नातिनीको जन्मदिनमा बसन्तको अनौठो बधाइ

नातिनीको जन्मदिनमा बसन्तको अनौठो बधाइ

‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य (चौधरी) को जन्मदिनको अवसरमा बाल कविता संग्रह सार्वजनिक गरेका छन् । नातिनीको विद्यालयको सभाहलमा आयोजित समारोहमा कवि चौधरीद्वारा लिखित बाल कविता संग्रह ‘आहाना’ विमोचन गरिएको छ । 

उक्त बाल कविता संग्रह नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ । ‘कोपिला किताब’ ले प्रकाशन गरेको आहानामा चौधरीका ५६ वटा बालकविता समेटिएका छन् । प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको र आकर्षक चित्रांकनसमेत समेटिएकाले बालकविता संग्रह निकै आकर्षक रहेको बताइन्छ ।

कविता संग्रह विमोचन समारोहमा बोल्दै कवि चौधरीले आफू निकै खुशी भएको उल्लेख गरे । उनले भने, ‘यस्तो लागिरहेछ कि बसन्तको आगमन फेरि भएको छ । मन प्रफुल्लित छ ।’ नातिनीलाई सानैदेखि हेरेको र उनको उमेर बढेसँगै आफूले देखेका,भोगेका र नातिनीसँग बिताएका क्षण तथा नातिनीजस्तै भएर लेखिएका कवितालाई संग्रहको रुप दिएको बसन्तले बताए । कविता संग्रह आहाना आफ्नी नातिनीको प्रतिबिम्ब समेत भएको उनको भनाई छ ।

बालसाहित्यको महत्ववारे  चौधरीको भनाइ छ, ‘बाल साहित्य मेरो नियमित विधा होइन । यो मेरो पहिलो प्रयास हो ।’ उनले बाल साहित्यलाई व्यापारभन्दा पनि एउटा आन्दोलनको रुपमा लिन सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै विद्यालयकी डाइरेक्टर पवित्रा लिम्बूले कवि बसन्त चौधरीले आफ्नी नातिनीका निम्ति जन्मदिनको दिन विशेष उपहार प्राप्त भएको बताइन् । हजुरबुबाबाट प्राप्त उपहार सबैलाई बाँड्न मिल्ने उल्लेख गर्दै लिम्बुले भनिन्, ‘चौधरीले नेपालको बालसाहित्यको उन्नतिमा निकै ठूलो उपहार दिनुभएको छ ।’  

कार्यक्रममा बालबालिकाहरुले कविता संग्रहका केही कविता वाचन पनि गरेका थिए । आहाना कवि चौधरीको साहित्यिक जीवनको पहिलो बाल कविता संग्रह हो । यसअघि उनका २० वटाभन्दा बढी कविता तथा गीति संग्रह प्रकाशित भइसकेका छन् । दर्जनौं चर्चित नेपाली गीतका उनी सर्जकसमेत हुन् ।

कवि चौधरी,उनकी पुत्री मेघा चौधरी, नातिनी आहाना शाक्य (चौधरी) तथा आहानाका पिता पारस शाक्य र बालबालिकाहरुले बालकविता संग्रह ‘आहाना’को सामुहिक लोकार्पण गरेका थिए ।

टिप्पणीहरू