गाउँ गाउँमा लाश उठाउनै गाह्रो

गाउँ गाउँमा लाश उठाउनै गाह्रो
सुन्नुहोस्

युवाहरूको रोजाइ विदेश बन्न थालेपछि रित्तिँदै छन् गाउँबस्ती  । कुनै पनि राष्ट्रका लागि बेरोजगारी गम्भीर समस्या हो  । विकासोन्मुख देशलाई यो समस्याले निकै पिरोलिरहेको छ  । यहाँ बर्सेनि बेरोजगारी वृद्धिकोे कारण जनसंख्याको वृद्धि, कृषिबाट हुने आयस्रोत राम्रो नहुनु, औद्योगीकरणको अभाव, निजी क्षेत्रबाट व्यवसायको कमी नै हुन्  ।

पहिलो पटक हुम्लाको अदानचुली गाउँपालिका युवाविहीन बनेको छ  । युवा लस्कर लागेर छिमेकी मुलुक भारतको कालापहाड पुगिरहेका छन् । जिल्लाको दक्षिणपूर्व अदानचुली, चंखेली गाउँपालिकाका युवाले पुस १० गते कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूिर्णमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा गाउँ छोडेको कहालीलाग्दो समाचार सुन्न, देख्न पाइयो  ।

अहिले गाउँमा कोही बिते पनि लाश उठाउने युवा पाउनै मुश्किल छ  । चुलोको सरकार भनिने स्थानीय सरकारले सामान्य कामभन्दा प्रदेश तथा स्थानीय सरकारले गर्ने सडक निर्माणमा बजेट विनियोजन गर्ने र रकमजति डोजर मालिकले लिने गरेकाले स्थानीय युवा कामविहीन बनिरहेका हुन्  । लामो समयको आर्थिक मन्दीका कारण तीनमहिने कामको खोजीमा भारत गएका युवाले गाडी भाडा पनि जोहो गर्न नसकेपछि कर्णाली कोरिडोर र भेरी कोरिडोरमार्फत पैदल गएको खबर छ  । ०६२/६३ को जनआन्दोलन यता सबैभन्दा बढी युवाले यो वर्ष गाउँ छाडेको देखिन्छ  ।

हुम्ला मात्रै होइन, तनहुँका गाउँसमेत रित्तिन थालेका छन् । रोजगारीका लागि जिल्लाबाट दैनिक सय युवा विदेश जाँदै छन्  । योग्यताअनुसारको जागिर नपाउँदा र घरमै व्यवसाय सञ्चालनको जोखिम लिन नसक्दा ती युवा विदेशिने क्रम बढिरहेको हो  । घरको सम्पत्ति बेचेर र ऋण काढेर विदेश जाने युवा तनहुँमा धेरै छन्  । यो समस्या देशैभरिको हो  ।

नेपालमा हालको जन्मदरअनुसार चालु वर्ष प्रतिदिन ९ सय ७४ जना खाने मुख थपिरहेका छन् । विश्व बैंकले सन २०१८ मा सार्वजनिक गरेको तथ्यांकअनुसार, नेपालमा ८० प्रतिशत मानिस गाउँमा बस्थे भने २० प्रतिशत शहरमा बस्थे  । पछि त्यो आँकडा परिवर्तन भएर शहर बस्नेहरूको संख्या बढ्यो  । दशकअघिसम्म गाउँ खाली भए पनि शहर भरिएको हुन्थ्यो  । मान्छे देशमै छन्, शहरमै छन्, गाउँमा केही अप्ठ्यारो परिहाले आज नभए भोलिसम्म पुगिहाल्छन् भन्ने स्थिति थियो  । तर अहिले अवस्था त्यस्तो रहेन, शहरमा बस्ने युवाहरू समेत बिदेसिइरहेका छन् ।

मान्छे बित्दा आफन्त वा छोराछोरी आउने बाटो हेरेर लाशले कुरी बस्नुपर्ने भएको छ  । आफन्तको मृत्यु वियोगमा नजिक गएर सहानुभूति र सान्त्वना दिनेको समेत खाँचो हुँदै गएको छ  । गाउँमा बलिया, भरिला युवा, तन्नेरी छैनन्, छन् त कमजोर वृद्धवृद्धा र अशक्त मात्रै  । शव काँधमा राखेर हिँड्नेहरूको अभाव छ  । कतिपय स्थानीय सरकारले लाश राख्ने डिपफ्रिज खरिद गरेको सुन्न र देख्न पाइन्छ  । यस्ता कुरा पढ्दा र दृश्य हेर्दा कठै मेरो देश भन्न मन लाग्छ  । १२ कक्षा सक्दै गरेको एउटा कर्णधार खाडीको सपना देख्दै बिदेसिन्छ  । त्यति मात्रै होइन, रोजगारमा रहेका डाक्टर, इञ्जिनियरसमेत विदेशकै सपना देख्छन्, बिपनामा विदेश हुइँकिन्छन्  ।

गाउँमा युवा नबस्नु कति त रहर होला, कति भने बाध्यता पनि छन् ! गाउँमा गरिने श्रम लज्जाको विषय बन्यो भने शहर र परदेशमा गरिने श्रम गर्वको विषय बनेको छ  । ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ भन्ने गीत अब एकादेशको कथा बन्यो, बरु गाउँ, गाउँबाट उठ, परदेशतिर हिँड भन्नुपर्ने अवस्था आयो  । ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भनेर २०५१ मा गाउँलाई प्राथमिकतामा राख्ने नेता आज बिना ढेउवाके विदेश भनेर युवालाई विदेश जान उत्प्रेरित गरिरहेका छन् ।

आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रममार्फत लोकिप्रय भएको एमालेले गाउँलाई भुल्यो, लामो समय शासन गरेको कांग्रेसले गाउँमुखी कार्यक्रम बनाउन सकेन, ६० प्रतिशत गाउँ आफ्नो कब्जामा राखेर सशस्त्र संघर्ष गरेको माओवादीले गाउँ निर्माणलाई मुद्दा बनाउन सकेन  । प्रमुख तीन दलकै प्राथमिकतामा गाउँ नपरेपछि गाउँ युवाविहीन त बन्ने नै भयो  ।

गाउँ, गाउँमा सिंहदरबार भनियो तर गाउँमा दरबार बने, सिंहजस्ता जनप्रतिनिधि र कर्मचारीले शासन त गरिरहेकै छन्, श्रोत पनि गाउँ, गाउँमा गएकै छ तर त्यसमा पहुँच उही टाठाबाठाको मात्रै स्थापित भयो, आम नागरिकलाई हर्ष न बिस्मात भयो  । गाउँको कमाइले जीवन धानिएन, गाउँमा अवसर भएन अनि सबै बाटो लागिरहेका छन् विदेशतिर  ।

गाउँकेन्द्रित कुखुरा पालन, पशुपक्षी पालन, पशुवध, तरकारी खेती नहुँदासम्म, खेतबारी बाँझो नराख्न कृषिमा प्रविधि, मल बिउबिजन, सिञ्चाइ कुलोदेखि अनुदान राहत, क्षतिपूर्ति र बिमा सहुलियत नभएसम्म गाउँमा युवा बस्ने वातावरण सिर्जना हुने देखिँदैन  । पढाइ, रोजगार, शिक्षा र स्वास्थ्यका लागि गाउँदेखि शहरसम्मको मान्छे बिदेसिएको छ, तसर्थ देश युवाविहीन र आकर्षणविहीन भएको हो  । यसतर्फ कसैले सोचेको छैन  ।

२० औँ शताब्दीतिर भारतमा महात्मा गान्धीले प्रखर रूपमा ग्रामीण अर्थतन्त्रको वकालत गरेका थिए  । आधारभूत आर्थिक चिन्तन नै ग्रामीण अर्थतन्त्रलाई बनाएका थिए र आज भारत कृषिमा मजबुत छ  । नेपालले पनि गाउँ बनाउने नीति लिन ढिला गर्नुहुन्न  । गाउँमा कृषि अपहेलित र अमर्यादित बनेको छ  । हलो–धुलोसँग वितृष्णा छ युवालाई  । घरनजिकै र करेसामा सजिलै उत्पादन हुने आलु, साग, लसुन, प्याज, खुर्सानी, मसलाजन्य बालीनाली लगाउन छोडियो  । किनेर खान सस्तो पर्ने र किन्दा गर्व गर्ने संस्कृति बनेको छ  । जसकारण परनिर्भरता बढ्दो छ  । ‘आफ्नै गाउँ फर्किआएँ, नयाँ नयाँ सपना ल्याएँ’ भन्ने गीतको भावका साथ गाउँ फर्कनेलाई देशले गाउँमा स्वागत गर्ने परिपाटी अब स्थानीय सरकारले बसाल्न ढिलो गर्नु हुँदैन  ।

केही वर्षयता नेपालमा दिनानुदिन वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ  । हाल नेपालीका लागि आर्थिक लाभ र जीविकोपार्जनको महत्वपूर्ण आधार नै वैदेशिक रोजगार भएको छ  । शिक्षित वा अशिक्षित अधिकांश नेपालीको गन्तव्य नै वैदेशिक रोजगारी हुने गरेको छ  । राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकअनुसार २१ लाख ९० हजार ५९२ नेपाली बिदेसिएका छन् । त्यसमध्ये ८२.२ प्रतिशत पुरुष छन् भने १७.८ प्रतिशत महिला छन्  । नेपाली महिलालाई सुरक्षा दृष्टिले चुनौती देखिएकाले देशमा संस्थागत रूपमा भन्दा पनि व्यक्तिगत रूपमा श्रम स्वीकृति दिनेको संख्या बढी देखिन्छ  ।

पछिलो समय नेपाली श्रमिक रोजगारीका लागि १५० देशमा गएको तथ्यांक छ  । मुलुकको कूल गार्हस्थ उत्पादनमा २२.५ प्रतिशत वैदेशिक रेमिट्यान्सले ओगटेको छ  । हाल ३० प्रतिशतको औसत राजस्व वैदेशिक रोजगारीबाट तिरेको रेमिट्यान्सबाट हुने गरेको छ  । रेमिट्यान्सले मात्रै देश चलाउने कि सक्षम युवालाई देशमै बस्ने बातावरण बनाएर मुलुक समृद्ध बनाउने ? यस विषयमा राज्य सञ्चालकले सोच्न ढिला भएन र ?

– नमस्कार शाह

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू