डिल्लीबजारको जेल छेउमै नागरिक उन्मुक्तिको आपतकालीन बैठक
सर्वोच्च अदालतले तल्लो तहका अदालतबाट भएको रेशम चौधरीको जन्मकैदको फैसलालाई सदर गरेपछि आन्दोलन घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीले आज आपतकालीन बैठक डाकेको छ ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थिति र विकसित घटनामा ठोस धारणा बनाउन भन्दै अपर्झट बैठक बोलाएकी हुन् । डिल्लीबजारस्थित इचिवान रेष्टुरेन्टमा दिउँसो १ बजे बैठक बस्ने जनाइएको छ ।
सर्वोच्चको फैसलाको विरोधमा नागरिक उन्मुक्तिले तीन दिन राँके जुलुस र त्यसपछि पाँच दिने नेपाल बन्दको घोषणा गरिसकेको छ ।
त्यसअघि हिजो सो पार्टीका संरक्षक रेशम चौधरीले डिल्लीबजार कारागारमै बोलाएर निकट नेताहरुसँग छलफल गरेका थिए । आफ्ना पतिसमेत रहेका चौधरीलाई भेट्न मन्त्री श्रेष्ठ सरकारी गाडीमा झण्डा हलाउँदै कारागार पुगेकी थिइन् ।

टिप्पणीहरू