ताइवानी पूर्व राष्ट्रपति पुगे चीन

ताइवानी पूर्व राष्ट्रपति पुगे चीन

ताइवानका भूतपूर्व राष्ट्रपति मा यिङ चेउ चीन भ्रमणको क्रममा सांघाई पुगेका छन् । उनी पूर्वी शहर नानचिङ हुँदै साँघाई पुगेका हुन्  ।

सांघाई विमानस्थलमा उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको ताइवान मामिलासम्बन्धी कार्यालयका अधिकारी,कम्युनिष्ट पार्टी सांघाई महानगरीय समितिका सदस्यहरुले स्वागत गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

ताइवानी उच्च नेताले त्यहाँ आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछन्  । ताइवानी विद्यार्थीहरुको एउटा समूहले आयोजना गर्ने कार्यक्रममा पनि माको सहभागिता हुनेछ । उनले चीन भ्रमणको क्रममा वुहान, छाङसा र चोङछिङको पनि अवलोकन गर्ने कार्यक्रम छ । पछिल्लो समय अमेरिकाको आडमा ताइवानले आफ्ना गतिविधि अघि बढाएपछि चीन असन्तुष्ट बन्दै आएको छ । यस्तो अवस्थामा ताइवानका भूतपूर्व राष्ट्रपतिको चीन भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

मा ताइवानमा सन् २००८ देखि २०१६ सम्म राष्ट्रपति थिए । उनको भ्रमणलाई पश्चिमा सञ्चारमाध्यमले समेत ऐतिहासिक भ्रमणको संज्ञा दिएका छन् । हिजो मात्रै ताइवानसँग तीन दशकदेखिको कूटनीतिक सम्बन्ध तोड्दै होण्डुुरसले चीनसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ ।

टिप्पणीहरू