टेलिकमले सडक बनाउने शर्तमा महानगरले फोहोर उठायो
नेपाल टेलिकमले निर्माणको क्रममा भत्काएको सडक बनाउने प्रतिबद्धता जनाएपछि वीरगञ्ज महानगरपालिकाले सांकेतिक रुपमा फालेको फोहोर उठाइदिएको छ ।
आउँदो चैत २७ गतेभित्र तारबार बिच्छ्याउनेलगायतका कार्य सकाएर सडक मर्मत गर्ने टेलिकमको प्रादेशिक निर्देशनालयको प्रतिबद्धतापछि महानगरले हिजो खसाएको फोहोर उठाएको हो । सडक बिगारेर त्यतिकै छोड्ने क्रम बढेपछि सांकेतिक विरोधको रुपमा फोहोर फालिएको महानगरपालिकाका सूचना अधिकारी अरबिन्दलाल कर्णले बताए । विभिन्न ठाँउमा सडक खनेर छोड्दा पैदलयात्रीलाई सास्ती भएको उनको भनाइ छ ।
फुटपाथ भत्काएर हरिबिजोग बनाइदिएको उनी गुनासो गर्छन् । ‘फोहोर उठाउनु ठूलो कुरा भएन् । कहिले टेलिकम त कहिले खानेपानी । उहाँहरु बाटो भत्काएर छोड्ने अनि हामीचाँहि बनाएको बनाएै गर्ने । एक दुईचोटि भएपनि हुन्थ्यो । सँधै त्यस्तै छ । जसले खाल्डो खन्छ, उसैले पुर्नुहुन्छ’, उनले भने,‘हामीले पटकपटक बाटो बनाइदिन भन्यौं तर आनाकानी गरियो । त्यसपछि फोहोर लगेर टेलिकमको परिसरमा फ्याँकिदियौं ।’
हालैमात्र खाल्डोमा परेर एउटा अटो दुर्घटनामा परेको उनले जानकारी दिए । दुर्घटना हुनुअगावै सचेत हुनुपर्नेमा जोड दिँदै उनले सबै निकायलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।
त्यस्तै, तोकिएको समयभित्र सडक मर्मत नगरिएमा कानुनबमोजिम अघि बढ्ने सूचना अधिकारी कर्णको चेतावनी छ । महानगरपालिकाले दिने सम्पूर्ण सेवासुविधा बन्द गर्नपनि पछि नहट्ने उनले बताए ।
टिप्पणीहरू