बादलका फरार छोराविरुद्ध पक्राउ पुर्जी जारी

बादलका फरार छोराविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले प्रतीकलाई पक्राउ गर्न प्रहरीलाई पुर्जी दिएको बताइन्छ ।

सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको प्रकरणमा उनी पनि संलग्न भएको तथ्य फेला परेपछि प्रहरीले पक्रन खोजेको हो । बादल गृहमन्त्री भएको बेलामा छोराले गिरोहलाई सहयोग पुर्याएको देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

तर एमाले सचिव तथा सांसद फरार रहेदेखि नै प्रतीक पनि बेपत्ता भएको बताइन्छ । पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईको बयानपछि प्रतीक पनि अनुसन्धानमा तानिएका हुन् । 

रायमाझीका छोरा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजीत राईलगायत १२ जना पक्राउ परिसकेका छन् । पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजू राणा र खाँणकी श्रीमती तथा सांसद मञ्जु खाँण विरुद्ध पनि प्रकरणमा संलग्न भएको आरोप लागेको छ ।

टिप्पणीहरू