रास्वपा सांसदहरूलाई रविको उर्दी-फेसबुकमा भाइरल हुने विषय मात्रै बोल्नु

रास्वपा सांसदहरूलाई रविको उर्दी-फेसबुकमा भाइरल हुने विषय मात्रै बोल्नु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसद र केन्द्रीय सदस्यहरूलाई सामाजिक सञ्जालमा भाइरल भइरहेका विषयमा मात्र धारणा राख्न उर्दी जारी गरेका छन्।

महामन्त्री मुकुल ढकालमार्फत् उनले संसद र सडकमा नीतिगत विषयभन्दा आम–मानिसले फेसबुकमा रुचाउने खालका विषयमा मत राख्न आग्रह गरेको महामन्त्रीले अन्य सांसदहरूलाई सुनाएका छन्। ‘अब संसदमा बोल्दा मुकुलजीले फेसबुकमा भाइरल हुने विषय बोल्नुहोला रे,भन्नुभएको छ,’

रास्वपाका एक सांसदले भने,‘अस्ति सोबिताजीले बोलेको विषयले केही आलोचना खेप्नुपरेको भन्दै यसो भनिएको हो रे ।’

नेपाली मिडियाले आफ्नो भनाइलाई खासै प्राथमिकता नदिएको भन्दै आ–आफ्नो फेसबुकलाई नै मिडियाका रुपमा रुपान्तरण गर्न र सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान आफूतिरै तान्न रविले आग्रह गरेका छन् । सडकदेखि संसदसम्म चलिरहेको ‘नक्कली भुटानी शरणार्थी प्रकरण’को विषयलाई मुख्य एजेन्डाकै रुपमा जनस्तरसम्म लैजानुपर्ने समेत उनको राय छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमाथि हस्तक्षेप नगरेपछि जताततै प्रसंसा भइरहेको छ। तर पूर्वगृहमन्त्री लामिछानेले ‘नक्कली भुटानी शरणार्थी प्रकरण’को फाइल आफ्नो कारणले खुलेकोजस्तो भान हुनेगरी प्रचारप्रचारमा खटिनसमेत पार्टीका सांसद र केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्। ‘रविजीलाई प्रचारको भोक नमरेजस्तो देखियो। सबैलाई थाहा भएको विषय पनि मैले गरेको हुँजस्तो कुरा गर्नुहुन्छ। तर के गर्नु घन्टीबाट चुनाव जितियो, उहाँको प्रचार नगरी सुखै छैन,’ रास्वपाका अर्का एक सांसदले भने। कानून बनाएर भ्रष्ट,ठग र दलालहरूलाई प्रहरी खोरमा पुर्याउन सक्ने संसदमा चौथो दलको हैसियत पाएको रास्वपा यतिखेर ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्दै सडकमा ओर्लिएको छ।

टिप्पणीहरू