रविलाई पैसा उठाइदिएको आरोप लागेका सांसदमाथि अल्पकालीन कारबाही

रविलाई पैसा उठाइदिएको आरोप लागेका सांसदमाथि अल्पकालीन कारबाही

राजा फर्काउने नाममा ‘ऋण मोचन’ अभियान चलाइरहेका मेडिकल बिचौलिया दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन् । 

उपचुनावको मुखमा सभापति रवि लामिछानेका लागि रकम मागेको अडियो सार्वजनिक भएपछि दबाबमा परेको रास्वपाले उनलाई एक साताका लागि निलम्बन गरेको हो । श्रेष्ठलाई निलम्बन गरिएको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए । 

‘हामीले पनि अडियो सुन्यौँ । सुनिसकेपछि उहाँलाई निलम्बन गरेका छौं,’ परियारले भने, ‘पछि दोषी देखिए थप कारबाही गर्नेछौं । कानुनअनुसार उहाँलाई पनि कारबाही हुन्छ । तर, अहिलेलाई भने निलम्बन मात्रै गरिएको छ, अनुसन्धानका लागि ।’ 

रास्वपाले अडियोबारे थप छानविन गर्न अनुशासन समितिलाई जिम्मा दिएको बताइएको छ । अनुशासन समितिले दोषी ठहर्याए केन्द्रीय समितिले उनलाई थप कारवाही गर्ने छ । पार्टीबाट निलम्बनमा परेका श्रेष्ठ समानुपातिक सांसद हुन् । 

आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग पैसा मागेको अडियो आज बिहानदेखि सामाजिक सञ्जालमा छरपस्ट छ ।
 

टिप्पणीहरू