बीमा रकमको लोभमा नजिकका नातेदार मार्ने क्रम बढ्दो
सप्तरीको कञ्चनपुर नगरपालिकामा चैत १५ गते बीमा रकमका लागि श्रीमानको योजनाबद्ध ढंगले हत्या गरेको आरोपमा श्रीमती कोशिलादेवी दाससहित तीन जना पक्राउ परे । कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्या आरोपमा उनकी श्रीमती ३० वर्षीया कोशिलादेवी दाससहितलाई प्रहरीले पक्राउ गरेको बताइन्छ ।
गत कात्तिक ६ गते श्रीमान शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै कोशिलाले प्रहरीलाई खबर गरिन् । घटनास्थलमा पुगेको प्रहरीले तत्कालीन अवस्थामा शिवशंकरको मृत्यु करेन्ट लागेर भएको देखिए पनि अनुसन्धानको क्रममा पाँच महिनापछि शिवशंकरको हत्या भएको खुलेको हो ।
उनको हत्या श्रीमती कोशिला, देउरानी हिरनदेवी दास र नातामा भाउजू पर्ने शान्तिदेवी दासको संलग्नतामा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । छोरीको विवाह गर्न भाउजू नाता पर्ने शान्तिदेवीसँग शिवशंकर र कोशिलाले ऋण लिएका थिए । यता शान्तिदेवीले ऋण चुक्ता गर्न दबाब दिँदै आएकी थिइन् ।
सोही क्रममा शान्तिदेवीले कोशिलालाई पतिको हत्या गरेर बीमाको रकम उठाउन सुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । शान्तिदेवीले हत्या गरेपछि बीमा रकम आउने र त्यही पैसाले ऋण चुक्ता गरेर घर खर्च टार्न सकिने सल्लाह दिएपछि कोशिलाले श्रीमानको हत्या योजना बनाएकी हुन् ।
योजनाअनुसार शान्तिले रकम उपलब्ध गराएपछि दुई महिनाअघि शिवशंकरको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समा २०–२० लाखको जीवन बीमा गराएको पाइएको छ । कात्तिक ५ गते शान्तिदेवीले शिवशंकरलाई आफ्नो घरमा बोलाएर मदिरा खुवाएकी थिइन् ।
मदिराको नशामा मातेर भान्सा कोठामा सुतेका शिवशंकरलाई कोशिलाले बाँया हातको साहिँली औंलामा तार बेरेर करेन्ट लगाएको पाइएको हो । करेन्ट लगाउने समयमा बुहारी हिरणदेवीले टर्च बालेर सहयोग गरेको बताइन्छ । उता शिवशंकरको मृत्युपश्चात् कोशिलाले करेन्ट लागेर आफ्नो पतिको प्राण गएको भन्दै प्रहरीलाई खबर गरिन् ।
गत साउन १३ गते बाँकेमा बीमा रकम हत्याउन नक्कली विवाह गरेर छ जनाको संलग्नतामा कोहलपुर नगरपालिकाका २१ वर्षीय सर्जन विकको हत्या भएको थियो । विकको हत्या आरोपमा २१ वर्षीय सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षीय सरदार अहमद खाँ, ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, ३८ वर्षीय दीपक केसी र २१ वर्षीया ललिता सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो ।
डिपेण्डेण्ड भिसामा अस्ट्रेलिया लैजाने भनी २१ वर्षीया सपना मल्लसँग विकको विवाह भएको थियो । किनभने रिलायन्स इन्सुरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गरी इच्छाइएको व्यक्तिमा मल्लको नाम उल्लेख गरेर बैंक खाता खोलिएको थियो ।
त्यसपछि २०७८ बैशाख २ गते चालक टोपबहादुर राना क्षेत्रीले चलाएको मिनीबसले मोटरसाइकल चालक सर्जन विकलाई ठक्कर दिएर उनको मृत्यु भएको भन्दै टोपबहादुरमाथि सवारी ज्यान मुद्दामा माघ २५ गते अदालतले एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।
मुद्दा सकिएलगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट दुई करोड ५० लाख रुपैयाँ भुक्तानी लिएको पाइएको छ । इन्सुरेन्सबाट आएको रकम छ जनाको समूहले बाँडेर लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार उक्त घटनामा मुख्य योजनाकार सञ्जीव अर्याल हुन् भने बीमा एजेन्ट खाँको अर्यालसँग पुरानै चिनजान थियो । सोही क्रममा विवाह गरेर विदेश जाँदा फाइदा हुने बताउँदै ललिताले मल्ललाई सञ्जीवसँग चिनजान गराएकी थिइन् । यता सपनाको सजनसँग विवाह दर्ताको समयमा मात्रै भेट भएकाले बिहे नक्कली भएको प्रमाणित हुने प्रहरीले अनुसन्धानको क्रममा जानकारी दिएको थियो ।
त्यसैगरी, २०७६ असार २० गते रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले बीमा रकम कै लागि आफ्नी ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरे । आमासँग सुतेकै अवस्थामा राति १ बजे छोरी लक्ष्मीको घाँटी थिचेर हत्या गरी उनले पोखरीमा फ्याँकिदिएको प्रहरी अनुसन्धानाट खुलेको छ ।
यादवले बीमा रकम निकाल्ने योजनाअनुरुप अघिल्लो महिना जेठ १७ गते छोरी लक्ष्मीको नाममा २५ लाखको बीमा जिल्लाकै गरुडास्थित प्रभु लाइफ इन्स्यारेन्स कम्पनीमा गराएका थिए । सोही क्रममा उनले बीमा गरेको २९ औँ दिनमा छोरी लक्ष्मीको हत्या गरेका हुन् ।
पछिल्लो समय मुलुकमा बीमा रकम प्राप्तिका लागि व्यक्ति हत्या गर्नेको संख्या बढेको छ । अहिले नजिकका आफन्त वा घरपरिवारबाट यस्तो कार्य हुने गरेको समेत पाइएको छ । माथि उल्लेखित घटना केही प्रतिनिधि घटना मात्रै हुन् ।
यस्ता अपराध केही समययता बढ्दो क्रममा छन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद ५ को दफा ३ मा स्पष्ट भनिएको छ, ‘क्रूर यातना, निर्ममतापूर्वक, वायुयान अपहरण वा वायुयान विष्फोट, खाद्य पदार्थमा विष हाली वा जबरजस्ती करणी गरी ज्यान मारेको अवस्थामा कसूरदारलाई जन्मकैद सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नुपर्ने छ ।’
कानूनमा कसैले पनि अरुको ज्यान लिन पाउँदैन । यस्तो अपराध गरेको खण्डमा दोषीलाई जन्मकैदसम्मको सजाय हुन्छ । तर, जन्मकैदजस्ता कानूनी सजायका बाबजुद् केही रकमका लागि व्यक्तिहरुले आफन्त, साथीभाई वा परिवारका सदस्यहरुको योजनाबद्ध रुपले हत्या गर्ने गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एवम् सूचना अधिकारी पोषराज पोखरेल आर्थिक प्रलोभनमा परेर सजिलै रकम प्राप्त गर्न सकिने मनासयले व्यक्तिहरु यस्ता अपराधमा संलग्न हुने गरेको बताउँछन् । उनले भने, ‘मानिसलाई काम गर्न गाह्रो हुन्छ । तर, काम नै नगरी सजिलै रकम आउने भएपछि गलत उद्देश्यले यस्तो जघन्य अपराध हुने गरेको पाइएको छ ।’
उनका अनुसार यस्ता अपराधमा व्यक्ति मात्र दोषी नभई बीमा कम्पनीको पनि कतिपय अवस्थामा लापरबाही हुने गरेको पाइएको छ । केही बीमा कम्पनीले बीमा गर्ने क्रममा कानूनी प्रावधान अनुसार वा अनुगमन नै नगरी गर्ने भएकाले यस्तो दुःखद् अवस्था सिर्जना हुने गरेको उनको भनाइ छ ।
बीमा कम्पनीले कानूनी व्यवस्थाअनुसार अनुगमन गरेर मात्र गर्नुपर्ने उल्लेख गर्दै यस्ता अपराध निवारणका लागि नागरिक आफैँ पनि सचेत हुन आवश्यक रहेको पोखरेल बताउँछन् ।
नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी कतिपय यस्ता घटनामा बीमा कम्पनीको लापरबाही देखिने गरेको बताउँछन् । उनले भने, ‘यस्ता अपराधमा व्यक्ति वा बीमा कम्पनीमध्ये कुनै एकको मात्र दोष हुन्छ भनेर भन्न सकिँदैन । तर, कतिपय अवस्थामा बीमा कम्पनीले व्यक्तिको पारिवारिक संरचना, उसको आम्दानीस्तर जस्ता कानूनी प्रावधान नै पूरा नगरी ठूलो रकमको बीमा गर्ने गरेको पाइएको छ ।’
उनले थपे, ‘बीमा कम्पनीको लापरबाहीका कारण यस्तो घटना भएको देखिएमा उनीहरुलाई सचेत गराउनुका साथै अपराधको प्रकृतिअनुसार कानूनी कारबाहीसमेत प्राधिकरणले गर्दै आइरहेको छ ।’ हाल देशभर ३५ वटा बीमा कम्पनीले प्राधिकरणबाट इजाजत प्राप्त गरेका छन् । तीमध्ये १७ वटा जीवन बीमा, १६ वटा र्निजीवन बीमा र २ वटा पुनर्बिमा हुन् ।
जीवन बीमक संघका अध्यक्षसमेत रहेका सिटिजन लाइफ इन्स्योरेन्सका कार्यकारी सञ्चालक पौषक पौडल अन्य मुलुकको तुलनामा नेपालमा यस्ता अपराध कमै हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘पीडादायी घटना हुनु आफैँमा दुःखद् हो । तर, यस्ता घटना भएमा बीमा कम्पनी आफैँ पनि सचेत हुनुपर्छ ।’
खासगरी पारिवारिक कारण वा अपराधिक मानसिकताका मानिस बीमा रकम हत्याउन यस्ता अपराधमा संलग्न हुने गरेको बताउँदै उनले भने, ‘कानूनी प्रावधान पूरा गरेर मात्र बीमा कम्पनीहरुले बीमा गर्ने गरिएको छ ।’
टिप्पणीहरू