समस्यामाथि कमरेडको कुदाई

समस्यामाथि कमरेडको कुदाई

देशमा आर्थिक मन्दी छ, अनेकन जटिल राजनीतिक सन्दर्भ छन् । तर, प्रमुख प्रतिपक्षी दलका नेता निष्फिक्री सेल्फी र टिकटकमै मग्न ! अहिले एमाले अध्यक्ष केपी ओली यति फुर्सदी हुनुहुन्छ कि, उहाँलाई पार्टी, कार्यक्रम, देश, सरकार, संसदजस्ता चिन्ता लिनुपर्ने मुख्यमुख्य कुराप्रति कुनै ध्याउन्न छैन । लुम्बिनी पुग्नुभयो, पाँच दिन त्यतै । पाल्पामा खड्ग समशेरको दरबार रानिमहल जानुभयो, रानीमहलमा उभिएर पत्नी राधिकासँग सेल्फी हान्नुभयो । अस्ति हेलिकोप्टरमा धादिङको रुबी भ्याली पुग्नुभयो ।

त्यसो त उहाँले तनाव लिनुपर्छ, तनावले मानसिक र शारीरिक कष्ट उठाउनुपर्छ भन्न खोजिएको हैन । तर, देशको एउटा प्रमुख दलको नेता यति धेरै निष्फिक्री हुँदा गर्नुपर्ने कामहरु लथालिंग भइरहेका छन् । विशेषतः राजनीतिक, प्रशासनिक, आर्थिक र संसदीय मामिलाका कामहरु सल्ट्याउन उहाँको भूमिका हुन्छ । तर, उहाँचाहिँ घुम्दै हिँड्नुभएको छ, सेल्फी मारेर !

अर्कातिर, एमालेले ‘मिशन ग्रासरुट’ चलायो । त्यसको आवश्यकता थियो कि थिएन ? अहिले कार्यकर्ताहरु भन्न थालेका छन्, ‘समस्या माथि छ, ध्यान तल दिएर हुन्छ ?’ अर्थात्, आज एमाले जे र जहाँ छ, त्यसको कारक नेतृत्व हो, कार्यकर्ता हैनन् । कतिपयले भन्ने गरेका छन्, ‘ग्रासरुट’ हैन, ‘गाँस रुट’ । अर्थात्, ठाउँ–ठाउँ घुम्ने, मीठो–मीठो खाने, काठमाडौं फर्किने ।

अहिले बारा, चितवन र तनहुँमा उपनिर्वाचनको लहर छ । अरु १० सीट भए पार्टी सबभन्दा ठूलो बन्ने स्थिति छ । त्यसमा तीन सीट जित्नका लागि देशभरिका नेता–कार्यकर्ताको ध्यान ती तीन जिल्लामा केन्द्रित गराउँदा राम्रै नतिजा आउन सक्थ्यो । तर, त्यतातिर स्वयं पार्टी अध्यक्षको ध्यान छैन, अरुको त के कुरा । चुनाव हो, प्रचार मुख्य हुन्छ । एमालेमा प्रचार फाँटको संगठन छ, प्रेस चौतारी । चुनाव बारा, चितवन र तनहुँमा छ, चौतारीका नेताचाहिँ रारा तालमा फोटो खिच्दै छन् । पार्टी अध्यक्ष लुम्बिनी र पाल्पामा सेल्फी खिच्ने, कार्यकर्ताहरु रारा, घोडाघोडीतिर व्यस्त हुने !

आजकल एमाले ‘निर्णय’ मा हैन, अध्यक्षको ‘निर्देशन’ मा चल्छ भनिन्छ । तर, चितवनमा झण्डै उल्टो काम हुन लाग्दा अन्तिममा जिल्ला पार्टीका अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बनाइए । शुरुमा चितवनमा रविलाई छाडिदिने कुरा भयो । त्यसो गर्दा जिल्लाका एमालेहरुले विद्रोह गरी अलग्गै उम्मेदवार उठाउने भए । त्यसपछि रामप्रसादलाई उम्मेदवार बनाइएको छ । बारामा पुरुषोत्तम पौडेललाई उठाएर न्याय गरिएको छ । 
 

टिप्पणीहरू