प्रीतिका बातहरू जानेजति लेखिदिन्छु

प्रीतिका बातहरू जानेजति लेखिदिन्छु

– जगदीशराज बराल 

‘मेहरिया या अर्धांगिनी–पत्नी राख्नु पाप हैन बरु राखेर छाड्दिनुचाहिँ पाप हो’ (प्रेमचन्द/ गोदान/ भारत) । 

(१) विवाह मंसिर र वैशाख कुन महिनामा बढी हुन्छ ? जहिले मानिसलाई पायक पर्छ तहिले हुन्छ, अचेल त चैत र कात्तिकमा पनि हुन्छ । तर, मैले सानोदेखि थाहा पाएसम्म धेरै विवाह वैशाखमै भएका छन् । वैशाखमा विवाह गर्दा अलिकति हावा–हुरी आउने डर हुन्छ । सिन्धुलीको साविक बाशेश्वर, हाल गोलाञ्जोर गाउँपालिकास्थित घोकशिला पोखरी गाउँमा विवाह हुँदा अति सानो भए पनि बाले मलाई आफूसँग दुई ठाउँमा जन्त लानुभएको थियो । एउटा विवाह ध्रुव बराल (पूर्व बैंक कर्मचारी) र अर्को उमेश बराल (पूर्व बैंक कर्मचारी) को । पहाडतिर त्यसपछि अरु विवाहमा गएको थाहा छैन, ११ वर्षमा विराटनगर तिर लागियो । 

ध्रुव दाजुको विवाहमा मजुवाको विद्यालयमा बास थियो जस्तो लाग्छ । राति ठूलो हावाहुरी आएकाले पक्कै वैशाखकै महिना थियो होला । विराटनगरमा पनि धेरै विवाह वैशाखमै भएको थाहा छ । प्रकाश श्रेष्ठले गीतमा ‘आउने वैशाखैमा” भनेर त्यसै भनेका रहेनछन् । र, बुर्जुवा भने पनि जे–जे भने पनि, जति उमेर ढल्के पनि मलाई वैशाखमै खुब रमाइलो लाग्छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस पढ्दा विचारले पोख्त नेविसंघ र अखिलका साथीहरू अहिल्यै विवाह गर्नुहुँदैन, पढिसकेर राजनीति गर्दै प्रजातन्त्र ल्याएपछि मात्र गर्नुपर्छ भन्थे । अझ अखिल (यसमा फेडरेशन, नेप्रवियूसमेत) का साथीहरू त माया प्रीति गर्नुहुन्न बुर्जुवा होइन्छ भनेर डर पनि देखाउँथे । 

तर, उमेर र परिस्थितिले यहाँसम्म ल्याइपुर्‍याउँदा ‘प्रेम माया प्रीति भनेकै जेनी (माक्र्स) हुन्, माया प्रीतिको नाम नै जेनी हो’ भनेर कार्ल माक्र्सका कुरा कतै पढेको सम्झना हुन्छ । 

राजनीतिमा लाग्नेहरूले विवाह ढिलो गर्लान् तर माया–प्रीति प्रेम, लभ सबै गर्दा हुन्छ । पूर्व प्रम कृष्णप्रसाद भट्टराई–सुशील कोइराला, पूर्व उपप्रधानमन्त्री शैलजा आचार्य, भीमबहादुर तामाङ, प्रदिप गिरी, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुषाललगायतले विवाह गर्नुभएन, त्यो अपवाद हो । तर, मोहनचन्द्र अधिकारी, मोहनविक्रम सिंहले ढिलै भए पनि गर्नुभयो । भूमिगत कालमा आश्रय र खानपिन सबै चाहिने हुँदा कामरेडहरूले जातपात हेरेनन् । पूर्व प्रम मनमोहन अधिकारी, झलनाथ खनाल, बाबुराम भट्टराई, खड्गप्रसाद अर्थात् केपी ओली, विश्वनाथ साह, विमलेन्द्र निधि, ईश्वर पोखरेल, विजय गच्छदार, सुरेन्द्र पाण्डे, अमृत बोहरा, जयप्रकाश आनन्द, भीम रावल, गोकर्ण विष्ट, गंगानारायण श्रेष्ठ, राजन दाहाल, प्रचण्ड पुत्र प्रकाश दाहाललगायतले जातपात हेरेनन् ।

माओ र याङकाई हुईको अति प्रेम थियो । महात्मा गान्धीले कस्तुर्वासँग विवाह गर्नुभयो ।  प्रथम जननिर्वाचित प्रम तथा समाजवादी नायक बिपी कोइरालालाई हरेक संघर्षमा सुशीला कोइरालाले साथ दिनुभएको थियो ।

विवाह नगरी बस्ने राजनीतिज्ञहरूले विवाह गर्नै पर्छ र सन्तान वृद्धि गर्नुपर्छ भनेर लोकतन्त्रका दर्शन हुन् या साम्यवादी दर्शन हुन् कहीँ कतै लेखेको छैन भनेर जवाफ फर्काउन सक्नुहुन्छ । कतिपय त विवाह गर्ने तर सन्तान पैदा नगर्ने भन्ने साम्यवादी सोचका राजनीतिज्ञ पनि छन् । 

(२) यस सन्दर्भमा भारतका युवा लेखक तथा सचेत नागरिक एके ब्राइटले ०६ अप्रिल ई.सं.२०२४ मा ‘विवाह और उद्देश्य’ शीर्षकमा सामाजिक सञ्जालमा साझा गर्नुभएका केही विचार प्रस्तुत गरेको छु : (क) विवाह नगर्नु वा बच्चा जन्माउनु नै विवाहको पहिचान हो र कम्युनिष्ट घोषणापत्रमा नभएका विवाह बच्चाको कुरा गर्नु आवश्यक छैनजस्ता कुरा माक्र्सवादी लेनिनवादी केन्द्रीयतामा आधारित सर्वहारा अधिनायकवादी विचारको मित्र हैनन् । 

बजारको विस्तार र क्रूर मुनाफा अत्यधिक वृद्धिको लागि स्त्री सौन्दर्यको प्रयोग गर्नु उपयुक्त हुन्छ भन्ने जब पुँजीवादलाई थाहा भयो त्यसपछि पूँजीवादी बजार विस्तारसम्बन्धी विशेषज्ञहरूले आफ्नोे सौन्दर्य उत्पादन एवं विज्ञापनको माध्यमबाट यस कुराको लागि नागरिक समाजलाई सहमति गराए कि स्त्री–पुरुषहरूको आकर्षित शरीर एवं सुन्दर हुनु पनि सफलताको प्रमुख लक्षण हो । परिणामस्वरूप आज बजारहरूको गल्ली–गल्लीमा जिमखाना–फिटनेस एवं ब्युटीपार्लर खुलेका छन् । अब बच्चा जन्माउँदैमा विवाह पूर्ण भइहाल्छ र ? भन्ने कुरा पनि यस्तै बजारउन्मुख महिला स्वतन्त्रताको देन हो । 

(३) माओ र याङकाई हुईको अति प्रेम थियो । महात्मा गान्धीले कस्तुर्वासँग विवाह गर्नुभयो । पिता कृष्णप्रसाद कोइरालाको संघर्षका दिनमा उहाँलाई धर्मपत्नीदेखि लिएर नेपालका प्रथम जननिर्वाचित प्रम तथा समाजवादी नायक बिपी कोइरालालाई हरेक संघर्षमा सुशीला कोइरालाले साथ दिनुभएको थियो । विश्वका हरेक सफल राजनीतिज्ञलाई संघर्षको जीवनसाथीको रूपमा पत्नीहरूले साथ दिनुभएको छ । पुष्पलाल, मोहन वैद्य, सिपी गजुरेल, दुर्गा सुवेदी, रामवृक्ष यादव, सरोज कोइराला, विष्णुबहादुर मानन्धर, बलराम नायक, राधाकृष्ण मैनाली, ऋषि देवकोटा, गणेशमानसिंह श्रेष्ठ, मनमोहन–भरतमोहन अधिकारी, महेन्द्रनारायण निधि, माधवकुमार नेपाल, राजा वीरेन्द्र सबैलाई नारी शक्तिको सहयोग थियो । 

(४) महिनाहरू त अरु पनि ११ वटा छन् तर मेरो आत्मीयता, स्नेहता, भावना, उमेर, बैँश तथा जीवनको पुनर्ताजगी वैशाखमै हुन्छ– ०४९ वैशाख १७ गते २९ अप्रिल ई.सं.१९९२ देखि अहिलेको ०८१ वैशाख १७ गते २९ अप्रिल ई.सं.२०२४ सम्म पनि । पुनर्ताजगीलाई श्रद्धेय गोपाल योञ्जनज्यूले शब्दहरू जुराइदिनुभएको शीर्षकमा मैले कलमलाई गन्थन गर्न अह्राएँ र तलका माया प्रीतिका शब्दहरू प्रस्तुत गरेको छु । 

(अ) ‘मुझे आई ना जग से लाज, मैँ इतना जोर से नाची आज, के घुङरू टुट गए’ हामी नेपालीले पनि पाकिस्तानी महान् शायर कतिल सिफाइको यो गजल भारतीय गजल गायक पंकज उदासको स्वरमा सुनेका छौँ । म उनै कतिल सिफाइको गजल प्रस्तुत गर्दछु : 

‘जब भी आता है मिरा नाम तेरे नामके साथ, जाने क्यूँ लोग मेरे नाम से जल जाते हैँ... । वो दिल हि क्या तेरे मिलने कि जो दुआ न करे, मैँ तुझको भूल के जिन्दा रहूँ खुदा न करे । रहेगा साथ तेरा प्यार जिन्दगी बनकर, ये और बात मेरी जिन्दगी वफा न करे । ये ठीक है नहीं मरता कोई जुदाई मेँ, खुदा किसी से किसी को मगर जुदा न करे” । 

(आ) ‘रोजेको हो तिमीलाई सारा फूलभरि, झरिदिन्छ सयपत्री कति भुइँभरि, खोजेको हो तिमीलाई मेरो आँखाभरि, छरिदिन्छौ पीर व्यर्थै तिमी मुटुभरि, आकाश कहिले मेरो सङ्लो भैदेला, होइन भने पानी भई सबै भिजाइदिन्छु । लेखेको छु तिमीलाई मेरो गीतभित्र, नउम्कने पारी बाँधे मेरो भावभित्र, यसै मलाई माया लाग्छ तिम्रो जिन्दगीको, मलाई पनि छोपिदेऊ तिम्रो मुटुभरि, नछेक जोबनलाई बितिसक्यो बेला, होइन भने मलाई देऊ कतै राखिदिन्छु’ (ईश्वर बल्लभ) । 

माया र प्रेममा निर्लिप्त पो हुनुहुँदैन तर, सृष्टिले आचरणमा रहेर अनुशासित माया, प्रेम, स्नेह खोज्छ । राजनीति गर्नेहरूलाई थाहा छ कि संसारको जति पनि परिवर्तन भए ती सबै सामूहिक संगठित शक्तिकै परिणाम हुन् । लोकतान्त्रिक समाजवादी नेता हुन् या साम्यवादी नेता हुन् उनीहरू दल वा संगठनमा आबद्ध हुन्छन् । परिवारको सिर्जना पनि सामाजिक दल संगठन हो । 

सम्भ्रान्त वर्गमा परिणत भइसकेका अबका संसदवादी नेतामा कुनै नैतिकता बाँकी रहेन । मान्छेहरू मोबाइलमा व्यस्त छन् । मोबाइलको काम फोन लिने–गर्ने हो कि फोटो खिच्ने, युट्युब हेर्ने हो ? खेतबारी बाँझो छ, जनशक्ति कि त मोबाइलमा कि त खाडीमा छ । निराशाको एक कारण मोबाइल पनि हो । ‘इस व्यवस्था ने नई पिंढीको आखिर क्या दिया, सेक्स की रंगिनियाँ गोलियाँ सल्फास की”(अदम गोँडवी, भारत) । भारत कै ब्यंग्यकार हरिशंकर परसाई भन्नुुहुन्छ, ‘शोषक वर्ग जनसमुदायलाई भ्रामात्मक सुखमा अल्मलाएर उनीहरूलाई वास्तविक सुखनिम्ति संघर्ष गर्न रोकेका हुन्छन्” । प्रत्येक मोडमा भ्रामात्मक सुखमा अल्मलिएर आत्मसम्मानहरू बिक्री भइसकेका छन् । धर्मले नैतिकता, सदाचारतर्फ मार्गदर्शन गर्छ । तर धर्मको खोल ओढेका धर्मगुरुहरूले गरेका भनेर सुन्दा पनि कान थुन्नुपर्ने खबर बाहिर आएका छन् । 

दलभित्रका महिला कार्यकर्ता झगडा गर्दै कपाल लुछाचुँडी गर्छन् रे भन्ने हल्ला चल्ने गर्छ । पद पाएपछि धन आर्जन हुन्छ भनेर नारी शक्तिले बिचलन भई आत्मसम्मान बिक्री गर्ने बाटो रोज्नुहुन्न । पूँजीवादी विकृतिले गर्दा दलभित्रै, कार्यरत निकायभित्र महिला असुरक्षित हुन थालेका हुन् त ? यो बहसको विषय हुन सक्छ । मसँग सामाजिक सञ्जालमा जोडिनुभएका गोरखपुरका अध्ययन अनुसन्धानमा रुचि राख्ने प्रशान्त द्विवेदीले गोरखपुरको एक बगैँचामा भएको आँपको रूखमा बाँदर बसेको तस्बिर २५ अप्रिल ई.सं. २०२४ मा साझा गर्नुभएको थियो–प्रकृति–सिर्जनाकार अर्थात् नारीहरू बेमौसममै त्रसित छन् अधैर्य बाँदरहरूबाट । 

लोकतान्त्रिक दल होस् वा साम्यवाद ‘आजको दिनमा कम्युनिष्ट पार्टीको आडमा दक्षिणपन्थी राजनीतिको लागि खुल्लमखुला वातावरण तयार गर्नु पनि कम्युनिष्ट पार्टीका होलटाइमरकै मातहतमा भइरहेको छ’ (एके ब्राइट–लेनिन महान् जन्म दिवस, २२ अप्रिल ई.सं.२०२४ सामाजिक सञ्जालको भित्ताबाट) ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू