विवाद गर्ने चीन-भारत,विशेष चासो राख्ने अमेरिका

विवाद गर्ने चीन-भारत,विशेष चासो राख्ने अमेरिका

चीनले आफ्नो आन्तरिक भूभाग  मान्दै आएको ताइवान विषयमा अमेरिकाले अनावश्यक हस्तक्षेप गरेको सन्दर्भ नसेलाउँदै भारत र चीनबीचको सीमा विवादमा पनि अमेरिका पसेको छ । चीनले अधिकांश भूभाग आफ्नो दाबी गर्दै आएको भारतको अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गरेपछि अमेरिकाले भारतको पक्षमा मुख खोलेको छ । 

चीनको उक्त धारणा बाहिर आएसँगै अमेरिकाले नयाँ दिल्लीलाई समर्थन गर्दै अरुणाचल भारतको अभिन्न अंग रहेको सन्देश दिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन–पियरेले भने, ‘संयुक्त राज्य अमेरिकाले लामो समयदेखि उक्त क्षेत्रलाई भारतको अभिन्न अंगको रूपमा मान्यता दिएको छ । हामी क्षेत्रीय दाबी र सो क्षेत्रको नाम परिवर्तन गरेर यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयासको कडा विरोध गर्दछौं ।’

अस्ति मंगलबार भारतीय विदेश मन्त्रालयले अरुणाचल प्रदेश भारतको अभिन्न अंग रहेको बताएको छ । उता बेइजिङले अरुणाचल प्रदेश तिब्बतको दक्षिणी भूभाग रहेको पुनः दाबी गरेको छ। उक्त क्षेत्रबारे दुई देशबीच लामो समयदेखि विवाद कायम छ । 

चीनको ग्लोबल टाइम्सले गत आइतबार लेखेको छ, ‘चीनले दक्षिणी तिब्बतमा रहेका दुई मैदान, दुई आवासीय क्षेत्र, पाँच वटा हिमाली चुचुरा र दुई नदीको नाम राखेको छ । ती स्थान चीनको प्रशासनिक जिल्लाको रूपमा पनि सूचिबध्द छन् ।’

यसअघि गत वर्ष ९ डिसेम्बरमा अरुणाचलको तवाङ क्षेत्रमा पहिलेको गलवानमा जस्तै  दुई मुलुकका सेनाबीच उत्तेजित घटना भएको थियो । भिडन्तमा दुवै पक्षका सैनिक घाइते भए पनि कुनै हताहत नभएको परस्पर विरोधी समाचारहरु सार्वजनिक भएका थिए ।

टिप्पणीहरू