स्वास्थ्य बिमा ? के छ यसको सीमा
स्वास्थ्य बिमा के हो ? स्वास्थ्य बिमा भनेको हरेक नागरिकले आफ्नो स्वास्थ्य सेवा प्राप्त गर्नका लागि केही रकम योगदान गरी सुविधा प्राप्त गर्ने प्रणाली हो ।
घाइते वा बिरामी भएको अवस्थामा व्यक्तिगत खर्च कम गरेर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु नै यसको उद्देश्य हो । स्वास्थ्य बिमामा पनि बर्सेनि केही निश्चित शुल्क बुझाउनुपर्ने हुन्छ, जसलाई ‘योगदान’ वा ‘प्रिमियम’ भनिन्छ । यसरी तिरेको योगदान वा प्रिमियमबाट बिमाप्रदायक निकाय (स्वास्थ्य बिमा बोर्ड) सँग वार्षिक सम्झौता गरिन्छ । जसअनुसार पाँच जनासम्मको परिवारले एक वर्षका लागि ३ हजार ५ सय योगदान गरेपछि तोकिएका स्वास्थ्य संस्थामा वर्षमा १ लाखसम्म तोकिएको चिकित्सकीय उपचार खर्च बिमा बोर्डबाट प्राप्त हुने व्यवस्था वा कार्यक्रम नै स्वास्थ्य बिमा हो ।
चिकित्सकले सिफारिस गरेका र बिमा कार्यक्रमको सूचीकृत औषधि, आँखाको शल्यचिकित्सा, तोकिएको दन्तचिकित्सा सेवा, कडा रोगको शल्यचिकित्सासमेत बिमा कार्यक्रमबाटै व्यहोरिन्छ ।नेपालका समस्याः नेपालमा केही वर्षयता सरुवा रोगको संक्रमणभन्दा नसर्ने रोगबाट अधिक नागरिक पीडित भएको पाइएको छ । नेपालमा सरुवा रोगबाट ३४ र नसर्ने रोगबाट ६६ प्रतिशत व्यक्ति संक्रमण भएको पाइएको छ । निजी स्वास्थ्य संस्थाको महँगो स्वास्थ्योपचार सेवाका कारण आफ्नो खल्तीबाट झण्डै ६० प्रतिशत खर्च गर्नुपरेको छ । दिनहुँ थुप्रै स्वास्थ्य सेवाग्राही पैसाको अभावमा अचल सम्पत्ति बन्धकी राख्न बाध्य छन् भने सबै सम्पत्ति सकेर उपचार गर्दा पनि कतिपय मृत्युको मुखमा पुगेका छन् ।
अर्कोतिर बदलिँदो आधुनिक युगसँगै अधिकांश नागरिकको बानी व्यहोरामा समेत परिवर्तन, अस्वस्थकर जीवनशैली, बढ्दो शहरीकरण, जनसांख्यिक तथा आर्थिक परिवर्तन, देखासिकीका कारणले क्यान्सर, मुटुसम्बन्धी (विशेषतः कार्डियोभास्कुलर रोग), मधुमेह र दीर्घ श्वास–प्रश्वासजस्ता नसर्ने रोग, चोटपटक, वंशाणुगत एवं उमेरका कारण उत्पन्न हुनसक्ने अन्य स्वास्थ्य समस्याले आक्रान्त पारेको छ । राज्यको लगानी हुँदाहुँदै पनि हाल स्वास्थ्य क्षेत्रमा देखिएका थुप्रै जटिलताका कारण नागरिक धान्नै नसक्ने उपचार खर्चको मारमा परिरहेका छन् ।
बेलायतमा ७२ वर्षअघि देखिनै राष्ट्रिय स्वास्थ्य बिमा प्रणाली स्थापित छ । कतिपय मुलुकमा सार्वजनिक स्वास्थ्य बिमामार्फत उपचार खर्च व्यहोर्ने गरिन्छ । स्वास्थ्य बिमा कार्यक्रम सफल भएका कोरिया, जापान र जर्मनीलगायत मुलुकमा हरेक व्यक्ति अनिवार्य स्वास्थ्य बिमामा आबद्ध हुनुपर्छ । कोरियाको कुनै पनि स्वास्थ्य संस्थाभित्र सेवाग्राही छिर्नासाथ मूलदर्तामै स्वास्थ्य बिमित हुन्छ । संविधानतः नागरिकलाई स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने दायित्व सरकारको हो । सम्पूर्ण जनतालाई निःशुल्क उपचार गराउन सक्नु आफैँमा राम्रो हो । तर, सरकारसँग स्वास्थ्य संरचनाकै विकास भएको छैन र नागरिकको सम्पूर्ण खर्च व्यहोर्न सक्ने सामथ्र्य पनि छैन ।
यद्यपि, हाल सञ्चालित निःशुल्क आधारभूत स्वास्थ्य सेवाले तात्कालिक रूपमा नागरिकलाई ठूलो राहत भने दिएको छ । सरकारले विपन्न नागरिकका लागि मुटु, मिर्गाैला, क्यान्सरलगायत कडा रोग तथा अन्य जटिल स्वास्थ्य उपचारको सहायता फराकिलो त पारेको छ तर सबै नागरिकका लागि उपचार खर्च व्यवस्थापन गर्न चन्दा संकलन वा सरकारी अनुदानबाट मात्र सकिन्न । त्यसकारण यसका लागि दिगो र भरपर्दो समाधान भनेको स्वास्थ्य बिमा नै हो । इलाम, कैलाली र बागलुङबाट ०७२÷७३ सालदेखि स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको हो । कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ, जसमा जम्मा २४ प्रतिशत नागरिक मात्र बिमित भएका छन् ।
१. बिमित नागरिकले पायक पर्ने स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने छन् । विपन्न नागरिक, पूर्ण अपांगता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक र अनाथ बालबालिकाका लागि सरकारले प्रिमियम रकम व्यहोरेर बिमा कार्यक्रममा आबद्ध गराई शल्यचिकित्सासहितका विशिष्ठ स्वास्थ्य सेवाको उपचार खर्च बिमा बोर्डबाट व्यहोरिन्छ ।
२. बिमा कार्यक्रममा आवद्ध वा बिमित हुनका लागि एकजना नागरिकले एक वर्षका लागि ३ हजार ५ सय मात्र प्रिमियम रकम योगदान गर्नु पर्नेछ । यसरी योगदान गरेको रकममा बिमित सदस्यले एक वर्षमा १ लाख रूपैंयाँसम्मको शल्य चिकित्सासहित तोकिएको औषधोपचार सेवा सुविधा प्राप्त गर्दछन् । यदि बिमित सदस्यका परिवारमा ५ जनाभन्दा बढी सदस्य भएमा व्यक्तिपिच्छे ७००।– थप गरे पुग्छ । हाल बिमित बिरामी औषधोपचार गर्न जाँदा योगदान रकमको १० प्रतिशत सह भुक्तानी गर्नुपर्ने प्रावधान छ ।
४. सरकारी, स्वीकृत प्राप्त निजी र गैरसरकारी स्वास्थ्य संस्थालाई सेवाप्रदायकको रूपमा समेटिएको हुन्छ । राष्ट्रिय बिमा कार्यक्रममा बिमित भएपछि बिमितले बिमाको परिचय कार्ड लिएर नजिकै तोकिएको प्रवेश विन्दु (स्वास्थ्य संस्था)मा औषधि उपचार गर्न सक्छन् । गम्भीर समस्या भए प्रवेश विन्दु (स्वास्थ्य संस्था) बाट ‘रिफर’ भएर माथिल्लो तहको संस्थामा उपचार गर्ने व्यवस्था छ ।
५. राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गर्न स्वायत्त निकायको रूपमा बिमा बोर्डको स्थापना भएको हो । बिमा बोर्डले आवधिक रूपमा सेवाको सूची, मापदण्ड र शुल्क निर्धारण गरेर सेवाप्रदायकसंग सम्झौता गर्छ र त्यहीअनुसार मूल्य तिरिदिन्छ । सरकारी र निजी दुवै स्वास्थ्य संस्थाले बिमा बोर्डबाट बिमित बिरामीको उपचार गरेबापत आम्दानी गर्छन् र आफ्नो सञ्चालन खर्च व्यहोर्छन् ।
स्वास्थ्य बिमा कार्यक्रमले प्रदान गर्ने सेवाहरू ः
राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमबाट स्वास्थ्य संस्थामा आकस्मिक परीक्षण, बहिरंग सेवामा परीक्षण, तोकिएका उपचार सेवा एवं औषधि, रोगको निदान गर्न आवश्यक प्रयोगशालामा दिसा, पिसाब, रगत, एक्स–रे, अल्ट्रासाउण्ड इत्यादि तथा शल्यचिकित्सा सेवा निःशुल्क प्रदान गरिन्छ ।
तर कृत्रिम अंगहरू प्रत्यारोपण सेवा, कस्मेटिक सर्जरी (शल्यचिकित्साबाट सुन्दर गराउने), पावरदार चश्मा, सुन्ने यन्त्र, कृत्रिम दाँत उपचार सेवा र कृत्रिम गर्भाधान तथा लिंग परिवर्तन सेवा भने स्वास्थ्य बिमा कार्यक्रमले प्रदान गर्दैन ।
स्वास्थ्य बिमा बोर्डको व्यवस्थापन पक्ष निकै नाजुक छ । यसले आवश्यक कर्मचारी भर्ना गर्न सकेको छैन भने भएका कर्मचारीलाई मायाँ ममता एवम् अभिभावकत्व निर्वाह गरिएको छैन । कहिले मन्त्रालयबाट कर्मचारी ल्याएर बिमाका कर्मचारीसँग मनमुटावमा धकेलेको हुन्छ भने बोर्डका कतिपय कर्मचारी अनुगमनमा जिल्ला पुगे पनि सुपरिवेक्षण गर्नुपर्नेमा निरीक्षण गरेर फर्कन्छन् ।
विभिन्न तहमा अस्पताल निर्माण गर्ने होड चलेको देखिन्छ, तर स्थापित अस्पतालमा चिकित्सा अधिकृत पुर्याउन सकिएको छैन । खटिएका चिकित्सा अधिकृत बाटैबाट फर्कने, पुगे पनि केही दिन वा महिनामा भागिहाल्ने प्रवृत्ति छ । सो प्रवृत्ति अन्त्य नभएसम्म बिमितलाई सेवा पुर्याउन सकिन्न, हालको प्रमुख चुनौती यही हो ।
नागरिकको उपचारमा आर्थिक भार कम गर्न औषधिको मूल्य घटाइनु । अहिले बिरामीको उपचारका लागि तिर्ने मूल्यको सबैभन्दा ठूलो हिस्सा औषधिको रहेको छ । सयौं गुणा महंगोमा किन्नु परेको औषधि मात्र सस्तोमा उपलब्ध गराउन सक्ने हो भने उपचार खर्चमा निकै कमी ल्याउन सकिन्छ । यसका लागि सार्वजनिक खरिद अनुगमन अध्ययन तथा सुझाव कार्यान्वयन पक्ष फितलो छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय औषधि कम्पनी वा सरकारसंग औषधि सोझै खरिद गरी मुलुकभरीका स्वास्थ्य संस्थामा सस्तो र शुलभ रूपमा गुणस्तरीय औषधि उपलब्ध गराएर आर्थिक भार घटाउन आफ्नै फार्मेसीमार्फत बिक्री–वितरण गर्ने व्यवस्था अपरिहार्य छ । तर प्रक्रिया शुरु भइसके पनि सबैतिर प्रभावकारी व्यवस्था हुन सकेको छैन ।
अझैपनि कार्यक्रम लागु भैसकेका जिल्लाका नागरिकले स्वास्थ्य बिमालाई जीवन बिमाको रूपमा बुझिरहेका छन् । स्वास्थ्य बिमा कार्यक्रम, यसको सञ्चालन र महत्वबारे समुदायस्तरसम्म स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार कार्यक्रममार्फत व्यापक जनचेतना पुर्याउन सकेको छैन । गरिब तथा विपन्न नागरिकलाई लक्ष्यित सबै जिल्लामा लागु स्वास्थ्य बिमा कार्यक्रमको उद्देश्य निकै राम्रो छ । त्यसकारण बिरामी भएपछि निजी अस्पतालको चर्को उपचार खर्चमा भौंतारिई सम्पत्ति सक्नुभन्दा वर्षको एकपटक योगदान रकम तिरेपछि १ लाख मूल्यसम्मको उपचार खर्च निःशुल्क प्राप्त हुन्छ । तर राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम सफल पार्न स्वास्थ्य संस्थाको संरचना, औषधि–उपकरण, स्वास्थ्यकर्मीको प्रतिबद्धता एवं सेवा भावना हुनै पर्छ ।
दक्षिण कोरियामा स्वास्थ्य बिमा कार्यक्रम निकै लोकप्रिय हुनुकासाथै सफल कार्यक्रम हो । त्यसकारण कोरिया, बेलायत, जर्मनीसँग धेरै सिक्नु परेको छ र कोरियाली सरकारले पुर्याएको सघाउको उच्च कदर गर्दै सम्पूर्ण घरपरिवार बिमित गराउनुपर्छ । सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा चिकित्सा अधिकृतको दरबन्दी पूर्ति र निश्चित अवधि (दुई वर्ष) सेवा नपुर्याई राजनीतिक दबाबमा अन्यत्र सार्ने कार्य गर्नै हुँदैन ।
हरेक पालिकास्तरमा प्राथमिक अस्पताल राख्नै पर्छ, त्यसका लागि निर्धारित जनशक्ति पूर्ति गरिदिनै पर्छ । अस्पतालमा आफ्नै फार्मेसी राख्नै पर्छ, र सेवा भावनाले औषधि उपकरण बिक्री वितरण गरिनुपर्छ । स्वास्थ्य बिमा बोर्डले प्राप्त भएका बील भर्पाईको समयमै निक्र्यौल गरी भुक्तानी गर्नुपर्छ, यसका लागि अतिरिक्त कर्मचारी भर्ना गरेरै भए पनि काम सुचारु गर्नुपर्छ । बिमा बोर्डका कर्मचारीलाई मायाममता गरेर काममा परिचालन गर्नुपर्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू