मलाई मृत्युदण्ड स्वीकार छ : रेशम चौधरी

मलाई मृत्युदण्ड स्वीकार छ : रेशम चौधरी

जन्म कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवम् संरक्षक रेशम चौधरीले मृत्युदण्ड स्वीकार भएको बताएका छन् । उनले आफ्नो मुद्दाको पुनरावेदनमाथि सर्वोच्च अदालतले गरेको फैसलाउपर यस्तो टिप्पणी गरेका हुन् ।

टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय खेपिरहेका उनलाई सर्वोच्च अदालतले सफाइ दिन अस्वीकार गरेपछि सदरखोर डिल्लीबजारमा लेखेको संस्मरणमा सो कुरा व्यक्त गरेका छन् । यसअघि जन्मकैदको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

तर सर्वोच्चले यसअघि जिल्ला र उच्च अदालतको फैसलालाई नै सदर गरिदिएपछि चौधरी जेल बाहिर आउने सम्भावना टरेको हो ।न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गत हप्ता उनलाई सफाइ नदिने फैसला सुनाएको छ । टीकापुर घटनामा संलग्न रहेको आरोपमा उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय गरेपछि उच्च अदालतमा पुनरावेदन गरेका चौधरीको मुद्दामा जिल्ला अदालतकै फैसला सदर भएको थियो

।उनीविरुद्ध २०७२ भदौ ७ गतेको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने र एक बालकसहित नौ जनाको हत्यामा संलग्न रहेको आरोप छ । उनले सोही सन्दर्भमा संक्षिप्त आत्मवृत्तान्त लैख्दै मृत्युदण्डको माग गरेका हुन् । तर मुलुकको कानुनमा मृत्युदण्डको व्यवस्था छैन ।

उनले लेखेका छन्, ‘त्यति क्रुर अपराधीलाई यति सहज सजाय साह्रै अपुग हुन्छ । म भन्छु, म हत्यारा हुँ भने मैले मारेको हतियार कहाँ छ ? त्यसैले फाँसी किन नदिने ? भाला घोचीघोची आठ सुरक्षाकर्मी र एक दूधे बालकको हत्यारालाई जन्मकैदको सजायले मात्रै पुग्छ र ?’

उनले न्यायको आशा अझै मारेका छैनन् । आफूले रोषमात्रै प्रकट गरेको बताएका छन् । उनले अब आफूलाई कि न्याय कि मृत्युदण्ड चाहिएको विषय पनि उल्लेख गरेका छन् । लेखेका छन्, ‘साँच्चिकै दोषी भए मृत्युदण्ड स्वीकार गरेर टुँडिखेलमा सबैको सामु झुण्डिई मर्ने इच्छा छ । नभए मलाई न्याय दिनैपर्छ ।’

यति लेख्नुअघि उनले टीकापुर घटना नहुनुपर्नेमा भएको टिप्पणी पनि गरेका छन् । ‘आठ प्रहरी र एक बालकले सहादत प्राप्त गरेकै हुन्,’ चौधरी लेख्छन्, ‘तर के ती सहीदहरुको संहार कुनै बन्द कोठा वा गुफामा गरिएको हो र ?’ उनले भदौ ७ गतेको घटनापछि केही समय भारतमा गएर बसेको स्वीकारेका छन् । तर, भारत जानुलाई चौधरीले सामाजिक सद्भाव खलबलिन नदिन गरेको प्रयत्न भनेका छन् । चौधरीको लेखमा उक्त घटनालाई राजनीतिक घटनाको ठोकुवा गरिएको छ ।
 

टिप्पणीहरू