राज्य विभेदकारी बन्न मिल्छ प्रधानमन्त्रीज्यू ?
शुक्रबार नयाँ वर्षको पहिलो दिन । काठमाण्डूमा एकातिर रमझम थियो, अर्कातिर भक्तपुरको श्री सरस्वती इँटाभट्टामा धमाधम काम भइरहेको थियो । त्यो दिन देशमा जे भइरहेको थियो, इँटाभट्टामा त्यो थिएन । मालिकले ‘नयाँ वर्षको दिन बिदा मनाऊ’ भन्दा पनि मजदुरहरू काममै फर्किएका थिए । किनकि उनीहरूलाई उत्सव मनाउन बिदा होइन, दैनिकी चलाउन रूपैयाँ चाहिएको थियो । रोल्पाका ‘रक्तिम–मजदुर’ बमबहादुर रोका तीन वर्षदेखि भक्तपुरको श्री सरस्वती इँटाभट्टामा काम गर्दैछन् । एकाबिहानै झुत्रो कपडा लगाएर इँटा बोकिरहेका उनी ‘गुजाराको जोहो गर्नुपर्ने’ बाध्यता सुनाउँछन् । ‘नयाँ वर्ष भनेको यस्तै हो हजुर, आउँछ–जान्छ । हामीलाई कहिल्यै मतलज हुँदैन । काम नगरेर खान पुग्दैन । त्यसैले हामी सबेरै काममा निस्कियौँ,’ बमबहादुरले भने ।
त्यो इँटाभट्टामा लहरै थिए, रोल्पाका थुप्रै मजदुर । टाउकोमाथि बर्को । बर्कोमाथि नाम्लो । पिठ्युँमा इँटा । थाप्लोमा छारो । सफासुग्घर नभएका कपडा पसिनाले निथ्रुक्क भिजेका । नबिसाइकन इँटा ओसारिरहेका । थकान थियो । पीडा थियो । त्यहाँ एउटा सिंगो रोल्पा थियो । अनि रोल्पालीहरू इँटा बोकिरहेका थिए । मजदुरका नानीबाबुहरू इँटाको अग्लो पहाडसामु खेलिरहेका थिए । नयाँ वर्षको पहिलो बिहानी भएर–होला, उनीहरू चिटिक्क परेका थिए । ‘हाम्रो नयाँ वर्ष त यस्तै भयो तर साना–साना केटाकेटीले खाने–लाउने रहर गर्छन्, त्यसैले उनीहरूलाई नयाँ कपडा किन्देका हौँ । अब यिनीहरू दिनभर खेल्छन्,’ अर्का मजदुर अजय मगरले आफ्नो व्यथा सुनाए ।
सत्ता राजनीतिमा रोल्पाको बेग्लै शान छ । के पाएन रोल्पाले ? उपराष्ट्रपति पायो । सभामुख, उपप्रधानमन्त्री पायो । गृहमन्त्री पायो, अर्थमन्त्री पायो । उर्जामन्त्री, मुख्यमन्त्री पायो । प्रचण्डलाई दश वर्ष लुकायो । प्रचण्डलाई पहिलोपटक हजारौँ मतान्तरले जितायो । रोल्पाले ‘सांसद त कति हो कति’ पायो । तर गरिखाने वर्गको जीवनस्तर उकास्ने एउटा गतिलो नेता पाएन । नेता जन्माउने रोल्पाले किन दुःख बिसाउने चौतारी भेट्टाएन ? प्रश्न अनेकौँ होलान्, उत्तर पनि आउलान् तर उपत्यकामा छरिएर मजदुरी गर्दैआएका रोल्पालीको वास्तविक पीडा कसले भुलाउने ? कहिले भुल्ने ? पचासको दशक बित्यो ।
साठीको दशक बित्यो । अनि सत्तरीको दशक पनि बित्यो । ०५२ सालतिर रोल्पाबाट सल्किएको द्वन्द्वले गाउँ जलायो । घर–परिवार भाँड्यो । बा–आमा मारिए । कलिला नानीबाबुहरूले शिक्षालय छाडे । ‘युद्ध’को नाउँमा कैयौँ बेपत्ता पारिए । खै ! कहाँ छ न्याय, कहाँ थिए बेपत्ता पारिएका व्यक्ति तर जिउँदा रोल्पाली भने इँटाभट्टामै थिए । ०६३ साल मंसिर ५ गते तत्कालीन गिरिजाप्रसाद कोइराला र तत्कालीन विद्रोही–सुप्रिमो ‘प्रचण्ड’ले दन्किरहेको आगो निभाए । तर त्यो द्वन्द्वको भुँग्रोमा पेलिएका रोल्पालीहरूको सपना अन्ततः ‘खाडी र खाल्डो’मै थन्कियो । रोल्पा– शान्ति प्रक्रियापछि ‘आफू बदलिने सपना’ देखिरहेको थियो ।
के पाएन रोल्पाले ? नेता जन्माउने रोल्पाले किन दुःख बिसाउने चौतारी भेट्टाएन ?
रोल्पाली जनताले उस्तै खालको सामान्य सपना नदेखेका होइनन् । तर यी सबै सपना ‘सपना’मै सीमित रहे । आज यो मुलुकको प्रधानमन्त्री उनै व्यक्ति थिए, जसले रोल्पालाई भविष्यको आशा वा कल्पना देखाएका थिए । ‘कमरेड प्रचण्ड’ यतिबेला सिंहदरबारमै छन् । उनी एकताका रोल्पाली जनतालाई राम्रोसित चिन्थे । आफूलाई जमिनको सारथी ठान्थे । त्यतिखेर बेलाबेला रोल्पा पनि जान्थे । तर आजभोलि सत्ता राजनीतिमा रमाइरहेका छन् । रोल्पालीलाई भुलेका छन् । मजदुरले अड्डा जमाइरहेको भक्तपुरको इँटा उद्योग कहिल्यै गएनन् । कहिल्यै रोल्पाली भेटेनन् । उनीहरूले भोगिरहेको ‘इँटा–जीवन’ पत्तो पाउने कोशिशसमेत गरेनन् । सत्ताको रंगरसमा अल्मलिएका ‘कमरेड प्रचण्ड’लाई इँटा मजदुरको एउटा गम्भीर प्रश्न छ– प्रधानमन्त्रीज्यू, तपाईंले नेतृत्व गरेको राज्य कतै ‘विभेदकारी’ त छैन ?
यो समाज असमान रूपमा चलिरहेको त छैन ? एकखालका मान्छेहरू वैशाख १ गते रमाइरहेका थिए, तपाईंको परिवार पनि रमाइरहेको थियो । तपाईंको मन–मस्तिष्कले कतै रोल्पाली जनता बिर्सिनुभयो कि ? तर हाम्रो कुनै गुनासो छैन पीएमज्यू, तपाईंको ‘दरबारमा भव्य भोज होस्’, मजदुरहरूले भने । सूर्यले पृथ्वीमा एक–फन्को मार्नैलाग्दा उघ्रिँदै थिए, नयाँ सपना । भूइँ मान्छेको ढाडमा टेकेर ‘सत्ता–स्वार्थ’मा रमाइरहनुभएका ‘प्रिय पीएम’ज्यू ! राज्यले ठगेका, दशवर्षे सशस्त्र द्वन्द्वबाट पेलिएका हामी रोल्पाली आज पनि भक्तपुरको रातो माटोमा पिसिँदै आएका छौँ । पात्रो फेरियो– हामी धुलोमै छौँ । मौसम फेरियो– हामीले काम गर्ने भट्टाको ताप उस्तै छ । ऋतु फेरियो– हामीले महसुस गरेका छैनौँ ।
व्यवस्था फेरियो– तपाईं पटकपटक सत्तामा जानुभयो ! सत्ता फेरियो– तपाईं प्रधानमन्त्री बन्नुभयो । न थबाङमा राजधानी बन्यो, न रोल्पाली जनताले राम्रो शिक्षा पाए । न अस्पतालमा उपचार पाए । न गाउँमै काम गर्ने वातावरण बन्यो ! बन्यो त केवल, छोटे राजाहरूको लुट्ने अखडा । ‘कमरेड प्रचण्ड’ आज जे–जस्तो छ, त्यो तपाईंकै कारण भइरहेको छ । राजा लखेटियो, तपाईंकै कारण । समाजवादउन्मुख संविधान लेखियो, तपाईंकै कारण । समानुपातिक र समावेशीता, तपाईंकै कारण । धर्मनिरपेक्षता र संघीयता, तपाईंकै कारण ।
सत्ताको स्वाद डरलाग्दो हुँदोरहेछ, त्यो तपाईंको चरित्रबाट भान हुन्छ । तपाईंको प्रशंशा मात्र होइन तीव्र आलोचना पनि हामी नै गर्छौं । पढ्न पाएनौँ, तपाईंकै कारण । अस्पताल र स्कुल भत्किए, तपाईंकै कारण । खाडी र खाल्डोमा छौँ, तपाईंकै कारण । घर–परिवार र आफन्त गुमायौँ, तपाईंकै कारण । शरीरभरि घाउखटिरा बोकेर हिँडिरहेका छौँ, तपाईंकै कारण । गाउँ–गाउँमा सिंहदरबार र लुटतन्त्र पायौँ, तपाईंकै कारण । र, आज सकिनसकी ‘इँटा–जीवन’ बाँचिरहेका छौँ, तपाईंकै कारण । त्यो सपना । त्यो इतिहास । त्यो कहालीलाग्दो विगत । खै ! कहाँ छ, आज ? गुनासो तपाईंसित सबैभन्दा धेरै छ ।
कनिकुथी लत्रिरहेका हामी रोल्पालीको अवस्था बुझ्न भक्तपुर आउने दिन कुरेर बसिरहेका छौँ । तपाईं मात्र होइन, यहाँ आएनन् रवि दाइ । आएनन् ओली ‘बा’ । आएनन् देउ‘बा’ । आयो त केवल एकाबिहानै एउटा दुःखको पहाड आयो । हिजो–अस्तिजस्तै इँटा बोक्ने कर्म आइपुग्यो । भक्तपुरका विभिन्न इँटा उद्योगमा रोल्पाका हजारौँ मानिसले इँटा बोक्ने काम गर्छन् । उनलाई रोल्पामा जीवन धान्न मुश्किल छ । रोजीरोटी गुम्ने अवस्था आएपछि काठमाडौँ आएका हुन् । इँटाभट्टामा पसेका हुन् । राष्ट्रिय राजनीतिलाई बेलामौकामा सहजै प्रभाव पार्ने रोल्पा र रोल्पालीहरूको रोदन किन कसैले सुन्दैन ?
अझ् भनौँ– सुन्नैपर्ने प्रचण्डले चाहिँ किन सुन्दैनन् ? देशमा सबै कुरा फेरिँदा पनि रोल्पा किन फेरिएन– यो मजदुर वर्गको प्रश्न हो । हेर्नोस्, कसैलाई यस्तो लाग्न सक्छ– ‘रोल्पा नबन्नुमा प्रचण्ड वा कुनै अमुक व्यक्तिको मात्र दोष छ ? यो त नेपाली समाजको दुर्भाग्य हो ।’ तर्क आ–आफ्ना होलान्, मत आ–आफ्ना होलान् तर रोल्पाले भोगिआएको ‘वर्तमान–जीवन’ले प्रधानमन्त्री प्रचण्डलाई बेस्सरी पोल्छ ! ‘कमरेड प्रचण्ड’ सत्ता वरिपरि हुँदा रोल्पाले थप पीडा महसुस गर्छ । न्याय खोज्छ । रुन्छ, कराउँछ ! चिच्याउँछ । हाम्रो जीवनस्तर उकास्देऊ भन्छ । बालबच्चा पढाइदेऊ भन्थे, मजदुर । तर सुन्ने कसले ? ‘प्रचण्ड सरकार’ मौन छ । सचिवालय निद्रामा छ । रोल्पा रोइरहेको छ ।
मजदुरहरू इँटाभट्टामा छन् । पात्रो फेरियो । मौसम फेरियो । ऋतु फेरियो । व्यवस्था फेरियो । सत्ता फेरियो । तर उस्तै छ, दैनिकी । उस्तै थिए, कथा–व्यथा । उस्तै छ, खाल्डोभित्र हराइरहेको ‘इँटा–जीवन’ । जग–जगमा हिँडिरहेका थिए, मानिसहरू । उनीहरूले ‘सुबह से शाम तक’ लगाइरहेका थिए, फन्को । नयाँपन खोज्दै नथामिएका पाइलाहरू दशकौँदेखि कनिकुथी दौडिरहेका थिए । तन्किरहेका थिए ।
टिप्पणीहरू