हराएका सवारी साधन धमाधम धनीलाई फिर्ता गर्दै ट्राफिक कार्यालय

हराएका सवारी साधन धमाधम धनीलाई फिर्ता गर्दै ट्राफिक कार्यालय

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । कार्यालयले २३ वटा दुई पाङ्ग्रे सवारी साधन फिर्ता गरेको हो । 

आज एक कार्यक्रममा २० वटा मोटरसाइकल र तीन वटा स्कुटर धनीलाई बुझाएको प्रहरी उपरीक्षक (एसपी) अबिनारायण काफ्लेले बताए ।  यस आर्थिक वर्षको शुरुवातदेखि हालसम्म सवारी साधन हराएको भनि एक हजार १६२ वटा उजुरी परेको उनको भनाइ छ । 

तीमध्ये फेला परेका ३५३ वटा सवारी साधनमाथि कार्यालयले अनुसन्धान गरेको थियो । सोही क्रममा आज २३ वटासहित हालसम्म ३२८ वटा फिर्ता गरिसकेको एसपी काफ्ले जानकारी दिए । 

कार्यालयले फागुनमा मात्रै २४ वटा चोरीका मोटरसाइकल फेला पारेको थियो । यता, चोरी कार्यमा संलग्न २६ जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाएको कार्यालयले जनाएको छ ।   

त्यस्तै, कार्यालयले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गरी चोरी तथा हराउनबाट रोक्न सुसूचित गराएको छ ।

टिप्पणीहरू