गुनासो गर्दै मेयर बालेनले भने,‘आफ्नो अधिकारभित्र रहेर तार व्यवस्थापन गर्छौं’

गुनासो गर्दै मेयर बालेनले भने,‘आफ्नो अधिकारभित्र रहेर तार व्यवस्थापन गर्छौं’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पोलमा टाँगिएका अस्तव्यस्त तार महानगरले नै हटाउने बताएका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शहरी सौन्दर्यको नाममा अन्धाधुन्ध तार नकाट्न स्थानीय तहलाई निर्देशन दिएपछि मेयर बालेनले आज सामाजिक सञ्जालमा स्टाटस् लेख्दै आफ्नो अधिकारभित्र रहेर तार व्यवस्थापन गर्ने बताएका हुन् । यसअघि जारी भएको सूचनाअनुसार नै तार व्यवस्थापन गर्न लागिएको उनले जानकारी दिए । 

पोलमा गुजुल्टिएका तारले भौतिक रुपमा शहरलाई अव्यवस्थित बनाएको उल्लेख गर्दै उनले आगलागीको जोखिम बढेको गुनासो गरेका छन् । मेयर बालेनका अनुसार अव्यवस्थित तारका कारण गत वर्ष काठमाडौंको ५३ वटा ठाँउमा आगलागी भएको छ । 

यो समस्यालाई निराकरण गर्न पटक-पटक सम्बन्धित निकायसंग आग्रह गर्दा पनि सुनुवाई नभएपछि आफैं ‘एक्सन’ मा उत्रिनुपरेको उनको भनाई छ ।

‘यसलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको थियो । त्यसतिर कुनै सुनुवाई नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौं’, बालेन भन्छन्, ‘यसबीच पनि यो समस्या सुनुवाई होला भन्ने आश थियो तर त्यसको विपरीत त्यो तार व्यवस्थापन गर्दा इन्टरनेटलगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।’

समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसक्ने भएकाले आफ्नो अधिकारभित्र रहेर तार व्यवस्थापन गर्ने उनले जनाएका छन् ।

टिप्पणीहरू