खालिस्तानी पृथकतावादी नेता अमृतपाल पञ्जाबमा पक्राउ, असम लैजाने तयारी
भारतमा अत्यधिक खोजीमा रहेका खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई पञ्जाबको रोद गाउँबाट पक्राउ गरिएको जनाइएको छ ।
शिख धर्मावलम्बीहरूको निम्ति हालको पञ्जाबलाई छुट्टै देश ‘खालिस्तान’ बनाउनुपर्ने माग राख्दै आएका सिंह ‘वारिस पञ्जाब दे’ अभियानको नेता हुन् । आज बिहान पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले पक्राउ गरेको जनाइएको छ ।
यसअघि भारत सरकारले सिंह नेपालमा लुकेर बसेको आशंका गरेको थियो । काठमाडौंस्थित भारतीय दूतावासले त्यस सम्बन्धमा नेपाल सरकारलाई कडा कदम चाल्न आग्रह गरेको समाचार बाहिरिएको थियो । पश्चिम तराईका जिल्लामा भारतीय प्रहरीको टोली नै सिंह खोज्ने नाममा अनाधिकृत रुपमा नेपाल प्रवेश गरेको थियो ।
भारतमा उत्कर्षमा पुगेको खालिस्तान आन्दोलन चर्को दमनपछि सन् १९९० ताका सामसुम भएको थियो । अहिले त्यहि आन्दोलनको नेतृत्व गर्दै ३० वर्षे सिंहले विभिन्न अभियान चलाएका हुन् ।आज बिहान पक्राउ परेका सिंहलाई असमको दिब्रुगढ जेलमा पठाइने भएको छ । उक्त आन्दोलनका अन्य धेरै सदस्यलाई पनि सोही जेलमा राखिएको छ ।
टिप्पणीहरू