राष्ट्र बैंकको बोर्डमा राष्ट्र बैंककै भूतपूर्व
नेपाल राष्ट्र बैंकको रिक्त सञ्चालक पदमा बैंकका पूर्व कार्यकारी निर्देशक डा. रविन्द्रप्रसाद पाण्डे नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेका पाण्डेलाई आज सर्वोच्च अदालतका कायममुकायम प्रधानन्याधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयतको शपथ ग्रहण गराउनुभएको छ ।
लामो समय नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यरत पाण्डे मौद्रिक अर्थशास्त्री हुन् । केही समय राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्ष रहेका उनले बेलायतको इस्ट लण्डन युनिभर्सिटीमा मौद्रिक तथा वित्तीय अर्थशास्त्रमा एमएस गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावरिधि गरेका पाण्डेको नियुक्तिपछि सञ्चालक समितिमा रहेका सात जनामध्ये छ जना राष्ट्र बैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक हुन् । अर्थमन्त्रालयका सचिव पदेन सदस्य हुने व्यवस्थाबमोजिम उनले मात्रै बैंक बाहिरबाट प्रतिनिधित्व गरेका छन् ।
यसअघि भूतपूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र भूतपूर्व कार्यकारी निर्देशक शंकर आचार्यलाई सदस्य नियुक्त गरिएको थियो । गभर्नर महाप्रसाद अधिकारी पनि अवकाशप्राप्त डेपुटी गभर्नर हुन् । डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र दुबै जना दुई वर्षअघि नियुक्त हुँदा कार्यकारी निर्देशकबाट अवकाश पाएका हुन् । सञ्चालक समितिको सचिवमा गभर्नरको कार्यालयमा कार्यरत बैंकका निर्देशक रहने व्यवस्था छ ।
टिप्पणीहरू