राजावादीहरुले सुवास र रामचन्द्र दुइटै नरोज्ने
राजसंस्था पुनस्र्थापनाको एजेण्डासहित राजनीति गरिरहेको पूर्वपञ्चहरुको पार्टी राप्रपा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रापामा राष्ट्रपति चुनावलाई लिएर मतभेद थियो । अध्यक्ष राजेन्द्र लिङ्गदेनसहितका धेरै नेताहरु भोट हाल्नुपर्ने पक्षमा रहँदा अन्य केही नेताहरु भने तटस्थ बस्नुपर्ने अडानमा थिए । तर, आज झण्डै पाँच घण्टा लामो बैठक बसेर राप्रपाले सर्वसम्मतरुपमा तटस्थ रहने निर्णय गरेको हो ।
राप्रपाले राष्ट्रपतिका उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय यसअघि नै गरेको थियो । राष्ट्रपति निर्वाचनमा काँग्रेस नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । पौडेल काँग्रेस, माओवादीसहित आठ दलको तर्फबाट अघि सारिएका साझा उम्मेदवार हुन् भने नेम्वाङलाई आफ्नै पार्टी एमालेबाहेक अन्य दलको समर्थन जुटिसकेको छैन ।
टिप्पणीहरू