प्रहरीमा पनि लागेन पत्तो

प्रहरीमा पनि लागेन पत्तो

न आउनेको पत्तो छ, न त जानुपर्नेलाई नै के हुन्छ भन्ने थाहा छ ! नक्सालस्थित प्रहरी मुख्यालयले पर्सि शुक्रबार नियमतः नयाँ आइजिपी पाउनुपर्ने हो । तर, आजसम्म त्यसको कुनै ठेगान लागेको छैन ।
हल्ला छ, अहिलेकै महानिरीक्षक (आइजी) धीरजप्रताप सिंहसहित उनको व्याचको म्याद थपिने । सर्वोच्च अदालतले ऐन संशोधन नगरी प्रहरीका सेवाशर्तमाथि कुनै किसिमको फेरबदल नगर्नु भनी निर्देशनात्मक आदेश जारी गरेका कारण नयाँ ऐनबिना केही गर्न सकिने अवस्था छैन । नियमावली संशोधन गरी म्याद थप्ने हल्ला छ । मन्त्रिपरिषद्ले चाहँदा नियमावली त एकैछिनमा संशोधन हुन सक्ला । तर, अदालतको निर्देशनात्मक आदेशको अवज्ञा भयो भनी रिट दायर भई नियमावलीको संशोधन नै खारेज भयो भने के हुन्छ ? यस्तो अन्यौलता कायमै रहँदा ‘यसो भए त्यसो, त्यसो भए यसो’ भनेर प्रहरीका हाकिमबीच चर्चा–परिचर्चा हुन थालेको छ ।

यदि अहिलेका महानिरीक्षकमात्रैको वा उनीसहित उनको व्याचका अधिकृतहरूका हकमा ३० वर्षे सेवाअवधी नलाग्ने भयो र प्रस्तावित ऐनको उमेरदहबाट अवकाशमा जाने भए भने धीरजप्रताप सिंह अझै दुई वर्ष, अर्थात् ०८२ सालको कात्तिक २० गतेसम्म महानिरीक्षक रहन्छन् । त्यसपछि हालै एआइजीमा बढुवा भएका पाँचमध्येबाट एक जनाले मौका पाउँछन् भने बाँकी सबै ठण्डाराम हुन्छन् । अर्थात्, चारजना एआइजीबाट, त्यसबाहेकका केही डिआइजी र केही एसएसपीबाटै २०८३ सालमा घर जाने हुन्छन् । जो आइजी हुन्छन्, तिनले भने ०८५ सालसम्म जागिर खान्छन् । 

यसरी अहिलेका आइजी धीरजको म्याद थपियो भने उत्तमराज सुवेदी, सहकुलबहादुर थापा, दिवेश लोहनी, एसएसपीहरू जनकराज पाण्डे, उमाशंकर पञ्जियार, मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहन आचार्यहरूको पनि म्याद थपिन्छ । यदि प्रहरीको अघिल्लो बढुवामै कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर गरिएको भए अहिलेको भद्रगोल निम्तिने थिएन । शैलेस थापा क्षेत्री आइजी भएको बेला एसएसपी बढुवाका क्रममा बसन्त कुँवर, दिपक थापाहरूलाई शून्य दशमलव २ नम्बर र रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदीहरूलाई साढे सात नम्बर दिइँदा अघिल्लो व्याचमात्रै बढुवामा प¥यो । कार्यसम्पादन नभई सेनामा जस्तो व्याच बढुवाको नीति लिइएको थियो । नत्र, अहिले को आइजी हुन्छ भन्ने कुराको टुंगो त्यतिबेलै लाग्ने थियो । 

अहिले पनि डिआइजीबाट एआइजी बनाउँदा कार्यसम्पादन मूल्यांकन हैन, अघिल्लो बढुवाको क्रमसंख्या (सिरियल नम्बर) का आधारमा गरिएको छ । एसएसपी बढुवाको वरियतालाई बालकृष्ण खाँण गृहमन्त्री हुँदा डिआइजी बढुवामा यसरी चलाइयो कि, एक नम्बरका सन्दिप भण्डारी सातमा पुगे । बसन्त कुँवरलाई १३ बाट १ मा तानियो । अख्तियार प्रमुख प्रेम राईले टेकप्रसाद राईको वरियता तलमाथि हुन दिएनन् । २३ नम्बरका अशोक सिंह तेस्रोमा डिआइजी भए । पाँचमा एसएसपी भएका चारमा गए, चार नम्बरका एसएसपी श्याम ज्ञवाली पाँचौं भए । तीन र पाँचमा एसएसपी भएका सुदूरपश्चिमका दुई भाइलाई ११ र १५ नम्बरमा पु¥याइयो । एसएसपी हुँदा उमेशराज जोशी तीन नम्बरमा, रामदत्त जोशी पाँचौंमा थिए । यी दुबै डडेल्धुराका हुन् । 

मन्त्रीपिच्छेका इच्छाले प्रहरीको वरियता तलमाथि हुँदा थुप्रै प्रहरी अधिकृत पीडामा छन् । जस्तो कि, एआइजी बढुवामा कार्यसम्पादन मूल्यांकनलाई आधार नमानी अघिल्लो बढुवाको क्रम संख्याका आधारमा गरियो भनी उक्त व्याचमा तीव्र असन्तुष्टि छ । सन्दिप भण्डारीले केपी ओलीका पालामा पहिलो नम्बरमा एसएसपी हुनुको सजायँ भोगिरहेका छन् । देउवा भएर पनि डडेल्धुराका उमेशराज जोशी र रामदत्तको केही सीप चलेन । 

रवि लामिछाने वा बालकृष्ण खाँण भइदिएको भए नौ नम्बरकी मीरा चौधरी र अशोक सिंहले न्याय पाउने चर्चा गरिन्छ । केही साथी सर्लक्क सिरियल नम्बरबाटै एआइजी र पर्सि एकजनाले आइजी हुने मौका पाइरहँदा अहिलेसम्म डिआइजी र एसएसपीमै थन्किनु परेका अधिकृतहरूसँग न पीडा पोख्ने ठाउँ छ, न सुनिदिने नेतै कोही भइदिए । त्यस्ता पीडित हाकिम हुन्, टेकबहादुर तामाङ, बुद्धिराज गुरुङ, पोषराज पोखरेल, भीमप्रसाद ढकाल, वीरेन्द्रकुमार बस्याल, भरतबहादुर बोहरा, रविन्द्र केसी, नवराज भट्ट, कुवेरसिंह कठायत, केदार ढकाल, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदिप गिरी, जनक भट्टराई, दुर्गा सिंह, विकासराज खनाल, लालमणि आचार्य, किरण राणा, अर्जुनचन्द ठकुरी, यज्ञविनोद पोखरेल, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, भोलाबहादुर रावल, अनुरागकुमार द्विवेदी, चन्द्रकुवेर खापुङ, मधुसुधन लुइँटेल, डिल्लीराज पन्त, ध्रुवराज राउत, मोहनप्रसाद पोखरेल, राजेन्द्रसिंह खड्का, टीकाबहादुर केसी र योगबहादुर पाल ।

प्रहरीमा पटक–पटक सरुवा र बढुवाका कार्यविधि बन्दै आएका छन् । सरुवा कार्यविधि त सकेसम्म पालना हुँदै आएको छ । तर, बढुवाका न विधि काम लागे, न प्रक्रिया नै । शक्तिमा जो आयो र जसले रिझाउन सक्यो, उसलाई नियम, प्रक्रिया नभनी सर्लक्क तानिदिने । भन्न नसक्ने, नेता नचिन्नेका लागि कस्तो कष्ट छ भने, जतिसुकै इमान्दार भएर जागिर खाए पनि अन्तिममा हात लाग्यो शून्य ।  

 

टिप्पणीहरू