बूढो चिलको कथा पढे हुन्छ नि कमरेडहरू
आममान्छेले आफू स्वयंको, आफ्नो परिवारको, समाजको र सिंगो देशको बारेमा सबैभन्दा पहिले सोच्ने भनेको ब्यक्तिगत जीवन आत्मसम्मानपूर्ण होस्, पारिवारिक जीवन आर्थिक, सामाजिक र साँस्कृतिक हिसाबले उल्झनमुक्त होस् र समृद्ध देशको नागरिक हुन पाइयोस् ताकि बाहिर जाँदा हाम्रो देशको पासपोर्टको इज्जत होस्, हामी सबैको सम्मान सारा जगत्सामु होस् भन्ने चाहन्छ ।
आत्मसम्मानपूर्ण जीवन भनेको आफ्नो मिहिनेतमा, आफूले कमाएको पैसाले बाँच्ने जीवन हो । म काम गर्छु, मैले काम गरेर आयको निर्माण गर्छु र उक्त आयबाट व्यक्तिगत जीवन चाहनाअनुसार बाँच्छु, बहन गर्नुपर्ने अन्य सामाजिक तथा साँस्कृतिक जिम्मेवारीहरू पनि इमानदारीपूर्वक पूरा गर्छु भन्न सक्ने आर्थिक, सामाजिक अवस्था नै आत्मसम्मानपूर्ण जीवनको आधार हो । यस्तो जीवन हुने भनेको राम्रो पारिवारिक, सामाजिक जीवन भनेको पनि हो । यस्तै जीवन त हो नि आत्मसम्मानको जीवन र हामीले खोजेको जीवन पनि ।
हाम्रो वैचारिकी भनेको जनताको हातमा काम हुनुपर्छ भन्ने हो । काम गरेर जीवन चलाउन पुग्ने पैसा जनताको हातमा हुनुपर्छ भन्ने हो । जनताको मनमा सामाजिक असुरक्षाको भावना नहोस् अर्थात् भोलि म उपचार नपाएर मर्छु कि अथवा बुढेसकालमा खान नपाएर मर्छु कि, छोराछोरीलाई पढाउन सक्दिनँ कि भन्ने डर मनमा नरहोस् भन्ने हो । यो भनेको लोककल्याणकारी राज्य व्यवस्था हुनुपर्छ भनेको हो । हुन त हामीले सिधै साम्यवाद भन्छौँ ।
तर, आज चाहिएको न्याय र बराबरी गर्ने राज्य हो, न्याय र बराबरीमा आधारित आर्थिक सामाजिक प्रणाली बनाउने राज्य हो । सबैलाई काम किन चाहिन्छ रु सबैलाई काम यस मानेमा चाहिन्छ कि कामले आय आर्जन हुन्छ । आय आर्जनले उसलाई लगातार काम गरिरहन ऊर्जा प्राप्त हुन्छ । लगातार काम गरिरहेपछि निरन्तर आम्दानी गरिरहन्छ । निरन्तर आम्दानी गरेर आफ्ना आवश्यकता आफैँ पूरा गर्छ । यही नै हो आत्मसम्मानपूर्ण जीवन । नागरिकले निरन्तर काम पाइरहनु भनेको राज्य समृद्धितर्फ अघि बढिरहेको छ भनेको पनि हो र अहिलेको भाष्यअनुसार त यो समाजवादतर्फ हिँडिरहेको छ भनेको हो । तर, यस्तो काम कसले दिन्छ त जनतालाई रु यस्तो काम कसरी प्राप्त हुन्छ त उसोभए रु आजको यक्षप्रश्न यही हो ।
राज्य वा राष्ट्र भनेको सिमानाभित्र साँघुरिएको भूगोल मात्रै होइन । त्यो भूगोलभित्र बसोवास गरिरहेका आममान्छे, नदीनाला, वनजंगल, पशुपक्षी, जनावर, हावापानी, दृष्टिकोण आदि मिलेर बनेको संस्था नै राज्य÷राष्ट्र हो । मान्छेलाई बाँच्न चाहिने सबै कुराको अलावा प्रकृतिको संरक्षण, पशुपक्षी र जनावरको संरक्षण, प्राकृतिक सम्पदाको संरक्षण, उपयोग र वितरण गर्ने काम राज्यको हो । यसकारण आफ्ना नागरिकलाई योग्यतामुताविक काम दिने जिम्मेवारी पनि राज्यकै हो । तर, काम यत्तिकै पैदा हुँदैन । काम पैदा गर्न सबैभन्दा पहिले चाहिने भनेको काम बनाउने दृष्टिकोण हो ।
काम बनाउने दृष्टिकोण छैन भने कामको निर्माण हुन सक्दैन । मलाई लाग्छ हाम्रा वामपन्थीहरूमा यही कामको निर्माण गर्ने दृष्टिकोणको सर्वथा अभाव छ । हाम्रो वामपन्थी जमात सत्तामा सहभागी हुन थालेको तीन दशक नाघिसकेको छ । तर, यिनीहरू अझै पनि आफूहरू संक्रमणकालमै रहिरहेको बताइरहेका सुनिन्छन् । यो भनेको यिनीहरू उही पुरानै मानसिकतामै बाँचिरहेका छन्, यिनीहरूसँग देशको निम्ति कुनै किसिमको नयाँ दृष्टिकोण रहेनछ भन्ने कुराको स्वीकारोक्ति हो । हुन त बाटो बनेको कुरा गर्छन् ।
अझै चर्को स्वरमा स्वास्थ्य बिमाको व्यवस्था गरेका छौँ भन्छन् । के बाटो र बिमा मात्रै हो त देशको दृष्टिकोण रु रोजगार, शिक्षा, महँगाई, वातावरण, कृषि, उद्योग, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासनको निम्ति दृष्टिकोण चाहिँदैन त उसोभए रु आजकै जस्तो अवस्था खोजेको हो त रु यसमा सुधार हुनुपर्दैन रु हो, यहीँनिर हो दृष्टिकोण चाहिने भनेको । नयाँ विचार, नयाँ सोच, नयाँ दृष्टिकोण यत्तिकै बन्दैन । के माक्र्सले भनेजस्तै प्रकृतिको छ त आजको सर्वहारा वर्ग रु मजदुर पनि उतिबेलाका जस्तै छन् रु आजका सर्वहारा वर्ग, आजका मजदुर हिजोको भन्दा कता–कता धेरै भिन्न छन् ।
आजका युवा छुट्टीको दिनमा मजदुरको रुपमा घर बनाउने काम गरिरहेको, बाटो बनाउने काम गरिरहेको, बिजुलीको काम गरिरहेको, खलासीको काम गरिरहेको, होटल रेष्टुरेण्टमा वेटरको काम गरिरहेको, हेल्परको काम गरिरहेको भेटिन्छन् भने कतै बिहान, कतै दिउँसो त कतै बेलुका ल्यापटप बोकेर कलेज गइरहेका पाइन्छन् । घरमै बसेर कम्प्युटर अगाडि राखेर अनलाइनमा आइटीको काम गरिरहेका पनि हुन्छन् । यो भनेको धेरै ठूलो फेरबदल हो । यस्ता युवा नै हुन् हाम्रो भविष्य । तर, यिनीहरूलाई सम्बोधन गर्न हाम्रा वामपन्थी दलसँग कुनै दृष्टिकोण देखिन्न ।
एउटा किस्सा छ चिलको । यसै किस्साबाट यो लेखको बिट मार्छु । चिलको पूरा आयु सत्तरी वर्षको हुन्छ । तर, उसले सत्तरी वर्ष यत्तिकै बाँच्न सक्दैन । चिलको विशेषता के हो भने ४० वर्षमै बूढो हुन्छ । ४० पुग्दा पखेटा झर्न शुरु गर्छन्, नंग्र्रा झर्न थाल्छन् । अनि उड्न नसक्ने, आहाराको निम्ति अरुलाई झम्टिन नसक्ने हुन्छ । यस्तो अवस्था उत्पन्न भएपछि उसले आफूलाई परिवर्तन गर्ने सोच बनाउँछ । ऊ आफू बसेको स्थान त्यागेर नयाँ ठाउँमा गई आफूलाई परिवर्तन गरेर नयाँ र लामो जीवन बाँच्ने संकल्प गर्छ । चिल अब पहाडको शिखरमा जान्छ ।
आफ्ना सबै नंग्रा ढुंगामा घोटेर, ठुँडले तानेर फाल्छ । नंग्र्रा ढुंगामा घोट्दा, ठुँडले तानेर उखल्दा रगतपच्छे हुन्छ, दुख्छ तर नयाँ जीवन पाउने खुशीमा नंग्रा फाल्छ, ठुँडले बूढा भएका सबै प्वाँख एक÷एक उखलेर फाल्छ । जब नयाँ प्वाँख पलाएर मजबुत पखेटा बन्छ, नयाँ नंग्रा पलाएर पहिलेको जस्तै बलियो नंग्र्रा पलाउँछ अनि ऊ त्यहाँबाट सिधै आकाशतर्फ उड्छ र माथिबाट आफूलाई सबैभन्दा मनपर्ने चराको सिकार गर्छ ।
यसरी उसले संघर्ष गरेर नयाँ पखेटा र नयाँ नंग्र्रा बनाई बाँकी ३० वर्ष बाँच्छ । के हाम्रा वामपन्थीमा आफ्नो कमजोरी पत्ता लगाउने र त्यसलाई हटाउने चिलको जस्तो सोच होला रु त्यस्तै, दुःख, कष्ट सहने हिम्मत होला रु के आफूलाई रुपान्तरण गर्नुपर्छ भन्ने सोच होला रु कुनै पनि लिखतको कमा र फुलस्टप पनि परिवर्तन हुन सक्दैन भन्ने सोच राखेर बसेका वामपन्थीमा लामो जीवन बाँच्न चाहिने सोच, ऊर्जा र प्रतिबद्धता देखिँदैन । वामपन्थीप्रति अहिले देखिन थालेको असन्तुष्टि यही दृष्टिकोण अभावको परिणाम हो ।
कुरा गर्यो, कुरैको दुःख भनेजस्तै कुन कुराले सम्झिन्छन् कुन्नि रु छाँटकाँटले त कष्टसाध्य बाटो लिएर परिवर्तन हुनेतिर अघि बढ्छन् भन्न मुश्किल छ र अहिलेको पहिलो र दोस्रो पुस्तामा त यो छँदै छैन । तेस्रो पुस्तासम्म कुर्ने समय कम्तीमा मसँग त नहुन सक्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू