अर्थ मन्त्रालयमा सल्लाहकारको जम्बो टोली, राष्ट्र बैंकका भट्ट पहिलेभन्दा दुई तह माथिका
अर्थतन्त्र अप्ठेरोमा परेको भनिएका बेला अनावश्यक खर्च कटौती गर्नुपर्नेमा उल्टै राष्टिय ढुकुटीमा व्ययभार थपिने गरेर सरकारले अर्थ मन्त्रालयमा तीन जना आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन् । तीमध्ये पौडेल र पाण्डे दुवैजना अवैतनिक रुपमा खटिने जनाइएको छ ।
काँग्रेसको सक्रिय राजनीति गर्दै आएका पौडेल राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष हुन् । गत मंसिरको आमनिर्वाचनमा चितवन–१ मा उठेका उनी पराजित भएका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा निकट उनलाई बजेट बनाउने काममा खटाउने तयारीका साथ अर्थमन्त्री महतले मन्त्रालयमा लगेका हुन् ।
अर्का सल्लाहकार पाण्डे भने योजना आयोगका पूर्वसदस्य हुन् । त्यस्तै भट्टलाई भने नेपाल राष्ट्र बैंकबाट काजमा अर्थमा तान्न लागिएको बताइएको छ । उनी हाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक छन् ।
लामो समय केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभाग र बैंक सुपरीवेक्षण विभागको नेतृत्व सम्हालिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख छन् ।
गत वर्ष तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले केन्द्रीय बैंकका एक जना कर्मचारीलाई बैकिंग विज्ञको रुपमा नियुक्त गरेका थिए । उनी हालका भट्टभन्दा दुई तह मुनिका फाइल बढुवा कर्मचारी हुन् ।
टिप्पणीहरू