तथ्यांक प्रस्तुत गरेको हो । 

यस अवधिमा महिला तथा बालबालिका बेचविखन तथा ओसारपसारका घटनामा २४, बेचविखन तथा ओसारपसार प्रयासका घटनामा २४, घरेलु हिंसामा ३ हजार ३१, बोक्सीको आरोपमा २३, बलात्कारका घटनामा ६ सय ५, बलात्कार प्रयासका घटनामा १ सय ४५, यौन दुर्व्यवहार घटनामा ४२ जना महिला पीडित भएका छन् । 

‘मानव अधिकारमध्ये सबैभन्दा ठूलो अधिकार जीवनको अधिकार हो । तर, विभिन्न बहानामा महिलाहरुको हत्या हुने गरेको छ । यस वर्ष परिवारजनबाट १ सय ११ जना महिलाको हत्या भयो । गत वर्ष यो संख्या १ सय १२ थियो,’ प्रतिवेदनमा उल्लेख छ । 

इन्सेकको तथ्यांकअनुसार भनेजति दाइजो नल्याएको आरोपमा एक जना महिलाको हत्या भएको छ भने सोही कारणले २५ जना महिला हिंसामा परेका छन् । त्यस्तै, वैवाहिक बलात्कारका घटनामा १५ जना महिला पीडित हुँदा बलात्कारका घटनामा १ हजार ९ सय, यौन दुर्व्यवहारका घटनामा ३ सय २६, बेचविखन तथा ओसारपसारका घटनामा ३९ र बाल विवाहका घटनामा ३० जना बालिका पीडित भएका छन् ।

‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च र आसपासका दिनमा मनाइदैँ आएको छ । तर, महिलासँग सम्बन्धित कानूनी प्रावधान तथा राजनीतिक सहभागिताको अवस्थामा उल्लेख्यीय सुधार भएपनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एंव लैंगिक हिंसाबाट पीडित हुँदै आएको इन्सेकले जनाएको छ ।

टिप्पणीहरू